पत्रकार जैशीलाई आर्थिक सहयोग
धनगढी । करिब चार साताअघि एक समूहको सांघातिक आक्रमणमा घाइते भएका कैलाली बौनियाका पत्रकार लक्ष्मीप्रसाद जैशीलाई आर्थिक सहयोग प्रदान गरिएको छ ।
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का सुदूरपश्चिम संयोजक खडकराज जोशीले एक संक्षिप्त कार्यक्रमबीच पत्रकार जैशीलाई १५ हजार रुपैयाँ सहयोग हस्तान्तरण गरे ।
नेपाल पत्रकार महासंघका पूर्व क्षेत्रीय संयोजक प्रकाशबिक्रम शाह तथा महासंघका कैलाली अध्यक्ष जगत साउँदको रोहवरमा क्षेत्रीय संयोजक जोशीले सहयोग रकम हस्तान्तरण गरेकाथिए ।
गत मंसिर २ गते मध्यरातितिर आफ्नै घरमा सुतिरहेको अवस्थामा एक अपरिचित समुहको आक्रमणबाट पत्रकार जैशी घाइते भएका थिए ।
आक्रमणकारीले उनलाई अपहरण गर्न खोजेकोमा उनकी श्रीमति, आमा, बहिनी र भाइले प्रतिकार गरेका जोगिएका थिए । आक्रमणकारीहरूको आक्रमणबाट उनकी आमाको चार दात भाचिएका छन् । श्रीमतिको हातमा चोट लागेको छ भने बहिनी सामान्य घाइते भएकी थिइन् ।
घाइते पत्रकार जैशीले उपचारका लागि रकम अभाव रहेको बताए । सामान्य आर्थिक अवस्थाका पत्रकार जैशीले आफूसंग भएको रकम तथा गरगहना पनि आक्रमणकारीले लुटेको बताए ।
यसअघि कैलालीका केही पत्रकारले जैशीको उपचारका लागि पाँच हजार पाँच सय र जैमीनीय मञ्च कैलालीले २५ हजार रुपैयाँ सहयोग प्रदान गरेको थियो ।