२८ माघ २०८१, सोमबार

कैलाली क्षेत्र नम्बर २ बाट झपट रावल विजयी



धनगढी । कैलाली क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा वाम गठवन्धनका उम्मेदवार एमाले बैकल्पिक केन्द्रीय सदस्य झपटबहादुर रावल १ हजार ८४४ मतान्तरले विजयी भएका छन् । रावलले २५ हजार १५७ मत पाएका छन् भने उनका प्रतिद्वन्द्वी काँग्रेसका उम्मेदवार मोहनसिंह राठौरले २३ हजार ३१३ मत पाएका छन् ।
यसै गरी राजपाका रामप्रसाद चौधरीले ५ हजार ९५६, नया शक्तिका नृपबहादुर थ्यायतले ४४४, नेमकिपाका रमेश कुमार रावलले २९९, राष्ट्रिय जनमोर्चाका मनबहादुर शाहीले १०९ मत पाएका छन् ।
वाम गठवन्धनका उम्मेदवार रावलको जीतसँगै गठवन्धन प्रदेश नम्बर ७ का १६ मध्ये १४ सिटमा विजयी भएको छ । मंगलबार राती कैलाली २ को मतगणना सकिएपछि यस प्रदेशका सबै प्रतिनिधि सभा र प्रदेश सभा सदस्यको प्रत्येक्षतर्फको मतगणना पनि सकिएको छ ।

राठौरको राजनीतिक जीवन ओह्रालोतिर
यसअघि सभासद् र शिक्षा राज्यमन्त्री बनेका मोहनसिंह राठौर उम्मेदवारी दिनुभन्दा केही दिन अघि मात्रै काग्रेस प्रवेश गरेका थिए । उनी शिक्षामन्त्री हुँदा स्वकीय सचिव रहेका रावल र राठौर बीच मुख्य प्रतिश्पर्धा हुने भएपछि चर्चाको विषय बनेको थियो । यसअघि सोही क्षेत्रबाट विजयी भएका राठौरले एमालेमा रहदाका मत र काँग्रेसका मत लिएर जित्ने अपेक्षा गरेका थिए । बाम गठवन्धनको लहर र युवा नेता रावलको आक्रामक चुनावी शैलीका कारण रावल विजयी भएका छन् ।
२०४९ सालमा प्रतापपुर गाविस अध्यक्ष बनेका राठौर २०५४ मा पनि अध्यक्ष निर्वाचित भएका थिए । २०५४मा जिल्ला विकास समितिको सभापतिको उम्मेदवार बनी पराजित भएका राठौर २०५६ सालमा सांसद, २०६४ सालमा सभासद् लडेर पराजित भएका थिए । २०७० को संविधान सभा निर्वाचनमा विजयी भएपछि संसदको सुशासन समितिका सभापति पनि थिए । नेकपा (एमाले) कैलालीको प्रमुख र पार्टीको केन्द्रीय अनुशासन विभागका सदस्य रही सकेका राठौंर २०७० मा सभासद् भैसकेपछि पार्टी सम्पर्कबाट टाढिदै गएका थिए । गत असारमा सम्पन्न स्थानीय तह निर्वाचनमा अन्तरघातको आरोप लागेका राठौरलाई जिल्ला पार्टीले कारवाहीको सिफारिस गरेको थियो । यसपटकको निर्वाचनमा एमालेबाट टिकट नपाएपछि काँग्रेस प्रवेश गरेका राठौर पराजित भएपछि उनको उत्साहपूर्ण राजनीतिक जीवन ओह्रालो लागेका उनका सहकर्मी बताउँछन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार