१० श्रावण २०८१, बिहीबार

कैलालीमा मुक्त कमैया निर्णायक



धनगढी । आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनमा कैलालीमा मुक्त कमैया मतदाता निर्णायक हुने अनुमान गरिएको छ । यससंगै सबै दलका उम्मेदवाररू उनीहरूलाई फकाउने प्रयासमा रहेका देखिन्छन् ।
माओवादीका पोलिटब्युरो सदस्य तथा कैलाली क्षेत्र नम्बर ३ को (क) का उम्मेदवार वीरमान चौधरी आफ्नो क्षेत्रमा मुक्त कमैयाको मत निर्णायक हुने विश्वास व्यक्त गर्छन् । उनले क्षेत्र नम्बर ३ को (क) मा सात वटा मुक्त कमैया बस्तीमा तीन हजार पाँच सय मतदाता रहेको बताए । ३ को (ख) मा पनि १२ वटा मुक्त कमैया बस्ती रहेका छन् । ती शिविरमा पाँच हजार मतदाता रहेको अनुमान छ ।
२०५७ साल साउन २ गते मुक्त भएका मुक्त कमैयाहरूले हरेक निर्वाचनमा विभिन्न दल र उम्मेदवारहरूले दिने आश्वासनले गर्दा अस्थिर ढंगले मतदान गर्दै आएका छन् । मुक्त कमैया समाजका अध्यक्ष पशुपति चौधरी झुटा आश्वासनमा विश्वास गर्दा हरेक चुनावमा मुक्त कमैयाका मत फरक–फरक दललाई जाने गरेको स्वीकार छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा पनि मुक्त कमैयाहरूनै निर्णायक मानिन्छन् । त्यही कारणले हरेक दलका उम्मेदवारहरू मुक्त कमैयाका बस्तीहरू दिनहुँ जस्तो पुग्ने गरेका छन् । कैलाली निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका उम्मेदवार मदनकुमारी शाह (गरिमा) आफूलाई मुक्त कमैयाको मत आउने दावी गर्छन् ।
नेपाली काँग्रेसका प्रदेश सभा (ख) का उम्मेदवार डाक्टर रणबहादुर रावल पनि आफूलाई मुक्त कमैयाको मत आउने विश्वास व्यक्त गर्छन् । यद्यपि बाम गठबन्धनबाट प्रदेश सभा (ख) उम्मेदवार नेपबहादुर चौधरी (सिंहराज) मुक्त कमैया बस्ती माओवादीको आधार क्षेत्र भएको दावी गर्छन् ।
कैलाली निर्वाचन क्षेत्र नम्बर ४ (क) का उम्मेदवारहरू पनि मुक्त कमैया मतदाता फकाउन मै व्यस्त देखिन्छन् । नेकपा एमाले कैलालीका अध्यक्ष तथा प्रदेश सभा सदस्य उम्मेदवार दीर्घ सोडारी पनि १२ वटा शिविरका दुई हजार मतदाता आफ्नो पक्षमा पार्न प्रयासरत देखिन्छन् ।
त्यस्तै, सोही क्षेत्रका नेपाली काँग्रेसका उम्मेदवार यज्ञराज चौधरी हरेक दिन मुक्त कमैया शिविरमा पुग्ने गरेका छन् ।
मुक्त कमैया समाजका अगुवा पशुपतिका अनुसार कैलालीमा एक सय ६ मुक्त कमैया शिविर छन् । कैलाली ४ को ख मा पनि ६ वटा शिविरमा तीन हजार मत रहेको अनुमान छ । कैलाली निर्वाचन क्षेत्र नम्बर २ मा १२ वटा मुक्त कमैया शिविर रहेका छन् ।
त्यस्तै, कैलाली क्षेत्र नम्बर ५ मा पनि एक दर्जन मुक्त कमैया शिविर रहेका छन् । ती शिविरका मत तान्नका लागि काँग्रेस उम्मेदवार डाक्टर आरजु राणा देउवा र एमालेका उम्मेदवार नारदमुनि रानाले निरन्तर प्रयास गरिरहेका छन् ।
उम्मेदवार रानाले आफूसंग अझै पनि मुक्त कमैयाहरूले सरकारले घर बनाउन दिने भनेको ३५ क्यूफिट गोलिया काठ नपाएको गुनासो गरेको बताए । उनले चुनावपछि मुक्त कमैयालाई काठ दिलाउन पहल गर्ने बताए ।
कैलालीमा अहिलेसम्म ११ हजार घर परिवारले रातो, निलो, सेतो र पहेलो कार्ड पाएका छन् । तीमध्ये अधिकांसले अझै पनि राम्रो जग्गा नपाएको गुनासो गर्ने गरेका छन् । जग्गा पाएकाहरूले खोलाको किनार, सडकको छेउ, वन भित्र जग्गा दिइएकोले गुजारा गर्न गाह्रो भएको गुनासो गर्ने गरेका छन् ।
मुक्त कमैया समाजले कैलालीमा अझै चार हजार घरपरिवारले बस्ने घडेरी जग्गा नपाएको बताउने गरेको छ । दुई देखि पाँच कठ्ठासम्म ठाउँ हेरेर जग्गा पाएका मुक्त कमैयाहरू आफूहरूलाई शिक्षा, स्वास्थ्य, रोजगारी लगायतको समस्या हुँदै आएको गुनासो गर्दै त्यो व्यवस्था गर्नेलाई मत दिने बताउँछन् । टीकापुर विजयनगरकी हेमा चौधरी यस पटक आश्वासन दिएरमात्र नहुने र आफूहरूको उचित व्यवस्थापनका लागि विश्वासयोग्य प्रतिवद्धता गर्नेलाई मात्र मत दिने बताउँछिन् ।

मंसिर १३ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार