६ कार्तिक २०८१, मंगलवार

निर्वाचनमा मौलिकअधिकारलाई पनि ध्यानमा राख्न आग्रह



धनगढी । अनौपचारिक क्षेत्र सेवा केन्द्र (ईन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेलले सुरक्षासंगै आम सर्वसाधारणको मौलिकअधिकारलाई पनि ध्यानमा राख्न संवद्ध निकायलाई आग्रह गरेका छन् ।
आइतबार धनगढीमा ईन्सेकको आयोजना गरेमा ‘मानवअधिकार तथा निर्वाचन छलफल कार्यक्रममा अध्यक्ष प्याकुरेलले मंसिर १० र २१ गते हुन लागेको प्रतिनिधि तथा प्रदेश सभा सदस्य निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गर्नु राज्यको दायित्व भएको बताए ।
‘संवद्ध निकायले सुरक्षासंगै नागरिकको मौलिक अधिकारलाई पनि ध्यानमा राख्न जरुरी छ’ उनले भने, ‘अहिले राज्यले आस्थाका आधारमा आम सर्वसाधारणलाई पक्राउ गरी दु:ख दिनु मौलिकअधिकार विपरित कार्य हो ।’
उनले भने, ‘कसैलाई बाटोमा हिड्दै गर्दा, कोही घरमै बसिरहेको अवस्थामा, कसैलाई कार्यस्थलबाटै सुरक्षा निकायले आस्थाका आधारमा पक्राउ गरेका छन् । उनीहरूको कुरा सरकारले विश्वास गरिरहेको छैन् । निर्दोष मानिसलाई सताउनु भनेको आक्रोस बढाउनु हो ।’
उनले अहिले निर्वाचनको पुर्व सन्ध्यामा भइरहेको आक्रमणबारे दु:ख व्यक्त गर्दै, ‘अहिलेको समयमा तर्साउनु, दवाव दिनु त हिंसा हो भने यहाँ मार्ने उद्देश्यले नै आक्रमण गर्न कसरी पाईन्छ ?’ उनले दोषीहरूलाई पत्ता लगाई राज्यले कारवाही गरी आम नागरिकलाई सुरक्षाको अनुभूति गराउनुपर्नेमा जोड दिए ।
अध्यक्ष प्याकुरेलले निर्वाचनलाई भयरहित वातावरणमा सम्पन्न गराउन नागरिक समाजको पनि उत्तिकै भूमिका रहेको बताए । ‘हामी नागरिक समाजले केवल पर्यवेक्षण मात्र गर्ने होइन, निर्वाचन अवधिभर सम्पूर्ण कुराको अनुगमन गर्नु हो’ उनले भने, ‘निर्वाचनलाई स्वच्छ वातावरणमा सम्पन्न गराउन स्थानीय तहमा नागरिक समाजको सामुहिक सञ्चाल गठन गर्नुहोस् ।’
उनले निर्वाचनलाई स्वच्छ बनाउन आम मतदाता पनि सचेत हुन जरुरी रहेको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार