काँग्रेसले नौ ठाउँमा प्रचार कार्यालय खोल्यो
धनगढी । नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ ले शनिबार धनगढीका सात वटा वडा र कैलारी गाउँपालिकाको दुई वटा वडामा चुनाव प्रचारप्रसार सम्पर्क कार्यालयको स्थापना गरेको छ ।
नेपाली काँग्रेसले धनगढी उपमहानगरपालिका वडा नम्बर १, ३, ९, १०, १२, १३ र १९ तथा कैलारी गाउँपालिकाको ६ र ९ नम्बर वडामा प्रचारप्रसार सम्पर्क कार्यालय स्थापना गरेको निर्वाचन प्रचार प्रसार समितिले जानकारी दिएको छ ।
विभिन्न वडामा सम्पर्क कार्यालयको उद्घाटन गर्दै नेपाली काँग्रेस कैलाली निर्वाचन क्षेत्र नम्बर ५ प्रदेश सभा (क) का उम्मेदवार जीवन रानाले नेपाली काँग्रेसले बाम गठबन्धनले झैं खोक्रा आश्वासन र नारा नदिने बताइन् । ‘हामी घर–घरमा ग्याँस पाईप, नेपालमा पानी जहाज चलाउने, हावाबाट विजुली निकाल्ने जस्ता खोक्रा र हावादारी नारा दिँदैनौ’ उनले भनिन्– ‘काँग्रेसले जनताको आकांक्षा र भावनाअनुसार काम गर्दै आएको छ ।’
वडा प्रचारप्रसार सम्पर्क कार्यालय उद्घाटन कार्यक्रममा धनगढी उपमहानगरपालिका प्रमुख नृपबहादुुर वड, उपप्रमुख सुशीला मिश्र भट्ट, नेता नारायणदत्त भट्ट, गणेश देउवा, लक्ष्मी देवकोटा लगायतले मन्तव्य व्यक्त गरेका थिए ।