७ माघ २०८१, सोमबार

बाम गठबन्धनको बहुमतले तानाशाही आउँदैन– मोहनबिक्रम



धनगढी । नेकपा मसालका महामन्त्री मोहनबिक्रम सिंहले बाम गठनबन्धनले चुनावमा बहुमत ल्याएमा देशमा तानाशाही आउने तर्क भ्रामक रहेको बताएका छन् । उनले बरु नेपाली काँग्रेस नेतृत्वको गठबन्धनले बहुमत ल्याएमा ‘राष्ट्रियता नै खतरामा पर्ने’ तर्क गरे ।
‘बाम गठबन्धनले बहुमत ल्याएमा देशमा तानाशाही आउँछ भन्ने प्रचार गलत हो’ शनिबार धनगढीमा पत्रकारहरूसंगको भेटघाटमा उनले भने– ‘कम्यूनिष्ट व्यवस्थाले तानाशाही ढंगले काम गर्दैन ।’
उनले नेपाली कांग्रेसभित्रको एउटा हिस्सा अझैं पनि राजतन्त्र फर्काउने पक्षमा रहेको दाबी गरे । ‘कांग्रेस नेतृत्वको गठबन्धनले चुनावमा जित्यो भने तीनवटा खतरा सिर्जना हुनेछन्’ उनले उनले कांग्रेसले बहुमत ल्याएमा मधेसवादी दलहरूसंग मिलेर संविधान संशोधन गर्ने खतरा रहेको बताए ।
‘विदेशी (भारत) को इच्छाअनुसार संविधान संशोधन गरेर राष्ट्रियता कमजोर बनाउने पक्षमा रहेकाले हामीले कांग्रेससंग चुनावी तालमेल गरेनौं’ महामन्त्री सिंहले भने– ‘नेपाली कांग्रेस नेपाललाई फेरि हिन्दूराष्ट्र बनाउने र हिन्दू राष्ट्रको संरक्षकका रूपमा राजा फर्काउने दाउमा रहेको छ ।’
उनले बाम गठबन्धनबाट राष्ट्रियता र लोकतान्त्रिक गणतन्त्रको रक्षा हुने बताए । ‘राष्ट्रियता गम्भीर खतरामा परेकोले हामीले बाम गठबन्धनलाई नैतिक समर्थन गरेका हौं’ उनले थपे ।
उनले नेकपा एमाले तथा माओवादी केन्द्र माक्र्सवाद, लेनिनवाद र माओ विचार धाराबाट विचलित भइसकेको बताए । ‘एमाले र माओवादी केन्द्र अब कम्युनिष्ट रहेनन्’ उनले भने– ‘चरित्रका हिसावले यी दुई पार्टी एउटै भएका कारण यिनीहरूबीच एकता भए राम्रो हुन्छ ।’

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार