काँग्रेसको चुनावी आमसभा
चौमाला । चुनावी प्रचारप्रसारलाई तीब्र बनाइरहेको नेपाली काँग्रेसले शुक्रबार क्षेत्र नम्बर ४ को चौमालामा चुनावी सभा गरेको छ ।
चुनावी सभा नेपाली काँग्रेस चौमाला गाउँ समितिको आयोजनामा भएको थियो । सो अवसरमा काँग्रेसका केन्द्रीय सदस्य रत्ना शेरचनले नेपालमा भएका सबै लोकतान्त्रिक आन्दोलनको नेतृत्व काँग्रेसले गरेको चर्चा गरिन् । उनले संविधान निर्माणदेखि कार्यान्वयनसम्मको नेतृत्व पनि काँग्रेसले नै गरेको बताइन् ।
कार्यक्रममा क्षेत्र नम्बर ४ का प्रतिनिधि सभा सदस्य निर्वाचन सुनीलकुमार भण्डारीले काँग्रेसले जनताको आकांक्षाअनुसार तीब्र आर्थिक समृद्धिका लागि कटिवद्ध रहेको चर्चा गरे । उनले बाम गठबन्धन प्राकृतिक नभएकाले धेरै दिन नटिक्ने दाबी गरे ।
नेपाली काँग्रेसका प्रदेश सभा सदस्य उम्मेदवार यज्ञराज चौधरीले नेपाली काँग्रेसले मात्रै सधैं सबै जातजाति, क्षेत्र वर्ग, समुदायका अधिकार र हितको सम्मान र रक्षा गरिरहेको बताए ।
चुनावी सभामा नेपाली काँग्रेस कैलालीका सभापति नरनारायण शाह, उपसभापति प्रकाश बम, महासमिति सदस्य पदमराज भट्ट, क्षेत्रीय सभापति दिनेशराज जोशी, नेता टेकबहादुर रैका, जिल्ला सदस्यद्वय नृपबहादुर सुनार र रामबहादुर कलेल, पूर्व क्षेत्रीय सचिव लोकराज पाण्डेय, युवा नेता क्षितिज भण्डारी, महिला संघका क्षेत्रीय अध्यक्ष ईश्वरा रावल, नेविसंघका कार्यबाहक अध्यक्ष भेष बम लगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रम काँग्रेसको गौरीगंगा नगर समिति संयोजक काँशीराम शर्माको अध्यक्षतामा भएको थियो ।
यसैबीच माओवादी केन्द्रका जिल्ला सदस्य भागीराम नेपाली, शेरबहादुर नेपाली, हजारी चौधरी लगायत २५ जना नेता कार्यकर्ता नेपाली काँग्रेसमा प्रवेश गरेका छन् ।