१२ श्रावण २०८१, शनिबार

अपाङ्गता परिचयपत्र घुम्तीशिविर



टीकापुर । कैलालीको जानकी गाउँपालिकाको वडा नम्बर २ मा अपाङ्गता भएका व्यक्तिहरूका लागि परिचयपत्र घुम्ती शिविर सञ्चालन भएको छ ।
दिगो विकास समाज भजनीको आयोजना तथा महिला तथा बालबालिका कार्यालय धनगढीको सहयोगमा सो घुम्ती शिविर सञ्चालन भएको जनाइएको छ ।
अपाङ्गता भएका व्यक्तिलाई सहज र सरल रूपमा परिचयपत्र प्रदान गर्न सो शिविरको आयोजना गरिएको महिला तथा बालबालिका कार्यालय प्रमुख सन्ध्या राजेश्वरी सिंहले बताइन् ।
प्रमुख सिंहका अनुसार अहिलेसम्म घुम्ती शिविरबाट ९७ जना अपाङ्गता भएका व्यक्तिले परिचयपत्र लिएका छन् ।
अपाङ्गता परिचयपत्र पाउनेमा रातो कार्ड पाँच जना, निलो ३५ जना, पहेलो ४० जना र सेतो १७ जना रहेका छन् । अपाङ्गता परिचयपत्रको आधारमा राज्यले भत्ता प्रदान गर्ने व्यवस्था मिलाएको छ ।
महिला तथा बालबालिका कार्यालय प्रमुख सिंहका अनुसार अपाङ्गता रातो परिचयपत्र भएकालाई मासिक दुई हजार, निलोलाई छ सय तथा पहेलो र सेतो कार्ड पाएकाहरूलाई स्वास्थ्य, शिक्षा तथा यातायात सेवामा आधा छुट गर्ने व्यवस्था गरिएको छ ।
कैलालीमा १२ हजार पाँच सय ८० जना अपाङ्गता भएका व्यक्ति रहेको नेपाल अपाङ्ग संघको तथ्यांकमा छ ।
तीमध्ये छ हजार सात सय २३ जनाले अपाङ्गता परिचयपत्र प्राप्त गरेका छन् । चार सय ६० जनाले रातो, दुई हजार तीन सय ४३ जनाले निलो, एक हजार आठ सय जनाले पहेलो र एक हजार चार सय ६० जना सेतो कार्ड प्राप्त गरेका छन् भने दुई सय छ जनाले श्रेणीविहिन परिचयपत्र प्राप्त गरेका छन् ।
नेपाल राष्ट्रिय समाज कल्याण संघका सहजकर्ता आशाराम चौधरीले सबै प्रकारका परिचयपत्र पाएका अपाङ्गता भएका व्यक्तिलाई सरकारी सेवा सुविधा दिलाउन थप पहल गर्नुपर्ने बताए ।

कात्तिक २५ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार