१० श्रावण २०८१, बिहीबार

प्रि–टास कार्यक्रम लागू हुँदै



धनगढी । हात्तीपाईले संक्रमणसम्बन्धी प्रि–ट्रान्समिसन मूल्यांकन सर्वेक्षण (प्रि–टास) कार्यक्रम कैलाली सहित देशभरका १४ जिल्लामा सञ्चालन हुने भएको छ । हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रम पाँचौ वर्ष पार गरी छैठौं वर्षमा प्रवेस गरेका र ६५ प्रतिशतभन्दा बढी हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रमले छोएका जिल्लामा यो कार्यक्रम सञ्चालन गरिन लागेको हो ।
जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले शुक्रबार ‘प्रि–टास सम्बन्धी अभिमुखिकरण कार्यक्रम’मा किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रका प्रमुख युवराज पोखरेलले प्रस्तुतिकरण गर्दै कैलालीको घोडाघोडी–१०, ११ र १२ (साविकको पहलमानपुर गाविस) र लम्की नगरपालिका–६, ८ र १० (चुहा गाविस) मा उक्त कार्यक्रम सञ्चालन गरिन लागेको जानकारी दिए ।
साविक पहलमानपुर गाविसका तीन सय र साविक चुहा गाविसका तीन सय गरी ६ सय जना हात्तीपाईले संक्रमित, प्रभावितहरूको परिक्षण गरी हात्तीपाईले रोगको अवस्थाका बारेमा उक्त सर्वेक्षणले देखाउने छ । परिक्षण गरेका मध्ये हात्तीपाईले संक्रमितको संख्या दुई प्रतिशतभन्दा कम भएमा जिल्लामा हात्तीपाईले कार्यक्रम प्रभावकारी भएको मानिने र ट्रान्समिसन मूल्यांकन सर्वेक्षणमा प्रवेश गर्ने प्रमुख पोखरेलले जानकारी दिए । यदि हात्तीपाईले संक्रमित दुई प्रतिशतभन्दा माथि देखिएमा पुन: पुरानै अवस्थामा हात्तीपाईले विरुद्धका कार्यक्रम सञ्चालन हुने उनले बताए ।
कैलाली जिल्लामा सन् २०१३ देखि हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिएको थियो । जिल्लामा पाँचौ चरणसम्म सञ्चालन हुँदा सेवन कार्यक्रमले ६५ प्रतिशतभन्दा माथि छोएको देखाएको छ । सन् २०१३ मा जिल्लामा ६६ दशमलब ५५ प्रतिशत, सन् २०१४ मा ६८ दशमलब ५० प्रतिशत, सन् २०१५ मा ६९ दशमलब ३२ प्रतिशत, सन् २०१६ मा ६४ दशमलब आठ प्रतिशत र सन् २०१७ मा ६९ दशमलब ०७ प्रतिशत औषधि सेवन कार्यक्रमले छोएको देखाइएको छ ।
नेपाल सरकारले सन् २०२० सम्मा हात्तीपाईलेलाई जनस्वास्थ्यको समस्याबाट निवारण गर्ने लक्ष्यसहित सन २००३ देखि पर्साबाट हात्तीपाईले रोगविरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरेको थियो । नेपाल सरकारले सन् २०१८ भित्र हात्तीपाईलेको संक्रमण दर एक प्रतिशतभन्दा कम गर्ने लक्ष्य सहित विविध कार्यक्रम गरिरहेको छ । देशका ३० वटा जिल्लामा अहिले हात्तीपाईले रोग विरुद्धको औषधि सेवन कार्यक्रम सञ्चालन गरिरहेको छ ।
एक सर्वेक्षणका अनुसार नेपालको ७५ जिल्लामध्ये ६१ जिल्लाहरू हात्तीपाईले प्रभावित जिल्ला रहेका छन् । नेपालको १४ हिमाली र दुई पहाडी जिल्लामा यो रोगको समस्या देखिँदैन् ।
कैलाली जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति कैलालीका कार्यक्रम संयोजक योगेन्द्र ओझा रहेका थिए । कार्यक्रममा कैलाली वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईले जिल्लामा औषधि सेवन कार्यक्रमले छोएको दर सन्तोषजनक नभएपनि प्रि–टास सर्वेक्षणमा कैलालीमा हात्तीपाईले कार्यक्रम प्रभावकारी भएको देखिने आशा व्यक्त गरे ।
कार्यक्रमको सञ्चालन जनस्वास्थ्य कार्यालयका भेक्टर कन्ट्रोल सुपरभाईजर हरि भट्टले सञ्चालन गरेका थिए ।

असाेज २८ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार