४ जेष्ठ २०८१, शुक्रबार

बजार अनुगमन प्रभावकारी बनाउनुहोस्– राज्यमन्त्री विक



धनगढी । वाणिज्य तथा आपूर्ति व्यवस्था राज्यमन्त्री कर्ण विकले विषयगत कार्यालयहरूलाई बजार अनुगमन कार्य प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
‘तपाईहरू बजार अनुगमन गर्नुहुन्छ, तर अझै पनि बजारमा अखाद्य बस्तु बिक्रीवितरण भइरहेका छन् । कालोबजारी मौलाएकै छ । राजश्व छली पनि बृद्धि भइरहेको छ’ मंगलबार जिल्ला प्रशासन कार्यालय कैलालीमा जिल्ला अनुगमन समितिको बैठकमा राज्यमन्त्री विकले भने– ‘हरेक विषयगत कार्यालयले प्रभावकारी रूपमा बजार अनुगमन गनुएपर्‍यो । अनुगमन गर्दा जे देखियो त्यो संकलन गरेर सुझाव दिने मात्र होइन, ठाउँको ठाउँ कारबाही पनि गर्नुहोस् ।
राज्यमन्त्री विकले बजार अनुगमनका लागि कुनै नीतिगत समस्या भए सच्चाइने बताए । उनले विषयगत कार्यालयले अनुगमन गर्दा समन्वय गरेर अघि बढ्नुपर्ने बताए । विषयगत कार्यालयले एक अर्कासंग सहकार्य नगर्दा पनि बजारमा कालाबजारी, राजश्व छली जस्ता घटना मौलाएको राज्यमन्त्री विकको भनाई थियो ।
उनले बजार अनुगमन समितिलाई मौसमी अनुगमन नबनाउन पनि आग्रह गरे । ‘हामी दशैतहारमा मात्रै बजार अनुगमन गर्छौ, यसले आम नागरिकमा गलत प्रचार बढेको छ’ उनले भने– ‘अन्य समयभन्दा दशैंतिहारमा कालाबजारी, अखाद्य बस्तु विक्रीवितरण, दैनिक उपभोग्य सामाग्रीको अभाव जस्ता घटना बढ्छन् । यस समयमा अनुगमनलाई तिव्रता दिनुनै पर्छ, तर अन्य समयमा पनि बजार अनुगमनलाई निरन्तरता दिनुहोस् ।’
बैठकमा सहभागि विषयगत कार्यालयका प्रमुखहरूले बजार अनुगमन गर्दा बढी नीतिगत समस्या भोग्नु परेको चर्चा गरेका थिए ।
बैठकमा कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले नेपाल आयल निगम धनगढीसंग पेट्रोल, डिजल बोक्ने टंयाकर कम भएकाले थप गर्न र धनगढीमा पार्किङ्को व्यवस्थाका लागि पहल गर्न राज्यमन्त्रीसंग आग्रह गरेका थिए ।

वाणिज्य राज्यमन्त्रीद्वारा खाद्य उद्योगमा अनुगमन
वाणिज्य तथा आपूर्ति व्यवस्था राज्यमन्त्री कर्ण विकले मंगलबार कैलालीका केही खाद्य उद्योग र आयल स्टोरमा अनुगमन गरेका छन् ।
राज्यमन्त्रीले मंगलबार गोदावरी नगरपालिकामा रहेको आरपी एग्रो ईण्डष्ट्रिज तथा धनगढी उपमहानगपालिकास्थित राजश्री फुड ईण्डष्ट्रिज र डिके आयल स्टोरमा अनुगमन गरेको जनाइएको छ ।
अनुगमनका क्रममा राज्यमन्त्री विकले दुईवटै उद्योग व्यवस्थित नभएको बताए । आरपी एग्रो ईण्डष्ट्रिज भण्डारण व्यवस्थित नभएको, मैदाको प्याकिङ् मिति गलत हाल्ने गरेको, मेसिन नचलाएको, मिति समाप्त भएका खद्य वस्तु समेत गोदाममा भण्डारण गरिएको फेला परेको बताइएको छ । सो उद्योगमा उत्पादित पिठो, पाउरोटी तथा बिष्कुटमा उपभोग्य मिति समाप्त भएको फेला परेको बताएको छ ।
त्यस्तै, धनगढीस्थित राजश्री फुड ईण्डष्ट्रिजमा प्याकिङ गरेर राखेका चामलका कठ्ठाभित्र ढुसी लागेको फेला परेको थियो । त्यस्तै, बाहिर प्याकिङ गर्न राखिएको चामलमा बालुवा, र माटो मिसिएको फेला परेको थियो । अनुगमन टोलीले सो उद्योगबाट ५० किलोका दुई कठ्ठा नमुना परिक्षणका लागि नियन्त्रणमा लिएको छ ।
राज्यमन्त्री विकले उद्योगलाई पुर्वाधार व्यवस्थित बनाउन, स्वच्छतामा ध्यान दिन, खाद्यको गुणस्तरमा ध्यान दिन आग्रह गरे ।
त्यस्तै, डिके आयल स्टोरले विक्री वितरण गर्दै आएको पेट्रोल, डिजेलमा कुनै कमि कमजोरी नदेखिए पनि मूल्य सूची नराखेकोले मूल्य सूची राख्न आग्रह गरे ।
राज्यमन्त्री विकले राज्यका संयन्त्रहरूलाई क्रियाशिल बनाउन आफूले अहिले देशव्यापी रूपमा बजार अनुगमन तीव्र बनाइरहेको बताए । उनले आम उपभोक्तालाई ठगिन, कालोबजारी नियन्त्रण गर्न, दैनिक उपभोग्य सामग्रीको अभाव हुन नदिन अनुगमन गरिरहेको बताए ।
राज्यमन्त्री विकले आफूले धादिङमा अनुगमन गर्दा पनि कालोबजारी, मिति नाघेका सामानहरू विक्री गर्ने, मूल्यसूचीभन्दा पनि बढी मूल्यमा सामान विक्रीवितरण गर्ने, दैनिक उपभोग्य सामग्रीको अभाव सिर्जना गर्ने फेला पारेकाले यस्ता क्रियाकलाप रोक्न राज्यका संयन्त्र बलियो हुनुपर्ने बताए ।
मंगलबार राज्यमन्त्रीसंगै सहभागी भएका विषयगत कार्यालयका कर्मचारीहरू भने अनुगमनलाई जिम्मेवारपूर्वक निर्वाह नगरेको देखिएको थियो । गुणस्तर तथा नाप तौल कार्यालयले तरलपदार्थ नाप्ने यन्त्रमात्र लगेका थिए भने खाद्य तथा गुणस्तर कार्यालयका कर्मचारीले आवश्यक कागजपत्र बोकेका थिएन्न ।
राज्यमन्त्रीले गुणस्तर तथा नाप तौल कार्यालयका कर्मचारीलाई राजश्री फुड ईण्डष्ट्रिजको तराजु चेकजाँच गर्न भन्दा उनले ढक लिएका थिएनन् भने खाद्य तथा गुणस्तर कार्यालयका कर्मचारीलाई नमुना संकलनका लागि चामल संकलन गर्न भन्दा कागजात बोकेका थिएनन् ।

असाेज ०४ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार