२ जेष्ठ २०८१, बुधबार

सार्वजनिक विद्यालय, दक्ष शिक्षक : खस्किँदो पढाई स्तर



धनगढी । अधिकांस सार्वजनिक विद्यालयमा दक्ष शिक्षकहरू कार्यरत रहे पनि विद्यालयको शैक्षिक गुणस्तर भने निरन्तर खस्किँदै गएको अध्ययन प्रतिवेदनले देखाएका छन् ।
सार्वजनिक विद्यालयको समग्र पक्षबारे गरिएको नागरिक शिक्षा प्रतिवेदनले निजी विद्यालयको तुलनामा सबै सेवासुविधा राम्रो भए पनि शिक्षण सिकाई उपलब्धी भने कमजोर रहेको देखाइको छ । नागरिक शिक्षा प्रतिवेदनमा उल्लेख छ– ‘कैलालीका प्राय: सार्वजनिक विद्यालयका ९९ प्रतिशत शिक्षक तालिम प्राप्त छन् । निजी विद्यालयभन्दा सेवा सुविधा पनि राम्रो छ, तर शिक्षण सिकाई उपलब्धी भने ५० प्रतिशतभन्दा कम रहेको छ ।’
आइतबार धनगढीमा फाया नेपालले आयोजना गरेको एक कार्यक्रममा सार्वजनिक विद्यालय प्राय:मा दलगत राजनीतिकरण कायम रहनु, विद्यालय र अभिभावकबीच समन्वयको कमी तथा विद्यालयमा आधुनिक प्रविधिको प्रयोगको कमी लगायतका कारणले सार्वजनिक विद्यालयको शैक्षिक गुणस्तरमा सुधार आउन नसकेको औंल्याइयो ।
‘विद्यालय सरोकारवाला तथा स्थानीय जनप्रतिनिधिहरूलाई विद्यालय शिक्षाका १० अधिकार सम्बन्धी अभिमुखिकरण’ मा संस्थाका अध्यक्ष शेरबहादुर बस्नेतले नागरिक शिक्षा प्रतिवेदनका मुख्य सवाल प्रस्तुत गरेका थिए ।
प्रतिवेदनमा उल्लेख छ– ‘शिक्षालाई नि:शुल्क घोषणा गरिए पनि कुनै न कुनै बहानाबाट अभिभावकबाट शुल्क असुल्ने काम जारी छ ।’ निजी स्रोतका शिक्षकलाई तलब दिन तथा विद्यालयको भौतिक संरचना निर्माणका लागि विद्यार्थींसंग पढाई शुल्क लिने गरिएको छ । कैलालीमा ४३ प्रतिशत शिक्षक निजी स्रोतबाट राखिएको पाइएको छ ।
धनगढी उपमहानगरपालिकाको १० वटा प्राथमिक विद्यालय, दुई माध्यामिक विद्यालय र तीन उच्च माध्यामिक विद्यालय समेत १५ वटा विद्यालयका पाँच सय ८४ जनाको सहभागितामा तयार पारिएको प्रतिवेदनले दुई सय ३० दिन विद्यालय खुल्नुपर्ने र एक सय ९२ दिन पढाई हुनुपर्नेमा बढीमा दुई सय तीन दिन विद्यालय खुल्ने गरेको र एक सय ६४ दिनमात्र पढाई हुने गरेको देखाएको छ । प्रतिवेदनका अनुसार विद्यालयलाई सुरक्षित र हिंसारहित बनाउनुपर्नेमा आन्दोलन, बन्द हडताल लगायतले विद्यालयको पढाई प्रभावित हुने गरेको उल्लेख छ ।
प्रतिवेदनले विद्यालयमा जातजातिबीच भेदभावको अवस्था नभए पनि जान्ने र नजान्ने विद्यार्थीबीच शिक्षकले नै भेदभाव गर्ने गरेको, विद्यालय व्यवस्थापन समितिको बैठकमा बाल सहभागिता नहुने, विद्यालय सुधार योजनाबारे अभिभावकलाई जानकारी नगराउने, विद्यालयको स्रोत र अवसरको बारेमा विद्यालयले तथ्यांक नराख्ने लगायतको अवस्थाबारे औंल्याएको छ ।
कार्यक्रममा धनगढी उपमहानगरपालिकाका मेयर नृपबहादुर वडले अझै पनि दोहोरो शिक्षा प्रणाली कायम रहेको चर्चा गरे । ‘अब सार्वजनिक विद्यालय बसै स्थानीय सरकारले हेर्ने छन्’ मेयर वडले भने– ‘आ–आफनो तहमा रहेका विद्यालयको अनुगमन गरी सार्वजनिक विद्यालयको शिक्षण सिकाईमा सुधार ल्याउन हामी सबै खटिने छौं ।’
उनले निजी विद्यालयको तुलनामा सार्वजनिक विद्यालयमा तालिम प्राप्त रहेको र सेवासुविधा पनि राम्रो भए पनि शिक्षाको अवस्थामा सुधार नहुनु विडम्बना भएको बताए ।
‘विकासमात्र सुन्दरताको प्रतीक होईन्’ मेयर वडले भने– ‘शिक्षा, स्वास्थ्य, कृषि लगायतको विकास भएमात्र समग्र धनगढी उपमहानगरपालिकालाई समृद्ध बनाउन सकिनेछ ।’
कार्यक्रममा फाया नेपालका धनपति ढुङ्गेलले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा धनगढी उपमहानगरपालिकाका १९ वटै वडाका वडा सदस्य तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो ।

असाेज ०२ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार