२० बैशाख २०८१, बिहीबार

अवैध रूपमा भित्रिने सामान बरामद गरिन्छ, तर व्यक्ति सधैं फरार



धनगढी । शनिबार साँझ सशस्त्र प्रहरी सीमा सुरक्षा बलको एउटा टोलीले ३३ वटा बाख्रा सहित एउटा मिनिट्रकलाई नियन्त्रणमा लियो । भारतबाट बाख्रा बोकेर आएको मिनिट्रकलाई प्रहरीले धनगढीको बंगराकटानबाट नियन्त्रणमा लिएको थियो । भारतबाट अवैध रूपमा भित्राइएको बाख्रासहित मिनिट्रक सशस्त्र प्रहरी टोलीले नियन्त्रणमा लियो, तर ट्रक चलाउने चालक तथा बाख्रा ल्याउने व्यापारीको भने अरू घटनामा झैं ‘फरार’ भए ।

प्रहरीका एक जना उच्च अधिकारीका अनुसार कतै व्यावहारिक रूपमा व्यक्तिलाई छोड्नुपर्ने हुन्छ भने कतै राजनीतिक दबावका कारण छोड्नुपर्ने बाध्यता छ ।

सशस्त्र प्रहरी टोलीले दिउँसो ३ बजेतिर नियन्त्रणमा लिएको मिनिट्रक र बाख्रासहितलाई ‘वेवारिस अवस्थामा फेला परेको’ भन्दै कैलाली भन्सार कार्यालयमा बुझाएको छ । भन्सार स्रोतका अनुसार यस पटक पनि न्यून बिगो बनाएर मिनिट्रक र बाख्रा भन्सार कार्यालयमा बुझाइएको । भन्सारमा बुझाइएको विवरणमा बाख्राको एक लाख ४८ हजार पाँच सय तथा मिनिट्रक र चार्जरको ४१ हजार नौ सय रुपैयाँ गरी एक लाख ९० हजार चार सय रुपैयाँ बिगो कायम गरिएको छ ।
केही दिनअघि धनगढीको बंगराबाटै भारतबाट अवैध रूपमा भित्र्याउँदै गरेको १८ किलो कुखुरा र १० किलो माछा वडा प्रहरी कार्यालयको एक टोलीले नियन्त्रणमा लिएको थियो । कुखुरा तथा माछामासु व्यावसायी संघको सहयोगमा वडा प्रहरी कार्यालयले त्यो सामग्री नियन्त्रणमा लिएको थियो ।
प्रहरी टोलीले कुखुरा ल्याउने व्यक्ति पनि नियन्त्रणमा लिएकोमा ‘आगामी दिनमा गल्तनी नदोहोर्‍याउने’ कागज बनाएर रिहा गरियो ।
कैलालीमा भारतसंगको खुला सीमानाका कारण अवैध रूपमा कुखुरा, खसीबाख्रा, चिनी, कस्मेटिक लगायतका सामग्री भित्रिने गरेका छन् । नेपाल प्रहरी अथवा सशस्त्र प्रहरी टोलीले पनि दिनहुँ अवैध रूपमा भित्रिएका सामन बरामद गर्ने गरेका छन् । तर, प्राय: घटनामा सामान भित्र्याउने व्यापारी वा व्यक्तिले भने उन्मुक्ति पाउने गरेका छन् ।
कुखुरा तथा माछामासु व्यावसायी संघका जिल्ला अध्यक्ष जीतेन्द्र यादवका अनुसार गत आर्थिक वर्षमा भारतबाट अवैध रूपमा पाँच लाख रुपैयाँ मूल्य बढीका कुखुरा अवैध रूपमा भित्रिएको थियो । ‘तर कुनै पनि घटनामा कुखुरा भित्र्याउने व्यक्ति भने पक्राउ परेनन्’ अध्यक्ष यादवले भने– ‘यसले गर्दा अवैध रूपमा कुखुरा तथा अण्डा र माछा भित्रिने क्रममा कमी आउन सकेको छैन ।’
अवैध रूपमा भित्रिने सामान बरामद गरे पनि ल्याउने व्यक्ति/व्यापारीलाई फरार बनाउने, पक्राउ गरे पनि बिना दण्डसजाय रिहा गर्ने तथा बरामद भएको सामानको वास्तविकताभन्दा कम मूल्यमा बिगो कायम गर्ने प्रवृत्तिले भारतबाट अवैध रूपमा सामान भित्र्याउने क्रममा कमी आउन सकेको छैन ।
प्रहरीका एक जना उच्च अधिकारीका अनुसार कतै व्यावहारिक रूपमा व्यक्तिलाई छोड्नुपर्ने हुन्छ भने कतै राजनीतिक दबावका कारण छोड्नुपर्ने बाध्यता छ ।
‘अवैध रूपमा सामान ल्याउने व्यक्ति या त एकदमै विपन्न वर्गका हुन्छन्, या राजनीतिक पहुँच भएका व्यक्ति हुन्छन्– ‘नाम उल्लेख नगर्ने शर्तमा ती प्रहरी अधिकारीले भने ‘न्यून आयस्रोत भएका व्यक्तिहरूलाई व्यवहारिक रूपमा आगामी दिनमा गल्ती नदोहोर्‍याउने शर्तमा छोड्ने गरेका छौं भने, कतिपयलाई राजनीतिक दबावका कारण छोड्नुपर्ने बाध्यता रहेको छ ।

भदाै २६ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार