१० श्रावण २०८१, बिहीबार

बाढीको बिनास : चार हजार हेक्टरको धानबालीमा क्षति



धनगढी । पाँच दिन पटकपटकको भारी वर्षाका कारण विभिन्न नदी तथा खोलामा आएको बाढीका कारण कैलालीका विभिन्न स्थानमा चार हजार हेक्टर बढी क्षेत्रफलमा लगाइएको धानबालीमा क्षति पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालय, कैलालीका अनुसार जिल्लामा सबैभन्दा बढी भजनी र टीकापुर नगरपालिकामा अन्नबालीमा बढी क्षति पुगेको छ । कृषि विकास कार्यालयले प्राविधिकहरूमार्फत जिल्लामा बालीनालीको क्षतिको विवरण संकलन गरेको छ ।
कृषि विकास कार्यालयका सूचना अधिकारी गौरीशंकर गुप्ताका अनुसार भजनी क्षेत्रमा धानमा अत्याधिक क्षति पुगेको छ । उनले भजनी नगरपालिका क्षेत्रमा दुई हजार छ सय हेक्टरमा लगाइएको धानबाली डुबानमा परेको बताए ।
कृषि प्रसार अधिकृत समेत रहेका गुप्ताले भजनी नगरपालिकाको थापापुर, लालबोझी, कन्हैयापुर, गोल्चौरालगायत हुलाकी राजमार्गको दक्षिणतिरका क्षेत्रफलमा लगाइएको धानबालीमा ठूलो क्षति पुगेको छ ।
त्यस्तै, टीकापुर नगरपालिकाको वडा नम्बर ३, ६, ७ र ९ मा गरी करिब एक हजार हेक्टरमा लगाइएको धानबालीमा क्षति पुगेको छ । जिल्लाका अन्य स्थानमा बाढीका कारण थप चार सय हेक्टर जग्गाको अन्नबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ ।
टीकापुर नगरपालिकाका वडा नम्बर ६, को भर्तापुर, भगवानपुर तथा वडा नम्बर ७ को बैदी र पर्तिपुरमा अन्नबालीमा क्षति पुगेको छ । डुवानमा परेको चार हजार हेक्टरमध्ये करिब ५० प्रतिशत पूर्ण रूपमा अन्नबालीमा क्षति भएको कृषि प्रसार अधिकृत गुप्ताले बताए । उनले तीन दिनसम्म बाढीमा डुबेमा धानबालीमा कम्तिमा ५० प्रतिशत क्षती पुग्ने बताए ।
बाढी प्रभावित क्षेत्रका अधिकांश किसानले छिटो पाक्ने जातको धान लगाउने भएकाले यतिबेला धान पसाउने क्रममा रहेको थियो ।
कतिपय ठाउँमा डुवान लामो समयसम्म रहेर र कतिपय ठाउँमा पटान तथा कटानले धानबालीमा क्षति पुगेको कृषि विकास कार्यालयले जनाएको छ । चैते धान लगाएका कतिपय किसानले भने बाढीको डरले खेत बाँझै राखेका थिए । बढी खुल्ला रहेको र डुवान हुने क्षेत्र किसानले बाँझै छाडेका थिए । धानबालीमा भएको क्षतिले जिल्लामा यस वर्ष धान उत्पादन प्रभावित हुने अनुमान गरिएको कृषि प्रसार अधिकृत गुप्ताले बताए ।
कैलालीमा बर्सेनि ७१ हजार दुई सय ५० हेक्टरमा वर्षायाममा धानबाली लगाउने गरिएको छ । बाढी प्रभावित क्षेत्रमा चैते धान पनि लगाइन्छ । तर थोरै किसानले मात्र चैते धान लगाउने गरेका छन् । बढी डुवान हुने क्षेत्रका किसानले वर्खे बाली भित्र्याउन पाउँदैनन् । वर्षायाममा डुवान, कटान र पटानका कारण खेतीमा नोक्सानी हुने गरेको छ ।

बाढीपीडितको गुनासो– अझैं कुनै राहत पाइएन
भजनी । भजनी नगरपालिका–३, बरदुवाफाँटाकी धनसरा जैशीको बाढीका कारण विस्थापित भएका छन् । बाढीका कारण विस्थापित उनी अहिलेसम्म कसैबाट पनि कुनै राहत सामग्री नपाएको गुनासो गरिन् । भन्छिन्– ‘अहिलेसम्म मेरो परिवारले कुनै राहत पाएको छैन, खानाका लागि खाद्यान्न छैन ।’
आइतबारको बाढीबाट विस्थापित तथा पीडितका लागि राहत वितरण गर्न विभिन्न संघसंस्था पुगेको बताइए पनि बरदुवाफाँटाका अधिकांस बाढीपीडितले कुनै राहत नपाएको गुनासो गरे । ‘गाउँमा केही राहत सामग्री आएको सुन्यौ, तर कसैले पाए, धेरैले पाएनन्’ उनले पीडा पोखिन्– ‘घरहरू पानीमा डुबेका छन्, घरभित्रको अन्नपात बाढीले बगायो, खेतमा लगाएको अन्नबाली स्वाहा भइसक्यो ।’
बरदुवाफाँटाका ईन्द्रा साउँदले पनि कोहीकसैले आफूहरूको समस्याप्रति चासो नदिएको गुनासो गरिन् । उनले बाढीका कारण घर, दुई कठ्ठा धान, गहुँ लगायत अन्नपात बगेको बताइन् । ‘तीन दिन भइसक्यो, एकदुई पाकेट चाउचाउको भरमा बाचेका छौं’ उनले भनिन् ।
भजनीकै मोतिराम भण्डारीले राहत वितरणमा स्थानीय सरकारले समान व्यवहार नगरेको गुनासो गरे । ‘अहिलेसम्म हाम्रो दु:खकष्ट हेर्न कोही पनि आइका छैनन्– उनले ‘घरसम्पती सबै खोलाले बगाएको बताए । ‘राहतका नाममा दुई पाकेट चाउचाउ र एक पाकेट भुजा पाएका छौं’ उनले सो वडामा दुई हजार पाँच सय भन्दा बढी परिवार बाढीका कारण विस्थापित भएको बताए ।
बर्दवाफाँटाका स्थानीयका अनुसार यस पटकको बाढीमा मानवीय क्षति नभए पनि धनमालको व्यापक क्षति भएको छ । उनीहरूले २०४० सालमा पनि बाढीका कारण निकै क्षति बेहोरेकोमा सरकारबाट त्यतिवेला पनि कुनै राहत नपाएको स्मरण गरे ।
भजनी नगरपालिकामा १० हजार जनसंख्या रहेकोमा भजनी नगरपालिकाको वडा नम्बर ८ मा पाँच हजार, वडा नम्बर ३ मा अढाई हजार, वडा नम्बर ५, ९ र २ मा कबिर तीन हजार र वडा नम्बर ४ मा पाँच सय जनसंख्या बाढीबाट प्रभावित भएका छन् ।
जिल्ला प्रशासन कार्यालय कैलालीका निमित्त प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले बाढी प्रभावित क्षेत्रको अवस्था सामान्यतर्फ उन्मुख हुन लागेको जानकारी दिए । उनले भजनी नगरपालिकाको सोनाफाँटाका ३५ परिवारको अझै अवस्था दयनिय रहेको बताए । उनले उनीहरूको अझै सडकमै बास रहेको बताए ।

भत्किएको सडक अझैं मर्मत भएन
बौनिया  । गएको शनिबारदेखि परेको अविरल वर्षाका कारण भत्किएको कैलालीको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर १ र ३ जोडने सडकखण्ड अझैं मर्मत हुनसकेको छैन ।
सो सडकखण्ड भत्किएपछि यातायात सञ्चालन हुनसकेको छैन । ‘सयौ संख्यामा विद्यार्थी नै ओहोरदोहोर गर्छन् । बाटो मर्मतका लागि गाउँपालिकाका प्रतिनिधि कसैलाई चासो नै छैन’ स्थानीय उदय थापाले भने ।
ग्रामीण क्षेत्रको व्यापारिक केन्द्रबिन्दु मानिने बौनिया बजारदेखि तल्लापानीसम्म सञ्चालन हुँदै आएको जीपसेवा पनि सञ्चालनमा आउन सकेको छैन । निर्माणाधिन सेती लोकमार्गमा पर्ने सो ग्रामीण सडक शनिबारदेखि भत्किएको स्थानीय अटोरिक्सा चालक नृप विकले बताए ।
वडा नम्बर ३ का वडाध्यक्ष कर्ण सुनारले भत्किएको सडक मर्मतका लागि कसलाई जिम्मेवारी दिने भन्नेबारे गाउँपालिकामा छलफल भएको बताए । उनले सडक मर्मतका लागि भने अझै १५/२० दिन लाग्न सक्ने बताए ।
गाउँपालिकाका कार्यकारी अधिकृत हिरालाल भण्डारीले बाढीका कारण ग्राभेल गरिएका केही सडक खण्डमा सामान्य खाल्डाखुल्डी मात्रै परेको र एक/दुई दिनभित्रै मर्मत गरिने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार