४ जेष्ठ २०८१, शुक्रबार

जताततै बाढीको सन्त्रास, सडकमै बास



धनगढी । पाँच दिनदेखि लगातार भइरहेको वर्षाका कारण कैलालीका भजनी, टीकापुर लगायत जिल्लाको पूर्वी तथा दक्षिणी भेगमा बाढीको सन्त्रास कायमै रहेको छ ।
शनिबार रातिदेखि परेको भारी वर्षाका कारण जलमग्न भएको टीकापुर र भजनीमा अझैं पनि हजारौ मानिस त्रासमा रहेका छन् । भजनीमा आइतबारदेखि हुलाकी सडकमा आश्रय लिइरहेका हजारौं परिवार मंगलबार रातीसम्म पनि घर फर्किन सकेका छैनन् । भजनीमा बाढीले स्थानीयलाई दुई पटक विस्थापित गरिसकेको छ । साउन १९ गते साँझदेखि परेको वर्षाले उनीहरू २० गते सुरक्षित स्थान खोज्न सडकमा पुगेका थिए । चार दिनपछि घर फर्केका उनीहरू पनि गत आइतबारदेखि सडकमा आश्रय लिइरहेका छन् ।
भजनी नगरपालिकाको वडा नम्बर ८, ३, ५, ९, २ र ४ बाढीबाट बढी प्रभावित भएका छन् । भजनीमा एघार हजार बढी जनसंख्या बाढीबाट प्रभावित भएको प्रहरीले जनाएको छ । वडा नम्बर ८ मा पाँच हजार, वडा नम्बर ३ मा दुई हजार पाँच सय, तथा वडा नम्बर ५, ९ र २ मा गरी तीन हजार बढी र वडा नम्बर ४ मा पाँच सय बढी जनसंख्या प्रभावित भएका छन् ।
पछिल्लो पटक साउन २६ गतेदेखि परेको अविरल वर्षाले सोनाहाफाँटाको पश्चिमतर्फको ३० मिटर हुलाकी सडक समेत भत्काएको छ । बाढीले भत्काएको सडकमा स्थानीयले ढुंगा हालेर आवतजावत गर्न लायक बनाएका छन् ।
भजनी नगर प्रमुख शेरबहादुर चौधरीले बाढीपीडितहरूका लागि विभिन्न संघसंस्थाबाट राहत सामग्री प्राप्त भइरहेको बताए ।
‘अहिले हामी अग्नी परीक्षामा छौं’ निरन्तरको वर्षाका कारण ठूलो संख्यामा नागरिक प्रभावित भएपछि राहत वितरण कार्यमा ध्यान दिइरहेको बताउँदै नगर प्रमुख चौधरीले भने– ‘संघसंस्थाहरूबाट संकलित राहत सामग्री प्रभावकारी रूपमा वितरण गर्ने प्रयास गरिरहेका छौं ।’
उता, कैलालीको पूर्वी क्षेत्रमा रहेको टीकापुर नगरपालिकामा आइतबारदेखि भइरहेको डुबान अझैं घटेको छैन । नगरपालिकाका मुख्य बजार क्षेत्र डुबानमा परेका छन् ।
कैलालीमा बाढीका कारण अहिलेसम्म पाँच जनाको निधन भइसकेको छ । जिल्लाका प्राय: सबै ठाउँमा मंगलबार दिनभरी पटकपटक वर्षा भएको छ । पाँच दिनदेखि मौसममा सुधार भएको छैन ।
जिल्लाका कर्णाली, मोहना, पथरैया, कन्द्रा, काँडा, लगायतका नदीमा पानीको सतक घटेको छैन ।

टीकापुरमा विद्यालयहरू बन्द
अविरल वर्षापछि अत्यधिक डुबान र बाढीका कारण कैलालीको टीकापुर क्षेत्रमा शुक्रबारसम्म निजी विद्यालयहरू बन्द गरिएको छ ।
निजी तथा आवासीय विद्यालयहरूको संगठन प्याब्सनको उपसमितिको मंगलबार टीकापुरमा बसेको बैठकले ने भएको छ । प्यावसन उपसमितिको मंगलबार बसेको बैठकले शुक्रबारसम्मका लागि निजी विद्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।
प्याब्सन टीकापुरका अध्यक्ष चक्रपाणी सापकोटाले बाढी र डुबानका कारण विद्यार्थीहरूलाई विद्यालय आउनजान समस्या हुने र बालबालिकाहरू जोखिममा पर्नसक्ने स्थितिलाई दृष्टिगत गरी विद्यालयहरू बन्द गर्ने निर्णय गरिएको बताए ।

बाढीपीडितलाई नि:शुल्क स्वास्थ्योपचार
कैलालीको सुखडमा रहेको घोडाघोडी अस्पतालले बाढीपीडितहरूलाई नि:शुल्क स्वास्थ्योपचार सेवा प्रदान गरेको छ ।
अस्पतालले बाढीपीडितहरूका लागि मंगलबार एक दिन नि:शुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो ।
बिहान ८ बजेबाट सुरु भएको स्वास्थ्य शिविर साँझ ५ बजेसम्म चलेको थियो । स्वास्थ्य शिविरमा ६७ जनाले सेवा लिएका थिए ।
अस्पताल व्यवस्थापन समितिका अध्यक्ष बिष्णुप्रसाद सापकोटाले बाढीपीडितहरूमा देखिन सक्ने स्वास्थ्य समस्यालाई दृष्टिगत गरी स्वास्थ्य शिविर सञ्चालन गरिएको बताए ।
स्वास्थ्य शिविरमा घोडाघोडी नगरपालिका, लम्कीचुहा नगरपालिका, गौरीगंगा नगरपालिका, र भजनी नगरपालिका तथा बर्दगोरिया र कैलारी गाउँपालिकाका सेवाग्राही आएका थिए ।
अध्यक्ष सापकोटाले अस्पतालले अन्य उपचार सेवामा समेत बिरामीलाई २० प्रतिशत छुट दिएको बताए ।

बैतडीमा चार स्थानीय तह पहिरोको उच्च जोखिममा
बैतडीमा चारवटा स्थानीय तह पहिरोको उच्च जोखिमा परेका छन् । जिल्ला दैवी प्रकोप उद्धार समिति, बैतडीका अनुसार चार वटा स्थानीय तह पहिरोको उच्च जोखिममा परेका छन् ।
उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनाअनुसार बैतडीका डिलाशैनी र दोगडाकेदार गाउँपालिका तथा पुरचौडी र मेलौली नगरपालिका पहिरोको उच्च जोखिममा रहेका छन् ।
विभिन्न प्रकोपको दृष्टिले जिल्लाका अन्य स्थानीय तहमा पनि जोखिम रहे पनि यी चार स्थानीय तहमा पहिरोको उच्च जोखिम रहेको जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी तुलसीराम पौडेलले जानकारी दिए ।
पहिरोका दृष्टिले डिलाशैनीको बांगाबगर र रुद्रेश्वर तथा दोगडाकेदारको सित्तड र न्वाली गाउँ उच्च जोखिममा रहेका छन् ।
यसैगरी, पुरचौडी नगरपालिकाको मल्लादेही र मेलौली नगरपालिकाको विशालपुर पहिरोको उच्च जोखिममा रहेका छन् ।
ती ठाउँमा वर्षौंदेखि पहिरो खसिरहेकाले पहिरो रोकथामका लागि जिल्लास्तरबाट खासै पहल गर्न नसकिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।
जिल्ला दैवी प्रकोप उद्धार समितिले तयार पारेको विपद् पूर्वतयारी तथा प्रतिकार्य योजनामा विपद्को सामना गर्नका लागि आवश्यक जनशक्ति, सामग्री, सीपलगायतको आँकलन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार