४ जेष्ठ २०८१, शुक्रबार

बाढीको प्रकोप : पीडितहरूको बिचल्ली, त्रिपालमुनि कष्ट सहँदै



धनगढी  । आइतबार कैलालीका विभिन्न क्षेत्रमा आएको बाढीबाट विस्थापित पीडितहरू कष्टकर दिन बिताउन बाध्य भएका छन् । बाढीले घरगाउँ डुबाएपछि सुरक्षित स्थानमा सारिएका पीडित तथा प्रभावितहरू दुई दिनदेखि त्रिपालमुनि कष्ट सहेर बसिरहेका छन् ।
बाढीबाट कैलालीको भजनी नगरपालिका सबैभन्दा बढी प्रभावित भएको छ । त्यस्तै, टीकापुर नगरपालिका र जानकी गाउँपालिका पनि बाढीबाट प्रभावित भएको छ । भजनीमा बाढीका कारण तीन हजार बढी परिवारको विचल्ली भएको छ । गाउँवस्तीमा बाढी पसेपछि विस्थापित उनीहरूलाई हुलाकी सडकको उचो स्थानमा राखिएको छ । टीकापुरमा एक हजार पाँच सय परिवार बाढीबाट प्रभावित भएका छन् ।
त्रिपालमुनि बसिरहेका बृद्धबृद्धा, बालबालिका, गर्भवती, अशक्त तथा बिरामीहरूको अवस्था निकै दयनीय रहेको छ । बाढीपीडितहरूका अनुसार प्रमुख रूपमा खानेपानीको समस्या रहेको छ । त्यस्तै, दिसापिसाब गर्न पनि निकै समस्या हुने गरेको छ ।
टीकापुर र भजनी नगरपालिकाको सीमानामा पर्ने पथरैया पुलमा आश्रय लिएर बसेका बिस्थापित बाढीपीडित तथा सोनाहाफाँटाका बाढीपीडितहरू केही त्रिपालमुनि रहे पनि केही खुला आकाशमुनि रात बिताउन बाध्य भएका छन् ।
आइतबार कान्द्रा, पथरैया नदी लगायतका नदीको बहाव बढेपछि भजनी नगरपालिका वडा नम्बर ८ र ३, काँडा, सोनाहाफाँटा, वनडुवा, दैलेखिटोल लगायतका क्षेत्रका बासिन्दा विस्थापित भएका थिए ।
सो क्षेत्रका दुई हजार चार सय बढी परिवार आइतबारदेखि हुलाकी सडकका विभिन्न स्थानमा बसिरहेका छन् । अहिले सत्ति–भजनी सडक खण्ड बाढीले बगाएपछि आवागमन अवरुद्ध भएको छ । बाढीले बगाएको सडकमा डुंगाबाट मानिसलाई आवतजावत गराउने प्रबन्ध मिलाइएको भजनी थापापुरका विजयराज श्रेष्ठले जानकारी दिए । कान्द्रा, पथरैया नदीले उक्त क्षेत्रको बाली नालीमा पनि ठूलो क्षति पुर्‍याएको स्थानीयले बताए ।
कैलालीमा सोमबार पानी पर्ने क्रम रोकिए पनि वर्षाको सम्भावना रहेको मौसम पुर्वानुमान महाशाखाले जनाएको छ ।
क्षेत्रीय प्रहरी कार्यालय दिपायलका प्रहरी प्रमुख डिआइजी रोमेन्द्र देउजाका अनुसार प्रदेश नम्बर ७ मा सबैभन्दा बढी कैलाली जिल्लाको टीकापुर र भजनी नगरपालिकामा प्रभाव पारेको छ ।
डिआइजी देउजाले ७ नम्बर प्रदेशको दार्चुला बाहेक अन्य क्षेत्रमा सडक यातायात निर्वाध रूपमा सञ्चालन भइरहेको बताए ।
बाढी तथा पहिरोले कैलालीमा पाँच जनाको मृत्यु भएको छ । वर्षाका कारण पानीमा डुबेर भजनी नगरपालिका–४, झलझलियाको ६२ वर्षिया लालगिरी साउँद, मटियारीका ५५ वर्षिया भाना गुरुङको ज्यान गएको इलाका प्रहरी कार्यालय भजनीका प्रहरी निरीक्षक नेत्रबहादुर बोहराले जानकारी दिए ।
यसैगरी साउन २६ गते टीकापुर नगरपालिकाको वडा नम्बर ६ भगवानपुरमा आठ वर्षिया सुजिता चौधरी, शनिबार टीकापुर नगरपालिका–९, खक्रौलामा सात वर्षिया बालिका सिर्जना चौधरीको ज्यान गएको छ भने टीकापुर नगरपालिका–२ स्थित रानीकुलामा भेटिएको शबको अझै सनाखत भइसकेको छैन ।
डिआइजी देउजाले बाढी तथा पहिरोका कारण प्रदेश नम्बर ७ मा धनमालको व्यापक क्षति भएको बताए । ‘तर भौतिक क्षतिको पूर्ण विवरण अझैं प्राप्त भइसकेको छैन’ उनले जिल्लाजिल्लामा बाढी तथा पहिरोबाट भएको धनमालको क्षतिको विवरण संकलन भइरहेको बताए ।
उनले टीकापुर र भजनी नगरपालिकाको सीमानामा पानीको बहावमा सुधार नआएकाले विस्थापितहरूलाई हुलाकी सडक तथा अन्य सुरक्षित स्थानमा राखिएको बताए ।
बाढी पुर्वानुमान शाखाका अनुसार पश्चिम क्षेत्रमा अझै वर्षाको सम्भावना जारी रहेकाले नदी आसपासका क्षेत्रमा रहेका स्थानीयहरूलाई सुरक्षित स्थानमा बस्न आग्रह गरिएको छ । बाढी पुर्वानुमान शाखाले कर्णाली नदीको बहाव पनि बढ्दै गएको जनाएको छ । चार बजेर ४५ मिनेटमा ८ दशमलब २२ मिलिमिटर पुगेको नदीको बहाव ५ बजेर ४५ मिनेट पुग्दा आठ दशमलब २३ मिलिलिटर पुगेको थियो ।

 

महाकाली लोकमार्ग पुन: अवरुद्ध
पहिरोको कारण तीन दिनदेखि महाकाली लोकमार्ग अबरुद्ध छ । शुक्रबारको पहिरो आइतबार पन्छाइए पनि सोमबार बिहान पुन: पहिरो गएपछि लोकमार्ग अबरूद्ध भएको हो ।
दार्चुलाको खलंगा–गोकुलेश्वर सडक खण्ड अन्तर्गत चौतलीचौर नजिक शुक्रबार बिहान ठूलो पहिरो खस्दा महाकाली लोकमार्गको अबरुद्ध भएको थियो । मालिकार्जुन गाउँपालिका र शैल्यशिखर नगरपालिकाको सीमा क्षेत्र चौतलीचोर नजिक खसेको पहिरो आइतबार पन्छ्याइएको छ ।
शनिबार शैल्यशिखर नगरपालिका–९, ठूलसैनमा सडकको पर्खाल भत्किँदा लोकमार्ग अबरुद्ध भएको छ । सडकको दुबैतिर पर्खाल लगाएर सडक बनाइएको ठाउँमा एकातिरको पर्खाल भत्किएकाले सडक सुचारु गर्न पर्खाल लगाउनु पर्ने भएकाले सडक सुचारु गर्न कठिनाइ भएको ईलाका प्रहरी कार्यालय गोकुलेश्वरले जनाएको छ ।
अहिले ग्याविन जाली हालेर साना गाडी सञ्चालन गर्न अस्थायी पर्खाल निर्माण भइरहेको छ । तर ठूला लोड गाडी चल्न सक्ने गरी सडक सञ्चालन गर्न केही दिन लाग्ने प्रहरीको भनाइ छ ।

पहाडी क्षेत्रमा विद्युत अवरुद्ध
सुदूरपश्चिका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको छ । सोमबार बिहान पौने ४ बजेदेखि डडेल्धुरा लगायतका पहाडी जिल्लामा विद्युत सेवा अवरुद्ध भएको हो ।
कैलालीको अत्तरियादेखि डोटीको बुढरसम्मको लाइनमा समस्या आएको हुँदा विद्युत सेवा अवरुद्ध भएको नेपाल विद्युत प्राधिकरण वितरण केन्द्र डडेल्धुराका प्रमुख राजमणि बजगाईंले जानकारी दिए ।
अवरुद्ध विद्युत सेवा पुन: सञ्चालन गर्न डडेल्धुरा र अत्तरियाबाट कर्मचारीहरू खटाइएको प्रमुख बजगाईंले बताए । ‘लाइनको कुन ठाउँमा समस्या आएको छ, त्यो पत्ता लागेको छैन’ प्रमुख बजगाईंले भने, ‘कुनै टावरमा समस्या आएको भए कर्मचारीहरू पठाएका छौँ, छिट्टै विद्युत चालू हुन्छ ।’
विद्युत नहुँदा सुदूरपश्चिमका पहाडी जिल्लाहरू डडेल्धुरा, बैतडी, डोटी र अछाम क्षेत्रका उपभोक्ता समस्यामा परेका छन् । विद्युत नहुँदा उक्त क्षेत्रका संचारमाध्महरू बढी प्रभावित भएका छन् ।
टीकापुरमा विस्थापित फर्किन सकेनन्
आइतबारको भिषण वर्षा र बाढीका कारण विस्थापित टीकापुर विभिन्न स्थानका बासिन्दा अझैं घर फर्किन सकेका छैनन् ।
सोमबार बिहानबाट वर्षा रोकिए पनि विस्थापितहरू अझैं घर फर्कन सकेका छैनन् । टीकापुर नगरपालिकाको वडा नम्बर ६, ७ र ९ मा एक हजार पाँच सय परिवार विस्थापित भएका छन् । विस्थापित भएकाहरूलाई विद्यालय, सुरक्षित उच्च भवन लगायतका सुरक्षित स्थानमा राखिएको छ ।
बाढीले टीकापुरमा जयपुरा बिकको घर भत्किएको छ । घरमा भएको अन्नपात र लुगाकपडा समेत बाढीमा बगेपछि राहत नपाएका कारण जयपुराको परिवारलाई समस्या भएको छ ।
बाढीका कारण विस्थापित भएका वडा नम्बर ६, ७ र ९ का परिवारलाई रेडक्रस सोसाइटीको टीकापुरको अगुवाईमा राहत सामग्री वितरण गरिएको छ । उनीहरूलाई त्रिपाल, पानी, चिउरा तथा चाउचाउ वितरण गरिएको जनाइएको छ ।
बाढी पीडितहरूका लागि राहत संकलन गर्न सोमबार टीकापुर नगरपालिका प्रमुख तपेन्द्र रावलको अध्यक्षतामा बसेको दैवी प्रकोप उद्दार समितिको बैठकले सबैसंग राहत संकलनका लागि पहल गर्ने निर्णय गरेको नेपाल रेडक्रस सोसाइटी टीकापुर उपशाखाका सभापति जगदीश्वर पण्डितले बताए ।
बाढीबाट विस्थापितहरूलाई खानाको व्यवस्थाका लागि खाना पकाउने मेस सञ्चालनको तयारी गरिएको छ । रेडक्रस टीकापुरले ठाउँठाउँमा बाटो अबरुद्ध भएका कारण राहत वितरणमा कठिनाई भइरहेको जनाएको छ । आइतबारबाटै भोकै रहेका बाढीपीडितमा महिला, बालबालिका र बृद्धबृद्धाको अवस्था कठिन भएपछि मेस सञ्चालनको तयारी गर्न थालिएको रेडक्रस टीकापुरले जनाएको छ ।
टीकापुर नगरपालिकाका अन्य वडाका पनि सयौं परिवार विस्थापित भएका छन् । टीकापुरमा नगरपालिका, रेडक्रस, प्रहरी, उद्योग वाणिज्य संघ, विभिन्न संघसंस्था राहत र उद्दारका कार्यमा खटेका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार