२० बैशाख २०८१, बिहीबार

परम्परागत सेवा प्रवाह प्रणाली, सेवाग्राहीलाई सास्ती



धनगढी । सार्वजनिक सेवा प्रवाह प्रणालीलाई चुस्तदुरुस्त तथा वैज्ञानिक बनाउन विभिन्न प्रयास भए पनि कैलालीका अधिकांस सेवा प्रदायक सरकारी निकायमा सेवाग्राहीले सेवा लिने क्रममा अनावश्यक झन्झट तथा ढिलासुस्ती बेहोरिराख्नु परेको छ ।
विद्युत, टेलिफोन लगायतका शुल्क तिर्न होस् अथवा राजश्व बुझाउन होस् वा रकम भुक्तानी लिन होस्, सेवाग्राहीहले अझैं पनि घन्टौ लाइनमा बसेर सेवा लिनुपर्ने बाध्यता कायमै छ । जिल्लामा सबैभन्दा बढी सेवाग्राहीको भीड हुने नेपाल विद्युत प्राधिकरणको धनगढी वितरण केन्द्र, राष्ट्रिय वाणिज्य बैंक, यातायात कार्यालय, मालपोत कार्यालय, जिल्ला प्रशासन कार्यालय लगायतका अधिकांस सरकारी कार्यालयमा सेवा लिन घन्टौं लाइनमा लाग्नुपर्ने बाध्यता छ ।

नेपाल विद्युत प्राधिकरणको डिजिटल क्यू बिग्रिएपछि विद्युत महशुल तिर्न लाइनमा बसेका सेवाग्राही । तस्बिर: शेरबहादुर ऐर/अनुमोदन

बढि सेवाग्राहीको भीड हुने सरकारी कार्यालयहरूमध्ये केहीले छिटोछरितो सेवा प्रवाह गर्न नयाँ प्रविधि तथा प्रणाली लागू गरे पनि केही समयमै पुन: परम्परागत प्रणालीमै फर्किने गरेको अवस्था छ ।
सेवाग्राहीलाई छिटोछरितो ढंगबाट सहज रूपमा सेवा प्रदान गर्न विद्युत महशुल, राजश्व लगायतका शुल्क तिर्न अनलाइन प्रणाली लागू गरिएको छ । त्यस्तै, सेवाग्राहीहरूले सेवा लिन जाँदा लाइनमा बस्ने झन्झट हटाउन डिजिटल क्यू (टोकन प्रणाली) प्रविधि अभ्यासमा ल्याइएको छ । तर, कतिपय सरकारी कार्यालयमा केही दिनमै पुरानै अभ्यासमा फर्किने गरेका छन् भने अधिकांस सरकारी कार्यालयमा नयाँ प्रविधि लागू नै गरिएको छैन ।
दुई वर्षअघि सेवाग्राहीहरूलाई सहज सेवा प्रदान गर्न नेपाल विद्युत प्राधिकरण धनगढी वितरण केन्द्रले लाखौं रुपैयाँ खर्च गरेर डिजिटल क्यू (टोकन प्रणाली) मार्फत विद्युत महशुल बुझाउने सेवा शुरु गरेको थियो । तर, एक वर्ष नपुग्दै डिजिटल क्यू विग्रिएपछि फेरि यही लाइन लगाउने अभ्यास दोहोर्‍याइएको छ ।
प्राधिकरणको धनगढी केन्द्रमा विग्रिएको डिजिटल क्यू प्रणालीको मर्मत भएको छैन । विद्युत महशुल बुझाउन आउने उपभोक्तालाई सहज बनाउन सञ्चालनमा ल्याइएको विद्युतीय टोकन प्रणाली प्रयोगविहिन भएपछि सेवाग्राहीहरूले फेरि लाइनमै बसेर विद्युत महशुल तिर्न बाध्य भएको शुक्रबार विद्युत कार्यालयमा विद्युत महशुल तिर्न आएका सेवाग्राही प्रेम ढुंगानाले बताए । टोकन प्रणाली हुँदा विद्युत महशुल तिर्न धेरै सहज भएको थियो र समयको पनि बचत भएको थियो तर, अहिले उक्त प्रणाली यहाँ नहुँदा विद्युत महशुल तिर्न लाइनमै बस्नुपरेको छ । असक्त, अपांड्डलाई महशुल बुझाउँदा लामो लाइनमा बस्नुपर्ने झन्झट हटाउन तथा ग्राहकको चापलाई सहज बनाउनका लागि जडान गरिएको उपकरण कार्यालयको वेवास्ताका कारण अलपत्र परेको सेवाग्राहीहरूको गुनासो छ ।
टोकन प्रणाली प्रयोग नहँुदा घण्टौंसम्म लाइनमा बस्नुपर्ने समस्या भएको विद्युतको महशुल बुझाउन आएका अर्का सेवाग्राही राम जोशीले बताए । अहिले टोकन प्रणाली नहुँदा सेवाग्राहीहरू विद्युत महशुल बुझाउन विहान कार्यालय समयभन्दा एक घण्टा अगाडिनै लाइनमा बस्ने गरेका छन् ।
महाराजगञ्ज र रत्नपार्क जस्तो विकसित शहरी क्षेत्रमा सेवाग्राहीको सहजताका लागि अनलाइन प्रणालीबाटै वा मोबाइल फोनमार्फत विद्युत महसुल तिर्न सकिने प्रणालीको जडान प्रक्रिया अघि बढाइएपनि धनगढी वितरण केन्द्रले भने डिजिटल क्यू प्रणालीमा सुधार ल्याउन नसकेको सेवाग्राहीहरूको गुनासो छ । विद्युत कार्यालयमा दैनिक ५ सय देखि १ हजार ५ सय सेवाग्राहीहरूले विद्युत महशुल बुझाउने गरेको विद्युत कार्यालयले जनाएको छ ।
यस्तै, राष्ट्रिय वाणिज्य बैंकले पनि प्रविधिको प्रयोग नगर्दा सेवाग्राहीहरूले समस्या भोग्नु परिरहेको छ । बैंकिड्ड कारोवार गर्न जाने सेवाग्राहीहरूले बिहानैदेखि लाइनमा बस्नु परेको गुनासो गरे । कार्यालय नखुल्दै सेवाग्राहीहरू बाहिर लाइनमा बस्ने गरेका छन् । सेवाग्राहीहरूले बैंकले आधुनिक प्रविधिको प्रयोग गर्नुपर्ने सुझाव दिन्छन् ।
यातायात कार्यालयमा लाइसेन्स बनाउन जाने, प्रशासन कार्यालयमा नागरिकता, राहदानी, पासपोर्ट लगायतका कागजात बनाउन जाने, मालपोत कार्यालयमा मालपोत तिर्न जाने सेवाग्राहीहरूले लाइनमै बसेर सेवा लिनुपरिरहेको गुनासो छ । जिल्लाका यी कार्यालयसंगै आन्तरिक राजश्व कार्यालय, नगरपालिका/गाउँपालिकाले पनि प्रविधिलाई प्रयोगमा ल्याउन जरुरी रहेको सेवाग्राहीहरूको सुझाव छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार