१० श्रावण २०८१, बिहीबार

डा. गोविन्द केसीले सुरु गरे एघारौं अनशन



काठमाडौं । प्रा.डा.गोविन्द केसीले आफ्नो दुईसूत्रीय माग सरकारले पूरा नगरेपछि सोमबार दिउँसो ४ बजेबाट पुन: आमरण अनशन सुरु गरेका छन् । उनको यो ११ औं अनशन हो। यसअघि विभिन्न चरणमा गरी उनले १० पटक आमरणर अनशन बसिसकेका छन् । हरेकपटक अनशन बस्दा सरकारले डा. केसीसँग विभिन्न सम्झौता गरेपनि पूर्ण रुपमा लागु भने नगरेको आरोप उनले लगाउँदै आएका छन् ।
चिकित्सा शिक्षा र सेवा सुधारका ठोस माग राखेर बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै असार ३१ सम्मको अल्टिमेटम दिएका केसीले उक्त अवधिमा पनि माग पूरा नभएको भन्दै आफू फेरि सत्याग्रह गर्न बाध्य भएको बताए ।
आईओएममा पदाधिकारी नियुक्त नगरेर अस्तव्यस्त बनाउने, अधिकार खोस्ने र नाजायज रूपमा धेरै शुल्क कायम गर्ने त्रिवि पदाधिकारीलाई तत्काल बर्खास्त गर्नुपर्ने मागसमेत केसीको छ ।
उनले पछिल्लोपटक माथेमा प्रतिवेदन र आफूहरूले दिएका सुझावसहित चिकित्सा शिक्षा विधेयक पारित गर्नुपर्ने र चिकित्सा शिक्षा क्षेत्रमा भइरहेका अनियमितता रोक्न सरकार र सम्बद्घ निकायलाई तत्काल ६ वटा काम गर्नुपर्ने दुईसूत्रीय माग अघि सारेका छन् । चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) मा डिनको सिफारिसअनुसार तत्काल सहायक डिन र क्याम्पस प्रमुख नियुक्त गर्नसमेत उनले माग गरेका छन् ।
आफूसित भएको सम्झौताअनुसार आईओएमलाई थप स्वायत्तता दिँदै विद्यार्थी भर्ना, शुल्क र सम्बन्धनसम्बन्धी अधिकार त्रिवि कार्यकारी परिषद्बाट पुन: आईओएममा फिर्ता गर्नुपर्ने मागसमेत उनको छ ।
सरकारी निर्देशन र अदालतको आदेश नटेर्ने मेडिकल कलेजहरूको सम्बन्धन तत्काल खारेज गर्नुपर्नेसमेत डा. केसीको माग छ । चिकित्सा शिक्षा आयोग नबनेसम्म मेडिकल शिक्षाका सबै तहको शुल्क विश्वविद्यालयले नभई सरकारले तोक्ने व्यवस्था गर्नुपर्ने उल्लेख गर्दै डा. केसीले सबै निजी कलेजमा एमडी/एमएस र एमडीएस तहको शुल्क चालू शैक्षिक सत्रदेखि लागू हुने गरी काठमाडौं विश्वविद्यालयसरह कायम गर्न माग गरेका छन् ।

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार