४ जेष्ठ २०८१, शुक्रबार

कमी आउन सकेन सडक दुर्घटनामा



धनगढी । नियन्त्रणका प्रयास जारी रहेको भनिए पनि प्रदेश नम्बर ७ (सुदूरपश्चिम) मा सडक दुर्घटनामा कमी आउन सकेको छैन ।
प्रदेश नम्बर ७ मा अघिल्लो आर्थिक वर्षको तुलनामा गत आर्थिक वर्षमा सडक दुर्घटनामा ह्वात्तै बृद्धि आएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, अत्तरियाका अनुसार आर्थिक वर्ष २०७२/०७३ मा प्रदेश नम्बर ७ मा एक सय ५४ सडक दुर्घटनाका घटना भएकोमा आर्थिक वर्ष २०७३/७४ मा एक सय ८४ घटना भएका थिए ।
गत आर्थिक वर्ष २०७३/०७४ मा भएका सडक दुर्घटनामा प्रदेश नम्बर ७ मा एक सय ३२ जनाले ज्यान गुमाएका थिए ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार अघिल्लो आर्थिक वर्ष २०७२/७३ मा सडक दुर्घटनामा एक सय २१ जनाले ज्यान गुमाएका थिए ।
आर्थिक वर्ष २०७३/७४ मा भएका सडक दुर्घटनामा एक सय जना पुरुषले ज्यान गुमाएका थिए । सो अवधिमा भएका सडक दुर्घटनामा १४ जना महिला, १२ बालक र छ बालिकाले ज्यान गुमाएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा प्रदेश नम्बर ७ मा भएका सडक दुर्घटनामा ८३ जना पुरुषले ज्यान गुमाएका थिए । त्यस्तै, १८ जना महिला, १३ बालक र सात बालिकाले सडक दुर्घटनामा ज्यान गुमाएका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७२/७३ मा प्रदेश नम्बर ७ मा भएका सडक दुर्घटनामा एक सय २७ जना घाइते भएका थिए ।
घाइते हुनेमा ८६ जना पुरुष, २४ महिला, ११ बालक र छ बालिका रहेका थिए ।
त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा भएका सडक दुर्घटनामा दुई सय छ जना घाइते भएका थिए । घाइते हुनेमा एक सय ४७ जना पुरुष, २८ महिला, १७ बालक र १४ बालिका रहेका थिए ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७३/७४ मा सबैभन्दा बढी माघ महिनामा सडक दुर्घटना भएका थिए भने जेठ र साउन महिनामा कम सडक दुर्घटना भएका थिए ।
सो आर्थिक वर्षको माघ महिनामा २३ सवारी दुर्घटना भएका थिए भने जेठ र साउन महिनामा आठ/आठ सवारी दुर्घटना भएका थिए ।
ट्राफिक कार्यालयका अनुसार प्रदेश नम्बर ७ मा सबैभन्दा बढी मोटरसाइकल दुर्घटना हुने गरेका छन् ।
आर्थिक वर्ष २०७३/७४ मा एक सय ८४ सवारी दुर्घटना भएकोमा एक सय आठ मोटरसाइकल दुर्घटना भएका थिए ।
त्यस्तै, यात्रुबाहक बस ३७, ट्रक र ट्यांकर २५, जीपकार २६, ट्याक्टर ३९ र अन्य १९ सवारी दुर्घटना भएका थिए ।

कारबाही संख्या घट्यो, राजश्व बढ्यो
क्षेत्रीय ट्राफिक कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि जरिवाना बढाएपछि कारबाही पर्ने सवारी साधनको संख्यामा कमी आएको छ ।
क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय अत्तरियाले दिएको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ भन्दा ०७३/७४ मा राजश्व बृद्धि भएको देखिएको छ ।
ट्राफिक कार्यालयको तथ्यांकअनुसार आर्थिक वर्ष २०७२/७३ मा ६१ हजार एक सय तीन सवारी साधन कारबाहीमा परेकोमा आर्थिक वर्ष २०७३/७४ मा ४७ हजार चार सय ३६ सवारी साधन कारबाहीमा परेका छन् ।
सो कार्यालयले आर्थिक वर्ष २०७२/७३ सवारी साधन कारबाहीबाट दुई करोड १३ लाख ८३ हजार ५० रुपैयाँ जरिवाना असुल गरेको थियो । त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा सवारी साधनमाथि गरिएको कारबाहीबाट दुई करोड ७५ लाख १३ हजार रुपैयाँ जरिवाना असुल भएको थियो ।
ट्राफिक प्रहरी कार्यालयले आर्थिक वर्ष २०७२/७३ जेठ १ गतेदेखि ट्राफिक नियम उल्लंघन गर्नेमाथि जरिवाना रकम बढाएको थियो ।
जरिवाना रकम बढाएसंगै नियम मिचेर सवारी चलाउनेको संख्या घटेको प्रहरीको भनाई रहेको छ ।
मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउने, लेन नियम पालना नगर्ने, नो पार्किङको नियम मिच्ने, गाडीको स्वरूप परिवर्तन गर्ने जस्ता काम गर्ने सवारी साधनलाई कारबाहीको दायरामा ल्याउने गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार