८ जेष्ठ २०८१, मंगलवार

रातिको समय खुल्दैन, अस्पतालको फार्मेसी



धनगढी । कैलाली, धनगढीमा रहेको सेती अञ्चल अस्पतालले सञ्चालन गरेको फार्मेसी रातिको समयमा बन्द हुने गरेको छ ।
अनुमोदन दैनिकले लगातार चार दिनसम्म अस्पतालको फार्मेसीको अवलोकन गर्ने क्रममा रातिको ८ बजेदेखि विहानको ७ बजेसम्म सो फार्मेसी बन्द हुने गरेको पाइएको छ ।
अस्पतालमा उपचारका लागि आउने बिरामीलाई सर्वसुलभ र सहज रूपमा औषधी उपलब्ध गराउने उद्देश्यले गत जेठदेखि फार्मेसी सञ्चालनमा ल्याइएको हो । तर, रातिको समयमा फार्मेसी बन्द हुने गरेकोले समस्या भोग्नु परेको बिरामी तथा तिनका कुरुवाले जनाएका छन् ।
अस्पतालमा उपचारका लागि भर्ना भएका बिरामी तथा तिनका आफन्तले रातिकोे समयमा अस्पतालको फार्मेसी बन्द हुने गरेका कारण निजी क्लिनिकबाट महँगोमा औषधी किन्नु परेको गुनासो गरे ।
अञ्चल अस्पतालले सञ्चालनमा ल्याएको फार्मेसीबाट विरामीहरूले निजी फार्मेसीको तुलनामा धेरै सस्तोमा औषधि पाइरहे पनि रातिको समयमा बन्द हुने गरेकोले निजी फार्मेसीबाट महँगो मूल्यमा औषधि किन्नु पर्ने बाध्यता रहेको छ ।
विरामीहरूलाई सरकारी फार्मेसीले निजी फार्मेसीको तुलनामा सात गुणासम्म सस्तोमा औषधि उपलब्ध गराउने गरेको छ । सरकारी अस्पताल आफैंले फार्मेसी सञ्चालन गर्दा निजी फार्मेसीले औषधि उपकरणमा दिने मूल्यभन्दा २० देखि ४० प्रतिशत कममा बिरामीले औषधि पाउने गरेका छन् ।
अञ्चल अस्पतालको फार्मेसीमा उपलब्ध औषधिको बजार मूल्य भन्दा निकै सस्तोमा बिक्री गर्ने गरेको छ ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट तथा फार्मेसीमा कार्यरत कर्मचारीलाई राति फार्मेसी किन बन्द हुन्छ ? भन्ने जिज्ञासामा उनीहरूको समान प्रतिक्रिया हुने गरेको छ– ‘जनशक्ति अभाव’ । अञ्चल अस्पतालले फार्मेसी सञ्चालन ल्याएको महिना दिन नबित्दै व्यवस्थापनमा ध्यान नदिएकोले निजी फार्मेसीबाट महंगो मूल्यमा औषधि किन्नु परिरहेको बिरामीहरूले गुनासो गरे ।
अञ्चल अस्पताल व्यवस्थापन समितिका पूर्व अध्यक्ष गोविन्द तिमिल्सेनाले निजी फार्मेसीहरूले सरकारी फार्मेसीमा बस्ने कर्मचारीलाई प्रलोभनमा पारि रातिको समयमा बन्द गराउन लगाउने गरेको आरोप लगाएका छन् । ‘अस्पतालको फार्मेसीले सस्तो र सर्वसुलभ तरिकाले औषधी विक्री गर्न लागेपछि निजी क्लिनिकको व्यापारमा घाटा भएको छ’ उनीसंग अनुमोदनले ‘के निजी क्लिनिकहरूले रातिको समयमा सरकारी फार्मेसी बन्द गराउँछन् ?’ भन्ने जिज्ञासामा उनको प्रतिक्रिया थियो ‘रातिको समयमा अस्पतालमा बढी विरामी आउने र क्लिनिकहरूबाट बढी औषधि विक्री हुने गरेकाले निजी क्लिनिकहरूले यस्तो गरेका हुन् ।
सेती अञ्चल अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डाक्टर अशोक श्रीपाईलीले भने अस्पतालसंग जनशक्ति नभएकाले रातिको समयमा फार्मेसी बन्द गर्नुपर्ने अवस्था रहेको प्रतिक्रिया दिए ।
फार्मेसी सञ्चालनमा ल्याएको केही दिन साताको सबै दिन चौबीसै घन्टा खुल्ने गरे पनि विस्तारै रातिको समयमा बन्द हुने क्रम शुरु भएको थियो । ‘फार्मेसीमा अहिले दुई जना कर्मचारी मात्र रहेका छन्’ अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर श्रीपाईलीले भने ‘अब एकहप्ताभित्रै रातिको समयमा पनि फार्मेसी सञ्चालन हुने छ ।’ उनले अस्पताल व्यवस्थापन समितिबाट फार्मेसीमा कर्मचारी थप्नका लागि पहल भईरहेको बताए ।
फार्मेसी सञ्चालनमा ल्याउने क्रममा जिल्ला जनस्वास्थ्य कार्यालय कैलालीले आफुहरूसंग जनशक्ति भएको र फार्मेसी सञ्चालनमा जनशक्ति अभाव हुन नदिने भनी एक कर्मचारी पठाएको कैलाली जनस्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईले बताए ।
उनले अहिले फार्मेसी सञ्चालनका लागि जनशक्ति अभाव भएको भन्ने अञ्चल अस्पतालबाट कुनै जानकारी नपाएको र अझै अस्पतालले माग गरेमा व्यवस्था गर्न सक्ने यस दैनिकसंगको टेलिफोन कुराकानीमा बताए ।
फार्मेसी सञ्चालनका लागि सरकारले १५ लाख रुपैयाँ अनुदान, सामाजिक स्वास्थ्य सुरक्षा विकास समितिको १० लाख र अस्पताल विकास समितिबाट २१ लाख रुपैयाँ प्रदान गरिएको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार