६ जेष्ठ २०८१, आईतवार

संसद् गतिरोध अन्त्य, आज प्रधानमन्त्री चुनिँदै



काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताहरूबीच संसद् गतिरोध अन्त्य गर्न सोमबार सहमति जुटेपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई मंगलबार प्रधानमन्त्री बन्ने बाटो खुलेको छ । सभामुख ओनसरी घर्तीको पहलमा सिंहदरबारस्थित उनकै कार्यकक्षमा भएको तीन दल बैठकमा सत्तापक्षले बाँकी निर्वाचन स्वतन्त्र र निष्पक्ष रूपमा तोकिएको समयमै गर्ने प्रतिबद्धता जनाउने र प्रमुख प्रतिपक्षी एमालेले संसद्मा जारी अवरोध अन्त्य गर्ने सहमति भएको हो ।
सत्तारूढ माओवादी केन्द्रका कार्यकर्ताले चितवनको भरतपुर महानगरपालिकाको मतगणना स्थलमा मतपत्र च्यातेको विरोधमा प्रमुख प्रतिपक्षी एमालेले गरेको संसद् अवरोधका कारण गत आइतबार प्रधानमन्त्री निर्वाचनको कार्यतालिका स्थगित भएको थियो ।
त्रिपक्षीय बैठकका लागि उपस्थित नेताहरूले सुरुमा दुईरदुई पक्षीय छलफल गरी सभामुखको कार्यकक्षमा निर्णायक छलफल गरेका थिए । कांग्रेस–एमाले, एमाले–माओवादी केन्द्र, कांग्रेस–माओवादी केन्द्रका नेताहरूबीचको दुई पक्षीय बैठकमा राजनीतिक गतिरोधको अन्त्य र आगामी निर्वाचनको सुनिश्चितताबारे चारबुँदे सहमतिको मस्यौदा तयार पारिएको थियो । दोस्रो चरणको त्रिपक्षीय छलफलमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले प्रस्तुत गरेको ४ बुँदे समझदारीलाई बैठकले अनुमोदन गरेको हो । समझदारीमा जेठ १४ का लागि घोषित स्थानीय तहको दोस्रो चरणको निर्वाचनको सुनिश्चितता, निर्वाचनलाई स्वच्छ, निष्पक्ष, धाँधलीरहित र शान्तिपूर्ण बनाउने, निर्वाचनको मर्यादाविपरीतका गतिविधि रोक्ने र माघ ७ को समयसीमाभित्र प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन गराउनेको प्रतिबद्धता समावेश छन् । नेताहरूले औपचारिक हस्ताक्षर नगरेको भद्र सहमतिको अन्तरवस्तुबारे तीन दलका नेताहरूले मंगलबार सदनलाई जानकारी गराउने छन् ।
सहमतिअनुसार प्रधानमन्त्री पुष्पकमल दाहाल, प्रमुख प्रतिपक्षी नेता केपी ओली र प्रधानमन्त्रीका प्रत्याशी देउवाले मंगलबारको पहिलो बैठकमा सम्बोधन गर्नेछन् । ‘नेताहरूले सदनलाई सम्बोधन गरी विगतका कमीकजोरी सच्याउने प्रतिबद्धता जनाउने सहमति भएको छ,’ बैठकपछि माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले भने ।
अवरोधका कारण बहुमतीय सरकार गठनका लागि राष्ट्रपतिबाट प्राप्त पत्र वाचन नहुँदै प्रधानमन्त्री निर्वाचनको कार्यतालिका सार्वजनिक गर्ने सभामुखको कदमप्रति प्रतिपक्षी एमाले रुष्ट थियो । अवरोधका बीच प्रकाशित सूचनाबारे आफूलाई जानकारी नभएको बताउँदै आएको प्रतिपक्षी एमाले त्रिपक्षीय छलफल र समझदारीपछि पूर्वघोषित निर्वाचन कार्यक्रमअनुसारै अघि बढ्न सहमत भएको हो । ‘हाम्रो मुख्य सरोकार निर्वाचनको सुनिश्चितता र निष्पक्षताको ग्यारेन्टी हो,’ एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘विगतको निर्वाचनमा भएका कमीकमजोरीलाई दोहोरिन नदिन प्रमुख दलका नेताहरूले संयुक्त रूपमा अपिल गर्दा एउटा वातावरण बन्छ ।’
तीन दलको सहमतिअनुसार मंगलबार संसदको पहिलो बैठकमा तीन दलका नेताहरूले सम्बोधन गरेपछि सभामुखले सरकार गठनसम्बन्धी राष्ट्रपतिको पत्र र निर्वाचन कार्यक्रमबारे जानकारी गराउनेछिन् भने दोस्रो बैठकमा प्रधानमन्त्रीको उम्मेदवारी प्रस्तावको जानकारी, संक्षिप्त छलफल र मतदान हुनेछ ।
संसदको नियमावलीअनुसार प्रधानमन्त्री पदका लागि एकमात्र उम्मेदवारी परेको अवस्थामा पनि निर्विरोध घोषणा हुँदैन । संसदको मंगलबार बस्ने दोस्रो बैठकमा सभामुख घर्तीले प्रधानमन्त्री निर्वाचनसम्बन्धी जानकारी गराएपछि देउवाको उम्मेदवारीको सूचना, प्रस्तावक, समर्थकले बोल्ने र प्रस्ताव निर्णायार्थ पेस हुनेछ । प्रस्तावलाई निर्णायार्थ पेस गर्दा हुने मत विभाजनमा संसद्मा तत्काल कायम रहेको कुल सदस्य संख्या ९५९३० को साधारण बहुमत ९२९७० प्राप्त गरेपछि देउवा प्रधानमन्त्री घोषित हुनेछन् । संसद्मा सत्तारूढ गठबन्धनको सहज बहुमत रहेकाले मंगलबार देउवा प्रधानमन्त्री घोषित हुने निश्चित भएको हो । पूर्वघोषित निर्वाचन कार्यक्रमअनुसार प्रधानमन्त्री पदमा उम्मेदवारी दर्ता नगराएको एमालेले प्रधानमन्त्री पदका एकमात्र प्रत्याशी देउवाको विपक्षमा मतदान गर्नेछ । सिंहदरबारको त्रिपक्षीय बैठकअघि ओली निवास बालकोट पुगेका कांग्रेस नेताहरूले संसदको गतिरोध र प्रमुख दलहरूबीचको तिक्तता अन्त्यका विषयमा छलफल गरेका थिए । चुनावको निष्पक्षतामाथि प्रश्न उठिरहेको उल्लेख गर्दै एमाले अध्यक्ष ओलीले भरतपुरमा सत्तापक्षबाट मतपत्र च्यातिएको विषयलाई गम्भीर रूपमा उठाएका थिए । ‘सत्ता र प्रतिपक्ष मिलेरै अघि बढ्नुपर्ने राष्ट्रिय आवश्यकताबारे कुराकानी भएको हो,’ भेटघाटमा सहभागी कांग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले भने । प्रदेशसभा र संघीय संसदको निर्वाचनका लागि प्रमुख दलहरू मिलेर जानुपर्ने उल्लेख गर्दै ओलीले निर्वाचनको सुनिश्चितता र निष्पक्षताबारे सत्तारूढ कांग्रेस–माओवादी केन्द्रको ध्यानाकर्षण गराएको कार्कीले बताए ।
सत्तापक्षीय दलहरू लोकतान्त्रिक पद्धति र प्रक्रियालाई नै अप्ठेरो पार्ने दिशामा रहेको भन्दै ओलीले असन्तुष्टि जनाएका थिए । ओलीसँगको भेटपछि सभामुखसहित तीन दलको बैठकले संसदको गतिरोध अन्त्य, प्रधानमन्त्री चयन र आगामी निर्वाचनको वातावरण सहज र सुनिश्चित गर्ने सहमति जुटाएको हो । उक्त बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति देउवासहितका नेताहरू उपस्थित भए पनि प्रमुख प्रतिपक्षी नेता ओली उपस्थित थिएनन् । बैठकमा एमालेका माधवकुमार नेपालसहितका नेता उपस्थित थिए ।

तीन दलबीच चारबुँदे प्रतिबद्धता
१. स्थानीय तहको दोस्रो चरणको निर्वाचन तोकिएको समयमै स्वतन्त्र, स्वच्छ र शान्तिपूर्ण रूपमा गराउने
२. पहिलो चरणको निर्वाचनसँग सम्बन्धित धाँधली र ज्यादतीका घटना दोहोरिन नदिने
३. २०७४ माघ ७ भित्र प्रदेशसभा र संघीय संसद्को निर्वाचन गराउने
४. आगामी निर्वाचनहरू स्वच्छ, निष्पक्ष, स्वतन्त्र र भयरहित रूपमा सम्पन्न गर्ने

(इकान्तिपुर)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार