१२ श्रावण २०८१, शनिबार

साहित्यिक, सांस्कृतिक देशदर्शन हुने



धनगढी । सुदूरपश्चिमाञ्चल साहित्य समाजले आगामी जेठ १५ देखि ३० गतेसम्म सुदूरपश्चिम साहित्यिक–सांस्कृतिक देशदर्शन अभियान सञ्चालन गर्ने भएको छ । सुदूरपश्चिमको भाषा, कला, संस्कृतिलाई देश र विदेशमा चिनाउने उद्देश्यले सो अभियान सञ्चालन गरिएको सुदूरपश्चिमाञ्चल साहित्य समाजका अध्यक्ष रामलाल जोशीले जानकारी दिए ।
‘काली र कर्णाली नेपाली भाषाको उद्गमस्थल हुँदाहुँदै पनि ओझेलमा परेको छ’ शनिवार साहित्य समाजमा आयोजित एक कार्यक्रममा अध्यक्ष जोशीले भने– ‘क्षेत्रको भाषा, कला, संस्कृतिको जर्गेना गर्न देशभरि मात्रै नभएर भारतको सिक्किम, दार्जिलिङ तथा आसाममा पनि पुग्ने छौँ ।’
देशदर्शन अभियानको पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा, पूर्व उपप्रधानमन्त्री भीम रावल र पूर्वमन्त्री लेखराज भट्टबाट संयुक्त रूपमा उद्घाटन गरिने बताए । धनगढीबाट सुरु हुने सो अभियान महाकालीमा पुगेर गाग्रीमा पानी भरेर देशका अन्य नदीमा पानी मिसाउँदै जाने कार्यक्रम रहेको बताइएको छ ।
देशदर्शन अभियानमा ४० जनाको सहभागिता हुनेछ । सो अभियानका लागि १२ देखि १५ लाख रुपैयाँ खर्च हुने जनाइएको छ । सो अभियानका लागि खर्च जुटाउन आगामी ३० गते धनगढीमा लोकगायक यज्ञराज उपाध्यायको एकल साँझ कार्यक्रमको आयोजना हुने अध्यक्ष जोशीले बताए ।
‘एकल साँझमा मेरो एकल प्रस्तुति रहने छ’ लोकगायक उपाध्यायले भने– ‘मैले सो कार्यक्रममा डेढ दर्जनजती गीत प्रस्तुत गर्नेछु ।’
एकल साँझबाट पाँच लाख रुपैयाँ आम्दानी हुने अपेंक्षा गरिएको छ । अभियानका लागि चाहिने बाँकी रकम सहयोगदाताबाट सङ्कलन गरिने बताइएको छ ।
यसै गरी, साहित्य समाजले सुदूरपश्चिम साहित्यिक संस्कृति देशदर्शन अभियान अन्तर्गत आगामी वैशाख २ गतेदेखि ४ गतेसम्म भारतको नालापानीमा साहित्यिक कार्यक्रम गर्ने भएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार