जोडीका कविता सार्वजनिक

काठमाडौं । कवि दम्पती तारक धिताल र दिना सुवेदी धितालको संयुक्त कवितासंग्रह ‘जोडीका कविता’ एक विशेष कार्यक्रमका बीच सार्वजनिक गरिएको छ । दाम्पत्य जीवनको तीन दशक पूरा भएको अवसरमा प्रकाशित यस कृतिमा दुवै सर्जकका समान ३०–३० कविता समेटिएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित अनौपचारिक समारोहमा कवि विमल निभा, अभिनेता मदनकृष्ण श्रेष्ठ, डा। सरोज धिताल, कथाकार राजव तथा कवि तारक र दिनासँगै उपस्थित सम्पूर्ण अतिथिहरूले सामूहिक रूपमा कृतिको लोकार्पण गरे ।
कार्यक्रममा बोल्दै कवि दम्पतीले आफ्ना अनुभूति र सिर्जनात्मक यात्राबारे विचार राखे । कवि दिना सुवेदी धितालले वैवाहिक जीवनको ३०औँ वर्षगाँठलाई स्मरणीय बनाउने उद्देश्यले केही फरक काम गर्ने सोचबाट यो कृति जन्मिएको बताइन् ।
कवि तारक धितालले विद्यार्थी जीवनदेखि नै कविता लेखनप्रति आकर्षण रहेको उल्लेख गर्दै आफ्नो साहित्यिक यात्रा र कृति प्रकाशनका अनुभव साझा गरे ।
कृतिमाथि टिप्पणी गर्दै साहित्यकार शार्दूल भट्टराईले कवि दम्पतीको संयुक्त कृति आफैंमा विशिष्ट उपलब्धि भएको बताए । उनले कवि दिनाका कवितामा सबल विषयवस्तु देखिने उल्लेख गरे भने कवि तारकका कविता राजनीति र समसामयिक यथार्थमा बढी केन्द्रित रहेको धारणा राखे । पुस्तकका कवितामा दुवै कविका भावना सशक्त रूपमा प्रतिबिम्बित भएको उनको भनाइ थियो ।
कार्यक्रममा अभिनेता मदनकृष्ण श्रेष्ठले कर्मशीलता र निरन्तर सिर्जनाको चर्चा गर्दै कवि दम्पतीलाई शुभकामना दिए । कवि धितालका दाजु डा। सरोज धितालले भाइ र बुहारीमा सानैदेखि काव्यचेत रहेको स्मरण गर्दै यसमा आमाको प्रेरणाको भूमिका रहेको बताए ।
समारोहमा डा। कुन्दन अर्याल र तारकका छोरा श्लोक धितालले पनि मन्तव्य राखे । सो अवसरमा साहित्यकार आत्माराम पुडासैनीले दुवै कविका एक–एक कविता वाचन गरे भने कवि दम्पतीले पनि आफ्ना कविता सुनाएका थिए ।




