१० श्रावण २०८१, बिहीबार

आसन्न स्थानीय निर्वाचन : दलहरूलाई उम्मेदवार छान्नै सकस, ठुला दलमा आकांक्षीको भीड



धनगढी । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा कैलालीमा पनि राजनीतिक दलहरूको गतिविधि तीव्र भएको छ । राजनीतिक दलहरू यति बेला नगरपालिका तथा गाउँपालिकाका प्रमुख र उपप्रमुख तथा वडाध्यक्ष र सदस्यहरूको छनोटमा व्यस्त रहेका छन् । खासगरी ठुला दलहरूमा आकांक्षीको सङ्ख्या धेरै देखिएकोले छनोट गर्न गाह्रो भइरहेको बताइन्छ ।
चुनावको सरगर्मी सबैतिर लागेको छ । कैलालीका सबै १३ स्थानीय तहमा प्रमुख, उपप्रमुख, वडाध्यक्ष तथा सदस्यहरूका आकांक्षीहरू आ–आफ्नो दावेदारी बलियो रहेकोबारे नेतृत्वलाई विश्वास दिलाउन हरसम्भव प्रयास गरिरहेका छन् ।
जिल्लाको सदरमुकाम समेत रहेको धनगढी उपमहानगरपालिका झन् बढी चर्चामा छ । सुदूरपश्चिम अथवा प्रदेश नम्बर ७ को केन्द्रका रूपमा रहेकोले पनि धनगढी उपमहानगरपालिकाको प्रमुख, उपप्रमुखमा कुन दलबाट कसले टिकट पाउला भन्ने सर्वत्र चासो र कौतूहल बढेको पाइन्छ ।
यो उपमहानगरपालिका कैलालीको अहिलेको संसदीय निर्वाचन क्षेत्र नम्बर ६ पनि हो । र, २०७० को संविधान सभामा नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा ठुलो मतअन्तरले विजयी भएको क्षेत्र पनि । त्यसैले पनि यो क्षेत्र (उपमहानगरपालिका) काँग्रेसका लागि प्रतिष्ठाको विषय पनि बनेको मानिन्छ ।
नेपालमा २० वर्षपछि स्थानीय निर्वाचन भइरहेको छ । यो अवधिमा मतदाताको सङ्ख्यामा निकै परिवर्तन आएको छ । अहिलेसम्म स्थानीय निर्वाचनमा मतदान नै गर्न नपाएका युवा मतदाताको सङ्ख्या निकै छ । त्यसै गरी, यो अवधिमा चुनावी नारा, प्रचार शैलीमा पनि परिवर्तन आएको छ । सूचना प्रविधिमा भएको प्रगतिसंगै चुनावी प्रचारप्रसारमा पनि त्यसको प्रभाव परेको छ । सामाजिक सञ्जालको बढ्दो प्रयोगका कारण अहिले कतिपयले यसै मार्फत आफ्नो दावेदारीको औचित्य प्रस्तुत गर्ने अभ्यास बढाएका छन् ।
धनगढी उपमहानगरपालिकामा नेपाली काँग्रेस र नेकपा एमालेबीच नै मुख्य प्रतिस्पर्धी हुने आम मतदाताको आँकलन छ । तर, नेकपा माओवादी केन्द्रलाई पनि कम आक्नुहुन्न भन्ने मत राख्नेहरू पनि भेटिन्छन् । त्यस्तै, साविक उर्मा गाउँ विकास समिति अहिले उपमहानगरपालिकामा गाभिएकाले राप्रपाले पनि राम्रै चुनौती दिनसक्छ भन्ने विश्लेषण पनि गर्ने गरिएको छ ।
साविक उर्मा र फुलबारी गाविस यो उपमहानगरपालिकामा गाभिनु अघि भएका दुई स्थानीय निर्वाचनमा एक पटक नेपाली काँग्रेस र अर्को पनि नेकपा (एमाले)ले प्रमुख र उपप्रमुखसहित बहुमत सिटमा जितेका थिए । २०४९ सालमा भएको पहिलो स्थानीय निर्वाचनमा काँग्रेसले नगर प्रमुख, उपप्रमुख सहित बहुमत सिट जितेको थियो भने २०५४ को निर्वाचनमा एमालेले जितेको थियो ।
उपमहानगरपालिकासहित जिल्लाका सबै १३ स्थानीय तहमा प्रमुख दलहरू सबैले उम्मेदवारी छनौट प्रक्रियालाई तीव्र बनाइरहेका छन् । काँग्रेसले वैशाख ७ गतेसम्म उम्मेदवारी चयन प्रक्रियालाई अन्तिम रूप दिने बताएको छ ।
धनगढी उपमहानगरपालिकाको मेयरमा नेपाली काँग्रेसका तर्फबाट नगर सभापति नृप वड र महाधिवेशन प्रतिनिधि कृष्ण महरा प्रमुख दावेदार रहेका छन् । त्यस्तै, पूर्व नगर प्रमुख किशोर बमकी पत्नी रीता भण्डारी बम, क्षेत्रीय सभापति हरिश खड्का, जिल्ला सदस्य केशव मिश्र, नेतृ सुशीला मिश्र (भट्ट) को पनि चर्चा रहेको छ ।
काँग्रेसबाट धनगढी उपमहानगरपालिकाको उपमेयरमा जीवन राना, गौरी लामा, जागृति बोगटी, पुष्पा भट्टले दावेदारी प्रस्तुत गरेका छन् ।
उपमहानगरपालिकाको मेयर पदका लागि नेकपा (एमाले)बाट पूर्व सभासद् नारदमुनि राना, जिल्ला सचिव रणबहादुर चन्द, प्रचारप्रसार विभाग सदस्य दुर्गाप्रसाद जोशी र केन्ऽीय सल्लाहकार दीपक देवकोटाको बढी चर्चा रहेको छ । त्यस्तै, पुराना नेता नन्दलाल जोशी र युवा जीवन बम पनि आकांक्षी देखिएका छन् । त्यस्तै, उपमेयरमा रुक्मणि देवकोटा, कलावति जोशी, छाया थापाको चर्चा रहेको छ ।
नेकपा माओवादी केन्द्रबाट धनगढी उपमहानगरपालिकाको मेयरका लागि केन्ऽीय सदस्य रामसमझ राना प्रमुख दावेदार देखिएका छन् । हुन त माओवादी केन्द्रका नगर अध्यक्ष निर्मल शाह, केन्ऽीय सदस्य राधाकृष्ण अधिकारी, केन्ऽीय सदस्य तिलकबहादुर सिंह लगायतको पनि चर्चा रहेको छ ।
त्यस्तै, रापप्राबाट गत संविधान सभा निर्वाचनमा राप्रपाबाट उम्मेदवार रहेका राजेश भण्डारी बलियो दावेदारका रूपमा देखिएका छन् । त्यस्तै, नगर अध्यक्ष रोम स्वाँर, पुष्कर भट्ट पनि आकांक्षी देखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार