१५ बैशाख २०८१, शनिबार

प्रेस स्वतन्त्रता संकुचित पार्ने प्रयास



असारको अन्तिम साता भौतिक आक्रमणमा परेका बाजुराका पत्रकार छक्क मल्ल यतिबेला उल्टै प्रहरी हिरासतमा रहेका छन् । बाजुराको बुढिनन्दा नगरपालिकाको पोरखेको ओरालोमा बाह्र दिनअघि दिउँसै एक समूहले पत्रकार मल्ल र उनीसंगै रहेका नगरपालिकाका कर्मचारीहरूमाथि सांघातिक आक्रमण गरेको घटनामा संलग्न दोषिमाथि कारबाही प्रक्रिया अघि बढिरहँदा अचानक उनीमाथि नै आरोप लगाएर प्रहरीमा मुद्दा दर्ता गरिएको छ । र, प्रहरीले सोही उजुरीलाई आधार बनाएर पत्रकार मल्ललाई थुनामा राखेको अवस्था छ । पत्रकार मल्ल र उनीसंगै रहेका सरकारी कर्मचारीमाथि भएको सांघातिक आक्रमणमा संलग्न रहेकामध्ये पाँच जनालाई प्रहरीले पक्राउ गरी कारबाही प्रक्रिया अघि बढाएको सात दिनपछि उल्टै उनी विरुद्ध ‘महिलामाथि दुव्र्यवहार गरेको’ आरोप लगाएर उजुरी दर्ता गरिएको छ । यसले घटनालाई नाटकीय मोड दिएको सहजै अनुमान गर्न सकिन्छ । पत्रकार मल्लमाथिको आक्रमणको घटनामा संलग्न रहेकाहरूमाथि कानुनी कारबाही प्रक्रिया अघि बढिरहँदा त्यसलाई अर्कै रूप दिने प्रयासस्वरूप उनीमाथि नै आरोप लगाएर मुद्दा दायर गरिएको छ भन्ने विश्लेषण तर्कपूर्ण छ भन्नेमा विमति नरहला । वास्तवमा बाजुरामा केही सातायता केही दलबाट दलगत राजनीतिक प्रतिशोधको गन्ध आइरहेको महसुस गरिएको छ । स्थानीय निर्वाचनमा जीतहारको परिणामलाई स्वीकार गर्न नसक्नेहरूबाट यस्ता घटना दोहोर्‍याइएको हो भन्नेमा पनि विमति नरहला ।
मुख्य सवाल पत्रकारको भौतिक सुरक्षाको हो र पत्रकार मल्लमाथि आक्रमण भएको घटनामा संलग्न भएकाहरूमाथि कानुनी कारबाहीको हो । आक्रमणकारीलाई कानुनी कारबाहीको दायरामा ल्याइँदै गर्दा त्यसलाई चुनौति दिनका लागि मात्रै अर्को घटनाको तारतम्य मिलाइएको होइन भने घटनाको सात दिनपछि मात्रै किन उजुरी दर्ता गरियो भन्ने प्रश्नको चित्तबुझ्दो उत्तर आउनु जरुरी छ । हो, गलत काम गर्ने जोकोही पनि कानुनी कारबाहीका दायरामा आउनै पर्दछ । कोही पनि कानुनभन्दा माथि हुँदैन र कसैलाई पनि गलत काम गर्ने छुट पनि हुँदैन । तर, पत्रकार मल्ल र कर्मचारीहरूमाथि भएको आक्रमण र त्यसको सात दिनपछि उनीमाथि नै उल्टै आरोप लगाएर मुद्दा चलाइएको प्रकरण निश्चय पनि विरोधाभाषपूर्ण देखिन्छ । यो सम्पूर्ण प्रकरणमा कतै पत्रकारमाथि आक्रमण गर्नेहरूमाथि भइरहेको कानुनी कारबाही फिर्ता गराउनका लागि मात्रै ‘बार्गेनिङ’ का रूपमा अर्को मुद्दा बनाइएको त होइन भन्ने शंका उठेको छ र यस्तो शंका स्वाभाविक पनि हो ।
नेपाल पत्रकार महासंघले पत्रकार मल्लमाथि भएको आक्रमण तथा पक्राउ गरिएको घटनाको सत्यतथ्य छानबिनका लागि मिसन खटाएको छ । र, यो मिसनले गर्ने छानबिन निष्पक्ष र स्वतन्त्र तथा कुनै पनि दलगत प्रभावबाट मुक्त हुने छ भन्ने विश्वास गर्न सकिन्छ । पत्रकार मल्लमाथि भएको आक्रमणमा संलग्न रहेकाहरूलाई कुनै पनि नाममा उन्मुक्ति दिनु भनेको स्वतन्त्र पत्रकारितामाथि नै प्रहारको निरन्तरता दिनु हुने छ भन्नेमा सञ्चार क्षेत्र, पत्रकार महासंघ, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताका पक्षधर, अधिकारकर्मी, न्यायिक क्षेत्र सबै संवेदनशील हुनु नै पर्दछ । त्यसै पनि विभिन्न नाममा पटकपटक स्वतन्त्र पत्रकारितामाथि अंकुश लगाउने खालका गतिविधि हुने गरेका छन् । बाजुरामा भएको यो पछिल्लो घटना पनि स्वतन्त्र प्रेसको भूमिकालाई संकुचित पार्नखोज्ने मानसिकता भएकाहरूको दुस्प्रयास हो भन्दा अत्युक्ति हुनेछैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार