१४ बैशाख २०८१, शुक्रबार

विश्व औंलो दिवस विभिन्न कार्यक्रमसहित मनाइयो



धनगढी । विश्व औंलो दिवसको अवसरमा मङ्गलवार कैलालीमा विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना भएका छन् ।
‘सदाका लागि औंलोको अन्त्य गरौँ’ भन्ने नाराका साथ जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीले औंलोको उच्च जोखिममा रहेको जिल्लाको साविक गोदावरी गाविसमा जनचेतनामूलक कार्यक्रम आयोजना गरेको थियो ।
सो अवसरमा गोदावरी स्वास्थ्य चौकीदेखि र्‍याली निकालिएको थियो । र्‍यालीमा महिला स्वास्थ्य स्वयंसेविका, आमा समूह, सरकारी कर्मचारी, सुरक्षाकर्मी, स्थानीयको सहभागिता रहेको थियो ।
र्‍याली समापनका अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय, कैलालीका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागार्इंले कैलाली जिल्लामा कुल औंलोका बिरामीमध्ये साविक गोदावरी गाविसमा सबैभन्दा बढी रोगी फेला पर्ने गरेको बताए । उनले चालू आर्थिक वर्षको चैत्रसम्ममा गोदावरीमा ८५ जना औलोका बिरामी फेला परेको बताए ।
कैलाली जिल्लामा चालू आर्थिक वर्षको चैतसम्ममा एक सय ९० औंलोका नयाँ बिरामी फेला परेका छन् । कैलालीमा कुल जनसङ्ख्याको २९ प्रतिशतमा औंलोको प्रभाव रहेको बताइन्छ ।
वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाईंंका अनुसार कैलालीका १२ गाविस औंलोको उच्च जोखिममा रहेका छन् भने १४ गाविस मध्यम जोखिममा छन् । त्यस्तै, २६ वडा उच्च र ७५ वडा मध्यम जोखिममा रहेका छन् ।
उनले गोदावरीमा स्थानीय औंलोभन्दा आयातित औंलोका बिरामीको सङ्ख्यामा वृद्धि भइरहेको पाइएको बताए ।
कैलालीमा आर्थिक वर्ष ०७०/७१ मा ४६ प्रतिशत, ०७१/७२ मा ४९ र ०७२/७३ मा ५५ प्रतिशत रहेको छ । जिल्लामा क्रमशः: ५४, ५१ र ४५ प्रतिशत स्थानीय औंलोको बिरामी रहेका छन् । प्रदेश नम्बर ७ (सुदूरपश्चिमाञ्चल) को कैलाली, कञ्चनपुर, डडेल्धुरा र बैतडी औंलोको उच्च जोखिममा छ ।
सरकारले औंलो कार्यक्रमको रणनीतिक योजना सन् २०१४–२०२५ अनुसार सन् २०२६ भित्रै राष्ट्रलाई औंलो उन्मुलन क्षेत्र घोषणा गर्ने रणनीति तयार पारिसकेको उनले बताए । सरकारले रणनीतिअनुसार औंलो प्रभावित क्षेत्रलाई सन् २०१८ भित्र शून्यमा झार्ने लक्ष्य लिएको छ ।
औंलो निवारण लागि विश्व स्वास्थ्य सङ्गठनले प्रमाणित गरेको कीटनाशक विषादियुक्त झुल नि:शुल्क वितरण, कीटनाशक विषादि छिड्काउ, जनपरिचालन, गुणस्तरीय प्रयोगशाला, औंलो निदान गर्ने शीघ्र निदानका सामग्रीहरू, गुणस्तरीय औषधिहरू, औंलो रोगीको खोज पड्ताल र औंलो रोगीको व्यवस्थापन यो रणनीतिका आधारभूत कुराहरू रहेको वरिष्ठ जनस्वास्थ्य प्रशासक टंक चापागाईंले बताए ।
देशको सम्पूर्ण भागमा ‘कोआर्टीम’ नामक औंलोको औषधि वितरण र यसको अनुगमन, विषादियुक्त झुल वितरणमा निरन्तरता, नेपाल भारत बिचको खुला सिमाना र बढी आयातित औंलो बिरामीहरू बढ्दै जानु, औषधिको प्रतिरोध क्षमतामा बृद्घि, शुक्ष्मदर्शक यन्त्रको भन्दा औंलोको शीघ्र परीक्षण सामग्रीको प्रयोग बढी र आवश्यक कानुन, समन्वय तथा जनसहभागीताको अभाव आदि मुख्य चुनौती रहेको उनले बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार