धनगढीमा नमुना विद्यालयका शिक्षकहरूको तालिम सुरू
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/04/4efd097d-6a80-44a3-852b-a053db12a669-768x512.jpg?resize=720%2C480&ssl=1)
धनगढी/ धनगढी उपमहानगरपालिकाले नमुना घोषणा गरेका विद्यालयका शिक्षकहरूको तालिम सुरू भएको छ। सोमवारबाट शिक्षकहरूको पाँच दिने तालिम सुरू भएको हो।
काठमाडौं विश्वविद्यालयको ट्रेनिङ अफ स्कुलले धनगढीका ८७ जना शिक्षक-शिक्षिकाहरूलाई तालिम दिने छ। डाक्टर पार्वती ढुङ्गानाको संयोजकत्वमा आएको चार जनाको विज्ञ टोलीले शिक्षकहरूको पेशागत क्षमता बढाउन तालिम दिनेछन्।
पाँच दिनसम्म हुने तालिममा शिक्षण सिकाइ क्रियाकलाप, शैक्षिक सामग्री निर्माण र अङ्ग्रेजी भाषा शिक्षण सम्बन्धी तालिम प्रदान गरिने नगर प्रमुखको सचिवालय प्रमुख कृपाराम उपाध्यायले बताए। पाँच दिन चल्ने तालिममा पाँच वटा नमुना विद्यालयका शिक्षक-शिक्षिकाका अलावा अन्य विद्यालयका बालविकास सहजकर्ताहरूको पनि सहभागिता रहेको छ।
पाँच दिने तालिममा सहभागी शिक्षक-शिक्षिकाहरूलाई तीन समूहमा विभाजन गरेर प्रशिक्षण दिने काम भइरहेको सचिवालय प्रमुख उपाध्यायले बताए। बालविकासदेखि कक्षा ३ सम्मको एउटा समूह, कक्षा ४-७ सम्मा अर्को र कक्षा ८-१२ सम्मको तेस्रो समूह निर्माण गरेर प्रशिक्षण दिने काम भइरहेको उपाध्यायले बताए।
तालिम पश्चात् प्रभावकारी ढङ्गले शिक्षण सिकाइ क्रियाकलाप सञ्चालन गर्न, स्थानीय स्रोत साधनवाट शैक्षिक सामग्री निर्माण गर्न र अङ्ग्रेजी विषय शिक्षण गर्न शिक्षकहरूलाई थप सीप र क्षमता हासिल हुने विश्वास गरिएको छ।
![](https://i0.wp.com/anumodankhabar.com/wp-content/uploads/2024/04/469363c9-9bee-42ff-b318-128485a78bf9-768x512.jpg?resize=720%2C480&ssl=1)