१५ बैशाख २०८१, शनिबार

धनगढीका मेयर हमाललाई धम्की दिएका युवकद्धारा उपमहानगरपालिका भित्रै विषादी सेवन



धनगढी / धनगढी उपमहानगरपालिका ेमेयर गोपाल हमाललाई ह्वाटसपमा फोन गरेर ज्यान मार्ने धम्की दिएका एक युवकले उपमहानगर कार्यालय परिसरमैविषादी सेवन गरेका छन् ।

मंगलबार बिहान करीब साढे १० बजेको समयमा उपमहानगरपालिका कार्यालयमा धनगढी उपमहानगरपालिका–६ मट्यारीका गणेश रानाले विषादी सेवन गरेका हुन् । नगरपालिका परिसरमा विषादी सेवन गरेको अवस्थामा भेटिएपछि नगर प्रहरीले उद्दार गरेर सेती प्रादेशिक अस्पताल पुगाएका थिए ।

उपमहानगरपालिकाका सूचना अधिकारी सुरेन्द्र कार्कीले विषादी सेवन गरिरहेको अवस्थामा भेटिएका रानालाई नगर प्रहरीले तत्काल उद्दार गरेको जानकारी दिए ।

अहिले उनको सेती प्रादेशिक अस्पतालको सघन उपचार कक्ष (आईसीयू) मा राखेर उपचार भइरहेको छ । प्रादेशिक अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर शेरबहादुर कमरले रानाको अवस्था गम्भीर र स्थिर रहेका बताए ।

‘विषादी सेवन गरेका केस जटिल नै हुन्छ नै रानाको अवस्था पनि गम्भीर छ, कमरले भने, आईसीयूमा राखेर उपचार भइरहेको छ । रानाले आफूलाई वाट्सअप मार्फत धम्की दिएको भन्दै सोमबार धनगढी उपमहानगरपालिकाका मेयर गोपाल हमालले जिल्ला प्रशासन कार्यालयमा सुरक्षाको माग गर्दै निवेदन दिएका थिए ।

प्रशासनले जिल्ला प्रहरी कार्यालयलाई आवश्यक कारवाहीका लागि पठाएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दकाअनुसार रानाले आफू छलफलका लागि आउने बताएका थिए । तर मंगलबार बिहान उपमहानगरपालिका कार्यालयमा देखिएका रानाले एकाएक विषादी सेवन गरेका थिए ।

रानाका बुवा रामदयाल रानाले छोरालाई मंगलबार बिहान नगर प्रहरीले नियन्त्रणमा लिएर उपमहानगरपालिका लगेको बताएका छन् । बिहान ८ बजे घरमा पुगेका नगर प्रहरीले तपाईको छोरालाई हामी लग्दैछौँ भनेको थियो । घरबाट राम्रै पठाएको थिए । नगर प्रहरीले समातेर लगेको हो,’ रानाले भने, अहिले विषादी सेवन गरेर अस्पतालमा पुगाइएको छ । उहाँहरुमाथि शंका छ ।

तर नगर प्रहरीले भने रानालाई नियन्त्रणमा नलिएको दाबी गरेको छ । धनगढी नगर प्रहरीका इन्चार्ज प्रहरी निरीक्षक भुपेन्द्र खड्काले रानालाई नियन्त्रणमा लिएको कुरामा सत्यता नभएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार