६ चैत्र २०८०, मंगलवार

नेकपा बैतडीको नेतृत्व पालले समाल्ने



नरी बडु/बैतडी । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले सबै जिल्लाका पार्टी अध्यक्षहरुकोे टुङ्गो लगाएसंगै नेकपा बैतडीको नेतृत्व सुरेन्द्र पालले समाल्ने भएका छन् ।


नेकपाले बैतडी जिल्लाको अध्यक्षमा तत्कालिन एमालेका जिल्ला अध्यक्ष सुरेन्द्र पाल र सचिवमा तत्कालिन माओवादी केन्द्रका संयोजक तथा बैतडी ‘क’ बाट प्रदेश सभा सदस्यमा निर्वाचित प्रेमप्रकाश भट्ट (आदित्य) लाई चयन गरेको हो ।
नेकपा बैतडीले जिल्ला सचिवका लागि माओवादी केन्द्रका रमे चन्दको नाम सिफारिस गरेको भएपनि नेकपाको केन्द्रिय कमिटीले तत्कालिन एमाले र माओवादी केन्द्रमा अध्यक्ष रहेका मध्ये एकलाई अध्यक्ष र अर्कालाई सचिवको जिम्मेवारी दिने निर्णय गरेपछि सांसद् भट्टले सचिवको पद जिम्मेवारी पाएका हुन् ।

को हुन पाल ?

२०२८ साल चैत्र १२ गते डिलाशैनी गाउँपालिका–३ पंसेरामा जन्मिएका सुरेन्द्र पाल (नेकपा जिल्ला अध्यक्ष) ले २०४८ सालदेखि आधिकारिक रुपमा पार्टीको राजनीति सुरु गरे । राजनीति गर्नु भन्दा पहिलेदेखि कम्युनिष्ट बिचारधाराका पालले पार्टी राजनीति सुरु गरेको छ वर्षमै (२०५४ मा) तत्कालिन रुद्रेश्वर गाविस अध्यक्षमा निर्वाचित भए । २०५८ सालमा नेकपा एमालेको जिल्ला कमिटी सदस्य निर्वाचित पाल ०६१ मा सचिवालय सदस्य र ०६६ मा पार्टी सदिव हुदै २०७१ मा कार्यबाहक अध्यक्षबाटै पार्टी अध्यक्षको जिम्मेवारी सम्हालेका हुन् । ०७४ मा भएको प्रदेश सभाका लागि प्रदेश निर्वाचन क्षेत्र ‘क’ बाट सर्वसम्मत सिफरिस भएका पालले चुनावमा माओवादीसंगको गठबन्धनका कारण ‘क’ क्षेत्र माओवादी केन्द्रको भागमा परेपछि आधिकारिक उमेद्वारलाई नै सहयोग गरे । पाल बैतडीमा नेकपाका प्रभावशाली नेताको रुपमा चिनिदै आएका छन् ।

को हुन प्रेमप्रकाश भट्ट (आदित्य)

२०३९ जेठ २६ गते सुर्नया गाउँपालिका–३ भौनेलीमा जन्मिएका नेकपा जिल्ला सचिव प्रेमप्रकास भट्ट (आदित्य) ले २०५६ सालमा भारतको पिथौरागढस्थित अभानेस्ववियुको इकाई कमिटी सचिवबाट राजनीतिक यात्रा सुरु गरे ।
उनको उच्च शिक्षा भारतको पिथौरागडमा भएकाले उनले त्यहीबाट राजनीतिक यात्रा सुरु गर्नुभएको हो । २०५७ सालमा पिथौरागडको जिल्ला कमिटी उपाध्यक्ष बनेका उनले २०५८ सालमा नेपालमा आई नेकपा माओबादी जिल्ला कार्यालय सेक्रेटरी हुदै नेपाली राजनीतिमा प्रत्यक्ष भुमिका निर्वाह गरे । २०५९ सालमा नेकपा माओबादीको जिल्ला कमिटी सदस्य भएका आदित्यले २०५९ सालमै वाईसीएलको जिल्ला अध्यक्षको जिम्मेवारी सम्हाले ।
२०६० सालमा नेकपा माओबादीको जिल्ला सचिवालय सदस्य भएका उनले ०६१ सालमा जिल्ला जनसरकारको उपप्रमुखको जिम्मेवारी पाए । ०६२ सालमा माओबादी सैन्य कमिसार भएका उनले ०६४ सालमा नेकपा माओबादी तथा एकीकृत माओबादी जिल्ला सेक्रेटरी बने । ०७१ सालमा नेकपा माओबादी जिल्ला ईन्चार्जको जिम्मेवारी समालेका आदित्यले ०७२ मा पार्टी केन्द्रिय सदस्यको जिम्मेवारी सम्हाले । ०७३ सालदेखि माओबादी केन्द्रको जिल्ला संयोजक भएका उनले ०७४ सालमा भएको प्रदेश सभा निर्वाचनमा बैतडी ‘क’ बाट नेपाली काग्रेसका उमेदवारलाई हराउदै सुदूरपश्चिम प्रदेश सभा सदस्यमा बिजयी भए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार