१५ बैशाख २०८१, शनिबार

हतियार बुझाउन प्रशासनले गरेको आग्रहको बेवास्ता



धनगढी । आसन्न स्थानीय तहको निर्वाचन भयरहीत वातावरणमा पुरा गर्न स्थानीय प्रशासनले एक महिनाअघि व्यक्तिगत हातहतियार बुझाउन गरेको आह्वानप्रति अधिकांशले वास्ता गरेका छैनन् ।
प्रदेश नम्बर ७ का सबै नौ जिल्ला प्रशासन कार्यालयले आसन्न स्थानीय तह निर्वाचनलाई दृष्टिगत गरी एक महिना अघि नै सार्वजनिक सूचना जारी गर्दै आम नागरिकलाई आफूसँग वैधानिक (लाइसेन्स भएका) बन्दुक प्रशासनमा बुझाउन आह्वान गरेको थियो ।
तर, अहिलेसम्म प्रदेश नम्बर ७ का सबै नौ जिल्लाका प्रशासन तथा प्रहरी कार्यालयहरूमा गरी करिब डेढ सय हतियार मात्र जम्मा भएका छन् । प्रदेश नम्बर ७ का नौ जिल्लामा गरी व्यक्तिगत रूपमा एक हजार नौ सय ४७ हातहतियार रहेका छन् ।
स्थानीय प्रशासनले स्थानीय निर्वाचनलाई लक्षित गरी गत चैत ४ गते अनुमतिप्राप्त सबै हातहतियार बुझाउन आग्रह गरेको थियो । प्रशासनको आग्रह पछि ७ नम्बर प्रदेश (सुदूरपश्चिम) मा शनिवारसम्म एक सय ५४ हातहतियार बुझाइएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासन कार्यालय डोटीले जनाएको छ ।
वैशाख ३१ गते स्थानीय तहको निर्वाचन हुने भएपछि प्रशासनले निर्वाचनलाई मर्यादित, भयरहित र शान्त वातावरणमा गराउनका लागि सम्बन्ध पक्षलाई निजी हातहतियार बुझाउन आह्वान गरिएको सुदूरपश्चिमाञ्चल क्षेत्रीय प्रशासक शिशिरकुमार ढुंगानाले बताए ।
क्षेत्रीय प्रशासक ढुंगानाले बैतडीमा अनुमतिप्राप्त ३७ हतियार रहेकोमा सबै प्रहरी कार्यालयमा बुझाइएको छ । त्यस्तै, बाजुरामा ३०, डोटीमा १६, अछाममा तीन, दार्चुलामा ६७ तथा कैलाली र कञ्चनपुरमा एक/एक जनाले हतियार बुझाएका छन् ।
बझाङ र डडेल्धुरामा हालसम्म एक जनाले पनि हतियार बुझाएको छैन । बझाङमा तीन थान तथा डडेल्धुरामा बाह्रबोर ८३ थान, बाइसबोर १० थान र नौ सय ३७ भरुवा बन्दुक गरी एक हजार ३० थान निजी हतियार प्रशासनबाट अनुमति प्राप्त रहेका छन् ।
यसै गरी, कैलालीमा एक नाले बन्दुक, सर्टगन, सामान्य घरायसी बन्दुक, पिस्तोल लगायत गरी चार सय ७९ थान, कञ्चनपुरमा दुई सय ४२ थान, दार्चुलामा ७५ थान, बैतडीमा ३७ थान, बाजुरामा ५३ थान, अछाममा १३ थान र डोटीमा १५ थान सर्बसाधरणसाग प्रशासनको अनुमति प्राप्त हतियार रहेको क्षेत्रीय प्रशासक ढुंगानाले जानकारी दिए ।
स्थानीय प्रशासनले कानुन बमोजिम अनुमति लिएर राखेका हातहतियारहरू आगामी वैशाख ७ गतेसम्म नजिकको प्रहरी कार्यालयमा बुझाउन अनुरोध गरेको छ । यदि सो समयसिमाभित्र नबुझाइएमा हतियार राखेकाको तथ्याङ्क लिएर घरभित्र खानतलासी गरी कानुन बमोजिम कारबाही गरिने क्षेत्रीय प्रशासक ढुंगानाले बताए ।
क्षेत्रीय प्रशासक ढुंगानाले सुरक्षाकर्मी, कानुनबमोजिम लिन पाउने हातहतियार बाहेक अरू कोही कसैले कुनै पनि प्रकारको विष्फोटक पदार्थ वा रासायनिक वा विषालु पदार्थ वा लाठी, भाला, खुकुरी, बन्दुक, हसियाँ, पिस्तोल वा त्यस्तै प्रकारका अन्य हातहतियार लिएर हिड्न, प्रदर्शन गर्न, प्रयोग गर्न वा गराउन पूर्णतया निषेध गरिनुका साथै निर्वाचन अवधिभर मदिरा तथा मदिराजन्य पदार्थको उत्पादन तथा विक्री वितरण कार्यमा पनि पूर्ण बन्देज लगाइएको बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार