१५ बैशाख २०८१, शनिबार

ओलीले भन्दैमा गोदावरीमा प्रदेश राजधानी हुँदैन : पूर्वप्रधानमन्त्री देउवा



धनगढी । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गोदावरी–२ र ४ मा पर्ने वनमा सुदूरपश्चिम प्रदेशको राजधानी बन्न नसक्ने बताएका छन् ।


प्रेस कैलालीले बिहिबार धनगढी विमानस्थलमा आयोजना गरेको पत्रकार सम्मेलनमा पूर्वप्रधानमन्त्री देउवाले प्रधानमन्त्री केपी शर्माओलीले उपयुक्त भन्दैमा गोदावरीमा राजधानी नबन्ने बताएका हुन् । उनले खाली ठाउँ नरहेको र वन क्षेत्र रहेको हुनाले गोदावरीमा प्रदेशको राजधानी बनाउन नहुने बताए । उनले धनगढीमा सबै संरचना रहेको र नयाँ बनाउन आवश्यक नरहेकोले धनगढी नै राजधानी रहने बताए । उनले सबै संरचना भएकै कारण आफूले धनगढीलाई सुदूरपश्चिमको राजधानी धनगढी तोकेको बताए ।
उनले नयाँ बनाउने र पैसाको चलखेल गर्ने उद्देश्यले गोदावरीमा राजधानी सार्ने प्रयास गरिएको बताए । सडक पनि बनाउन नसकेको बताउँदै उनले राजधानी बनाउने पैसाले अरु विकासको काम गर्न सकिने बताए ।

पूर्वप्रधानमन्त्री देउवाले सरकारले एक वर्षमा कुनै काम नगरेको बताए । उनले देख्न लायकको एउटा पनि काम नगरेको भन्दै सरकार फेल भइसकेको टिप्पणी गरे । उनले सरकारले संघीयताको मर्म अनुसार काम नगरेको हुनाले संघीयता पनि कमजोर भएको बताए । सरकारले काम नगरेकै कारणले जनता पनि असन्तुष्ट भएको र संघीयताको अनुभूति जनताले गर्न नपाएको बताए । उनले संघीय सरकारले सबै अधिकार केन्द्रमै राखेको र प्रदेश र स्थानीय तहलाई नदिएको बताए । उनले स्थानीय र प्रदेश सरकारलाई केन्द्रले कर्मचारी समेत नदिएर संघीयता विरुद्ध काम गरेको आरोप लगाए ।
उनले गौरीफन्टा नाकाको स्तरोन्तीका लागि भारतसंग कुरा पनि सरकारले नगरेको बताए । उनले नेपाली कांग्रेसको जनवर्गीय संगठनको अधिवेशन सहमतिमै हुने बताए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार