१५ बैशाख २०८१, शनिबार

स्वास्थ्य सेवा सुधार पहिलो प्राथमकिता : मन्त्री सुवेदी



धनगढी । सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री कृष्णराज सुवेदीले स्वास्थ्य सेवा सुधारलाई पहिलो प्राथमिकतामा राखेर स्वास्थ्य सेवाका कार्यक्रम अघि बढाइएको बताएका छन् ।


‘मन्त्रालयले स्वास्थ्य सेवा सुधारका कार्यक्रम प्रभावकारी ढंगले सञ्चालन गरिरहेको छ’ बुधबार स्वास्थ्य निर्देशनालयले धनगढीमा आयोजना गरेको राष्ट्रिय स्वास्थ्य दिवसको अवसरमा सञ्चारकर्मीसंग अभिमुखीकरण कार्यक्रममा सामाजिक विकास मन्त्री सुवेदीले भने– स्वास्थ्य सेवा निकै संवेदनशिल विषय भएकाले मन्त्रालयले कुनै पनि कार्यक्रम भोली गरौला भनेर रोक्ने पक्षमा छैन । उनले आम नागरिकको स्वास्थ्य सेवामा पहु“च सहज बनाउने गरि मन्त्रालयले काम गरिरहेको बताए ।
‘विगतमा सुदूरपश्चिम उपेक्षित भयो, तर अब यो प्रदेश स्वास्थ्य सेवाको क्षेत्रमा अन्य प्रदेश भन्दा अब्बल बन्ने छ’ मन्त्री सुवेदीले भने– यसका लागि सरोकारवाला पक्ष, स्वास्थ्यकर्मी तथा कर्मचारीहरुले ईमान्दारिकता साथ काम गर्नु जरुरी छ ।
मन्त्री सुवेदीले प्रदेश मन्त्रालयले अहिले दुर्गम जिल्लामा स्वास्थ्य शिविर आयोजना गरिरहेको बताए । उनका अनुसार मन्त्रालयले अहिलेसम्म कैलालीको चुरे, डोटीको जोरायल, अछामको रामारोशन र बझाङको तलकोटमा स्वास्थ्य शिविर सञ्चालन गरिसकेको र आज बिहिबारदेखि बाजुरा, बैतडी र दार्चुलामा शिविर सञ्चालन गरिने बताए ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश अध्यक्ष अर्जुनबहादुर शाहले यस प्रदेशको स्वास्थ्य क्षेत्रको सुधारमा सञ्चार माध्यमले हरेक तरहले सहयोग पु¥याउने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महानिर्देशक डाक्टर गुणराज अवस्थीले संघीय सरकारका असहयोगका कारण आमा सुरक्षा लगायतका कार्यक्रम सञ्चालनमा केही कठिनाई भईरहेको गुनासो गरे । प्रदेश स्वास्थ्य महानिर्देशक डाक्टर अवस्थीका अनुसार संघीय सरकारले आमा सुरक्षा कार्यक्रम अन्तर्गतको १२ करोड ४४ लाख रुपैया अझै पनि निकासा नगरेको गुनासो गरे ।
प्रदेश स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीको अध्यक्षतामा कार्यक्रम भएको थियो ।
सो अवसरमा मन्त्री सुवेदीले हात्तीपाईले रोग विरुद्धको औषधी सेवन अभियानको शुभारम्भ गरे । उनले औषधी सेवन गरेर अभियानको शुभारम्भ भएको जानकारी दिएका थिए । मन्त्री सुवेदीसंगै स्वास्थ्यकर्मी तथा सञ्चारकर्मीहरुले पनि हात्तीपाईले रोग विरुद्धको औषधी सेवन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार