१४ बैशाख २०८१, शुक्रबार

टेलिकमले सुदूरपश्चिममा छिट्टै फोरजि सेवा दिने, वार्षिकोत्सव प्याकेज घोषणा



धनगढी । नेपाल टेलिकमले सुदूरपश्चिम प्रदेशमा पनि छिट्टै फोरजि सेवा दिने भएको छ । टेलिकमको १५ औं वार्षिकोत्सवको अवसरमा धनगढीमा आयोजित समारोहमा टेलिकमले सुदूरपश्चिममा एक वर्षभित्रै फोरजि नेटवर्क जडान गर्ने जनाएको हो ।


टेलिकमका बरिष्ठ ईञ्जिनियर जगदिश लेखकले टेलिकमले फोरजि नेटवर्क जोड्ने काम प्रारम्भ गरिसकेको बताए । उनले सुदूरपश्चिमका सबै जिल्लामा एडिएसएलको गुणस्तर बृद्धिका लागि पहाडी जिल्लामा उच्च क्षमताको रेडियो र धनगढीदेखि अत्तरियासम्म वन जि रेडियो र एडिएसएल लिंक जडान भएको बताए ।
उनले धनगढीमा ११ वटा एफटिटिएच प्रविधि जडान भइरहेको र धनगढीको क्याम्पस रोडमा यो प्रविधिबाट सेवा सञ्चालन भइसकेको बताए । उनले धनगढीमा यो प्रविधिबाट सेवा दिदा जतिसुकै टाढा भएपनि एडिएसएलको स्पिड कायम रहने र एडिएसएलको जडान गर्नका लागि धनगढीमा पोर्टको कमी नहुने बताए ।
टेलिकमले नयाँ प्रविधिको प्रयोगले सुदूरपश्चिममा एडिएसएलका साथै सबै सेवाको गुणस्तर बढेको दावी गरेको छ ।
टेलिकमले १५ औं वार्षिकोत्सवको अवसरमा आफ्ना ग्राहकहरुका लागि विभिन्न सेवाहरु समेत घोषणा गरेको छ । टेलिकमले प्रिपेड मोबाइलमा पनि रोमिङ सेवा उपलब्ध गराउने भएको छ । यसअघि पोष्टपेड मोबाइल सेवामा मात्रै त्यस्तो सेवा दिइँदै आएकोमा मंगलबारदेखि प्रिपेड सेवामा समेत उक्त सुविधा दिएको हो । देश बाहिर तत्कालका लागि भारत र चीनमा प्रिपेडकमा रोमिङ सेवा उपलब्ध गराएको छ ।
टेलिकमले ‘आउट वाउण्ड रोमिङ’ सेवा सुरु गरेको हो । निकट भविष्यमै अन्य देशमा जाने नेपालीका लागि आफ्नै देशको मोबाइल सेवामार्फत आफ्ना आफन्तसँग कुराकानी गर्नसक्ने गरी व्यवस्था गरिएको छ । प्रिपेड सेवा लिएका नागरिकले बिना धरौटी त्यस्तो सुविधा लिन पाउने भएका छन् । मोबाइलमा जे जति मात्रामा रकम रहेको छ, सोही आधारमा फोन गर्न पाउने छन् ।
यसअघि पोष्टपेड सेवा लिएको ग्राहकले रु दश हजार धरौटी राखेर रोमिङ सेवा लिँदै आएका थिए । टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले सेवा र सुविधालाई थप विविधकरण गर्दै लैजाने सोचका साथ नयाँ–नयाँ योजना अगाडि सारिएको बताए ।
यस्तै टेलिकमले मंगलबारदेखि लागू हुने गरी जिएसएम पोष्टपेड ग्राहकलाई रु नौ सयको प्याकेजमा प्रति महिना दुई जिबी डाटा उपलब्ध गराएको छ । यही माघ २३ गतेदेखि आगामी फागुन ८ गतेसम्म दर्ता हुने नयाँ जिएसएम पोष्टपेड मोबाइल ग्राहकलाई तीन महिनासम्म प्रति महिना ‘अल टाइम’ डाटा एक जिबी र १०० मिनेट बराबरको टेलिफोन सुविधा उपलब्ध गराएको छ।
पर्यटकीय प्याकेजअन्तरगत रु ५०० मा पाँच जिबी डाटा, नेपाल टेलिकमको संयन्त्रमा ५० मिनेट टेलिफोन गर्ने सुविधा र ५० एसएमएस र १०० मिनेटको अन्तराष्ट्रिय फोन गर्न समेत सकिने छ ।
यस्तै रु एक हजारमा १० जिबी डाटा र टेलिकमकै संयन्त्रमा १०० मिनेट फोन गर्ने सुविधा, १०० वटा एसएमएस र २०० मिनेट बराबरको अन्तराष्ट्रिय फोन गर्न सक्ने सुविधा दिइएको छ ।


टेलिकमले १५ औं वार्षिकोत्सवको अवसरमा सुदूरपश्चिमका १५ जना कर्मचारीलाई दीर्घ सेवा पदक दिएको छ भने चार वटा डिलरलाई सम्मान गरेको छ । टेलिकमका क्षेत्रीय प्रबन्धक बुद्धकृष्ण माननन्धरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कैलालीका प्रमुख जिल्ला अधिकारी बाबुराम श्रेष्ठ, नेपाल विद्युत प्राधिकरणका क्षेत्रीय प्रमुख सतिसकुमार कर्ण, नेपाल टेलिकमका धनगढी कार्यालय प्रमुख डाक्टर मिल आचार्य, नेपाल टेलिकम आधिकारिक टे«ड युनियनका प्रदेश अध्यक्ष युवराज जोशी, नेपाल टेलिकम वर्कर्स युनियनका प्रदेश अध्यक्ष दिपेन्द्र कठायत, नेपाल कर्मचारी युनियनका प्रदेश अध्यक्ष जगदिशप्रसाद लेखक, नेपाल कर्मचारी संगठनका प्रदेश अध्यक्ष वर्तमान चौधरी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार