१४ बैशाख २०८१, शुक्रबार

सिस्नेघारी गौशालाको अवस्था दयनीय : धमाधम गाईंगोरु मर्दै



सुखड । कैलालीको घोडाघोडी नगरपालिकाले वडा नम्बर ८ मा बनाएको सिस्नेघारी गौशालाको अवस्था दयनीय बनेको छ । छाडा पशुचौपाया व्यवस्थापानका लागि बनाइएको सिस्नेघारी गौशालामा दैनिक दश भन्दा बढी गाईगोरु मरिरहेका छन् ।
दुई हजार आठ सय छाडा पशुचौपाया राखिएकोमा अहिले मुस्किलले एक सय ५० बाँकी रहेका छन् । गौशालामा कार्यरत गोठालाहरूका अनुसार आहार नपाएर पशुचौपाया मर्ने क्रम बढेको छ । गोठालाहरूले गौशालाको अवस्था सुधारका लागि पटकपटक नगरपालिकालाई अनुरोध गरे पनि कुनै सुनुवाई नभएको बताए । घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि वडा नम्बर ८ को सिस्नेघारी र कुन्टीकथाई, वडा नम्बर ४ को चिउरेपानी र सिमलीको कालीभारामा गौशाला बनाएको छ । तर, व्यवस्थापन कार्य भने निकै कमजोर रहेको पाइएको छ ।
सिस्नेघारी गौशालामा शनिबार स्थलगत रिपोर्टिङका लागि पूगदा त्यहाको अवस्था निकै दयनीय रहेको पाइयो । सिस्नेघारी गोठमा जहातही छाडा पशुचौपाया मरेको अवस्थामा थिए । मृत पशुचौपायालाई काग र कुकुरले लुछिरहेका थिए । पुरै जंगल दुर्गन्धित बनेको थियो । गोठाला भोजबहादुर चौधरीले भने– “छाडा पशुचौपायाका लागि चरिचरनको अभाव छ । चिसो बढेको छ । पानीको पनि अभाव छ ।”
सिस्नेघारी गोठमा पाँच जना गोठालाको व्यवस्था गरिएको छ । उनीहरूलाई जनही मासिक १२ हजार रुपैयाँ पारिश्रमिक दिने भनिए पनि मंसिर महिनापछि तलब नपाएको गुनासो गरे । गोठालाहरूले गाईगोरुलाई पानी खुवाउन निकै टाढाबाट पानी बोकेर ल्याउनु पर्ने बाध्यता रहेको बताए । सिस्नेघारी गौशालामा गोठालाहरूलाई बस्नका लागि बनाइएको त्रिपाल चुहिने गरेको छ ।
वडा नम्बर ८ का अध्यक्ष भीम बोगटीले नगर कार्यपालिकाको बैठकमा गौशालाको अवस्था सुधारका लागि पटकटक अनुरोध गरिएको बताए ।
घोडाघोडी नगरपालिकाले छाडा पशुचौपायाको व्यवस्थापनका लागि चालू आर्थिक वर्ष २०७५/२०७६ मा ३० लाख रुपैयाँ बजेट बिनियोजन गरेको थियो । सोमध्ये अहिलेसम्म १५ लाख रुपैयाँ खर्च भइसकेको बताइएको छ ।
घोडाघोडी नगरपालिकाकाले छाडा पशुचौपाया व्यवस्थापनको लागि वडा नम्बर ७ का वडाध्यक्ष धनबहादुर बमको संयोजकत्वमा पाँच सदस्यीय समिति गठन गरेकोमा अहिले काम गर्न नसकेको भन्दै समितिले राजिनामा दिएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार