१४ बैशाख २०८१, शुक्रबार

काँग्रेसको वृहत प्रशिक्षण कार्यक्रम शुरु



धनगढी । नेपाली काँग्रेस कैलालीको आयोजनामा शनिबारदेखि धनगढीमा वृहत प्रशिक्षण कार्यक्रम शुरु भएको छ । वुहत प्रशिक्षण कार्यक्रम भोलि (आइतबार) सम्म सञ्चालन हुने जनाइएको छ ।
प्रशिक्षण कार्यक्रममा नेपाली काँग्रेसबाट गत स्थानीय तहमा निर्वाचित तथा पराजित प्रमुख, उपप्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्षदेखि सदस्यका उम्मेदवार, प्रदेश र प्रतिनिधि सभामा विजयी तथा पराजित उम्मेदवारहरू, साविकका गाउँ, नगर तथा वडा समितिका सभापति तथा पदाधिकारीहरू, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधि तथा महासमिति सदस्य, पार्टीका वर्तमान तथा पूर्व केन्द्रीय सदस्यहरू, भातृ संगठनका केन्द्र तथा जिल्लाका पदाधिकारीहरू सहभागी रहेको नेपाली काँग्रेस कैलालीले जनाएको छ ।
प्रशिक्षणको पहिलो दिनको पहिलो सत्रमा नेपाली काँग्रेस नेतृ डाक्टर आरजु राणा देउवाले स्थानीय तह, प्रदेश र संघीय संसदमा महिला सहभागिता र सुशासन सम्बन्धी प्रशिक्षण दिएकी थिइन् ।
त्यस्तै, पहिलो दिनको दोस्रो सत्रमा राष्ट्रिय योजना आयोगका पूर्व केन्द्रीय सदस्य डाक्टर प्रभु बुढाथोकीले स्थानीय तह योजना निर्माण, बजेट सञ्चालन र सचेतना सम्बन्धी प्रशिक्षण दिएका थिए ।
नेपाली काँग्रेसका जिल्ला सभापति नरनारायण शाहका अनुसार आज (आइतबार) नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले समसामयिक राजनीतिक अवस्था, पार्टी सुदृढीकरण तथा प्रतिपक्षको भूमिकाबारे प्रशिक्षण दिनेछन् ।
त्यस्तै, नेपाली काँग्रेसका केन्द्रीय सदस्य रमेश लेखकले प्रदेश र स्थानीय तहको ऐन, कानून, पार्टी विधान, जनप्रतिनिधि तथा संगठनबीचको अन्तरसम्बन्धबारे प्रशिक्षण दिने जनाइएको छ ।

प्रदेश सांसद उमादेवी सम्मानितनेपाली काँग्रेस कैलालीले संघर्षशिल महिलाका रूपमा सुदूरपश्चिम प्रदेश सभा सदस्य उमादेवी वादीलाई सम्मान गरेको छ ।
आज धनगढीमा आयोजित वृहत प्रशिक्षण कार्यक्रममा काँग्रेस नेतृ डाक्टर राणाले प्रदेश सभा सदस्य उमादेवीलाई सम्मानपत्र प्रदान गरिन् ।
सामाजिक तथा आर्थिक रूपमा निकै कमजोर वादी समुदायमा जन्मिएकी सांसद उमादेवीले वादी समुदायमा परम्परादेखि चलिआएको शारीरिक शोषण जस्तो अभिसापयुक्त जीवनबाट चेलिबेटीलाई मुक्ति दिलाएर आत्मसम्मानित जीवन दिलाउनेदेखि आमाको नामबाट नागरिकता दिलाउने आन्दोलनको कुशल नेतृत्व गर्दै सामाजिक रूपान्तरणको क्षेत्रमा सशक्त भूमिका निर्वाह गरेवापत सम्मान गरिएको थियो ।
काँग्रेसबाट प्रदेश सभा सदस्य रहेकी उमादेवीलाई बीबीसीले विश्व कै एकसय एक प्रेरणादायी महिलाका रूपमा राखेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार