१४ बैशाख २०८१, शुक्रबार

राष्ट्रिय हीत बिनाको विकास राष्ट्रघात हो



सामान्य बुझाई
विकास व्यक्ति, समाज, स्थान, समय, देश र अवस्था सापेक्ष हुन्छ । विकास सुविधा, सभ्यता, स्वतन्त्रताका साथै नागरिकको सानमानमा अभिव्यक्त हुन्छ । विकास देखाई र भोगाइमा प्रतिविम्वित हुन्छ । यो विचारबिहीनता र दृष्टिभ्रम होइन, न त हल्ला र भाषण मात्र हो । विकास भौतिक सुविधासहित मानवीय मूल्य, संवेदना र समानतासँग समेत गाँसिएको हुन्छ । विकास आम मानिस, अझ पछाडि परेका वा पारिएका भनिएका जनता र देशको दैनिक आवश्यकतामा आधारित निरन्तर, क्रमवद्ध र प्रगतिशील प्रयत्न हो । दुईचार पुल, एकदुई सडक वा भवन मात्र नभई सुरक्षा, स्वाभिमान, आत्मनिर्भरता र देशभक्ति पनि हो । यसको सैद्धान्तिक अर्थ व्यापक, असीमित तथा अपूर्ण छ । यो एक सुजबुझसहितको आत्मनिर्भर तथा राष्ट्रिय स्वार्थको अन्तहीन प्रक्रिया र उत्पादन हो । विकास कसै पराईको दयादृष्टि, उपहार वा अनुग्रहबाट प्राप्त हुँदैन । विकास त जुन व्यक्ति वा देशलाई जे चाहिएको हुन्छ, उसैले आफ्ना लागि त्यहि गर्नु हो । यो योजनावद्ध व्यवस्थित, समन्यायिक, निरन्तर र स्वाभिमान सहितको एकीकृत परिणाममुखी राष्ट्रिय अभियान हो ।

मौलिक अर्थ
“नेपालको सन्दर्भमा विकास भन्नाले ग्रामीण र अर्धसहरी क्षेत्रमा बसोबास गर्ने अहिलेसम्म राज्यका लाभको वञ्चितिमा रहेका ६० देखि ७० प्रतिशत विपन्न जनताको ठूलो जनसंख्यालाई उनीहरूका आधारभूत आवश्यकताका साथै वस्तु र सेवासहित सम्मान, सुविधा र लाभ पु¥याउनु” हो ।

शासकीय भूमिका
विकास कुनै शासकको उत्तेजना, लहड, सनक र अभिव्यक्तिमा मात्र निःसृत हुँदैन । यदाकदा त्यस्तो देखिए पनि त्यसका लागि शासकमा एउटा बलियो राष्ट्रिय अभिष्ट अन्तरनिहित भएकै हुनु पर्दछ । हो, विकास कहिलेकाही शासकको सनकमा पनि हुने गर्छ, तर त्यसका लागि शासकमा निरिह, कायर, स्याल हुइया होइन, सिंहको जस्तो शक्ति र गर्जन आवश्यक हुन्छ । त्यसका लागि शासकमा योग्यता, क्षमता, स्वच्छता, साहस, स्वाभिमान अपरिहार्य हुन्छ । युगहरूमा त्यस्ता शासकहरू बिरलै देखिन्छन् । तीमध्ये पछिल्लो समय इराकका सद्दाम हुसेन, उत्तर कोरियाका किम जोड्ड उन, सिड्डापुरका लि क्वान यु र मलेसियाका माहाथिर मोहम्मदहरू हुन् । त्यसअघि मुसोलिनी, हिटलर, चाल्र्स प्रथम र द्वितीय, स्तालिन, माआत्सेतुड्ड, जंगबहादुर, महेन्द्र लगायत शासकहरू चरम राष्ट्रवाद र विकासका उदाहरण हुन । हामीले बुझ्नै पर्दछ कि यी सबैको सनक र आवेगको प्राथमिकताको पहिलो आधार राष्ट्रवाद नै थियो र, छ । दुनियाले विकासको मुख्य आधार राष्ट्रिय हीत, राष्ट्रिय सुरक्षा, राष्ट्रिय स्वाभिमान र राष्ट्रिय आत्मनिर्भरतालाई बनाएका थिए र विकास गर्न सके । दलाली सनकमा भनिने र गरिने विकास बहुराष्ट्रिय कम्पनी तथा विदेशी दलाल, लगानीकर्ता र मुनाफाखोरहरूको हीतमा मात्र हुन्छ र यसले परनिर्भरता बढाउँछ भन्ने तथ्य बिर्सनु हुँदैन । २०४७ यता नेपालका राष्ट्रिय उद्योगहरू जवर्जस्त धरासायी गराइनु यसको उदाहरण हो ।

परनिर्भरता के हो ?
५० को दशमा प्रतिवादित विकासको ‘परनिर्भरताको’ सिद्धान्तले पर–विकास वा अरूको भरमा र हीतमा गरिने विकासको ढंग र बुद्धिलाई जनाउँछ । आर्थिक, सामाजिक, सांस्कृतिक, राजनीतिक र प्राविधिकरूपमा कुनै व्यक्ति, परिवार, समुदाय, संघसंस्था अनि सिंगो मुलुक अरूमा निर्भर हुनुपर्ने अवस्था परनिर्भरता हो । यसका प्रतिवादक पाउल व्यारेन, एजी फ्रेन्क, समीर अमिन, टीडी सन्तोषहरू हुन् ।
नेपालको विकास यही परनिर्भरताको सिद्धान्त र प्रवृत्तिमा आधारित छ । यसमा विकासका बहानामा कोर पुँजीवादी मुलुकहरूले पेरिफेरीका नेपाल जस्ता देशहरूलाई सहयोगका नाममा शोषणको अन्त्यहीन चक्रमा पारिरहेका हुन्छन् । परनिर्भर विकासका कारण विश्वका साधनस्रोतको देशहरूबीच असमान वितरण हुने हुँदा त्यसको न्यून हिस्सा मात्र हामी प्राप्त गर्दछौं । विश्व पुँजीवादले हामी गरीब देशका गरीब जनतामा चरम प्रभूत्व र निरन्तर शोषण र दमन, कायम गरिरहन्छन् । देश तथा समाजलाई स्वतन्त्र वा एकल अस्तित्वमा रहन कदापी दिँदैन । यो अवस्थाले कुनै पनि देशलाई एकक्षण पनि एक्लो बस्न नसकी छट्पटिने ‘एडिक्ट’ बनाएर छाड्छ र अहिले हाम्रो देशको हालत त्यस्तै रहेको छ । नेपाललाई कसैले केही दिएन भने सास फेर्न नपाएर छट्पटिने अवस्थामा पु¥याइदिएको छ । आज हाम्रो देशको अल्पविकास र सधै परनिर्भर हुनपर्ने बाध्यताको कारण पुँजीवाद एकाधिकारको गरीब देशहरूमाथि थुपारिने परनिर्भर विकास नीतिले गर्दा नै हो । पैसा, प्रविधि, पु“जी र स्रोतहरू सहयोग दिएको जस्तो देखाएर जसरी शोषण गरिरहेको छ, त्यसले विश्वव्यापी असमानता सिर्जना गरेको छ । विस्तारै आश्रित देशहरू ती सहयोग गर्ने देशहरूमाथि पूर्णरूपमा भरपर्नु पर्ने बाध्य बनाउछ । नेपाल अहिले पूर्णरूपमा दलाल पुँजीपति, आइएनजीओ, छिमेकी र पश्चिमा देशहरू, युरोपियन युनियन, विश्वबैक, एसियाली विकास बैंक, अन्तर्राष्ट्रिय मुद्राकोष लगायत विभिन्न संघसंस्था र देशहरूमाथि आश्रित हुँदै गइरहेको छ । आफ्नो प्राकृतिक साधनश्रोतमाथि समेत उनीहरूकै कब्जा रहँदै आएकाले अहिले हामी सून्य आत्मनिर्भताको अवस्थामा छौं ।

अपेक्षा के छन् ?
विकासले विपन्न र असहायहरूका आधारभूत आवश्यकता, सुविधा, आत्मसम्मान र स्वतन्त्रता प्रदान गरोस् । विकासका नाममा कुनै गरिबको उठिबास नहोस् । विकासका नाममा कसैका घर खेत नभत्किउन् । आज हरेक नेपालीले चाहन्छ– उसको खाना पानी नपाएर अकाल मृृत्यु नहोस् । विद्यालय जान नपाएर कसैको बच्चाले सुनु नपरोस् । पैसाकै अभावमा इच्छा लागेको विषय अध्ययन गर्न नपाएर कोही उत्कृष्ट विद्यार्थी डिप्रेसनमा आत्महत्या नगरोस् । कुपोषण र भोकमरीका कारण कसैको मृत्यु नहोस् । सामान्य औषधि, स्लाइन पानी र डाक्टरको अभावमा ज्यान नजावस् । बज्यै, आमा दिदीबैनी, छोरीहरूको अस्मिता सुरक्षित होवस् । बृद्ध आमाबुवालाई छोडेर छोराछोरी कामका लागि विदेश नधकेलिउन् । स्वदेशमै सम्मानपूर्ण रोजगारी पाउन् । आयातित महंगो होइन स्वदेशमै उत्पादन भएको सुलभ र गुणस्तरीय वस्तु उपभोग गर्न पाउन् । यस्तै र यिनै चाहनाको परिपूर्ति गर्ने विकास चाहन्छन् । त्यस्तो विकासको खोजी गरिरहेका छन् । तर, बिडम्बना जनताका यी आधारभूत र सामान्य अपेक्षाहरू कहिलै र यो गणतन्त्रमै पनि सम्बोधन हुन सकेनन् ।
नेपालको विकासको मुख्य बाधक यहाँको नीति तथा कार्यन्वयन पक्ष, राजनीतिक÷प्रशासनिक नेतृत्वको पराधीन मानसिकता, असक्षमता, अनिक्षा, अकर्मण्यता नै हो भन्नेहरूको संख्या कम छैन । हामीकहाँ अहिले भइरहेको परआश्रित विकासले परनिर्भरता बढाउँछ र यसले राष्ट्रघातलाई बढावा दिन्छ र दिइरहेको छ । अहिले भइरहेको विकासले जनहीत, देशहीत नभई विदेशीहरूको स्वार्थहीत नै बढी भइरहेको देखिन्छ । विदेशीहरूको नीति र योजना अनुदान उपकरण जनशक्ति प्रविधि लगानी उत्पादन बजारीकरण, मुनाफा, सञ्चिती र उनीहरूकै पुनः लगानीको चक्र निरन्तर चलिरहेको छ । यो नै नेपाललाई पराधिन बनाउने विकासको दुश्चक्र हो । यसरी नेपालको विकास भएको त आंशिक रूपमा देखिएको होला, तर कहिल्यै नेपालीको विकास भने हुनसकेको छैन । हजारौ नेपाली आज रोजगारीका लागि विदेशिनु पर्ने थिएन । पश्चिम नेपालका करिब ४० प्रतिशत जनता गरीबीको रेखामुनीको नारकीय जीवन जीउन बाध्य हुने थिएनन् । आज नेपालको कुल जिडिपिको ३० प्रतिशत रेमिट्यान्सले धानेको छ । जबकि उत्पादन र वस्तु निर्यात सून्य बराबर छ । प्रतिव्यक्ति आम्दानी एक हजार डलर छ, जुन विश्वको १६३ औं स्थान हो । चार खर्ब १३ अर्ब ९८ करोड रुपैयाँ वैदेशिक ऋण र नौ खर्ब नौ अर्ब २६ लाख रुपैयाँ व्यापार घाटा छ । प्रतिव्यक्ति ऋण २५ हजार रुपैयाँ छ । भएका नगन्य उद्योगहरू पनि नेपालीको लगानी र स्वमित्वका छैनन् । वस्तु उत्पादन छैन, त्यसैले नाम मात्रको निर्यात छ । देश कृषिप्रधान छ, तर दाल तेल चामल, पिठो, मकै, कोदो, मैदा, बेसन, मसला र चीनी लगायत खाद्यान्न आयात गरिन्छ । अर्कोतिर निर्यात गर्न खोजिएको थोरै अदुवा, इलाइची चीया जस्ता वस्तुहरू निर्यात गर्न नसकेर भन्सारमा कुहाइन्छ भने यो भन्दा लाजमर्दो विकास अरू के हुन सक्छ ? नदी नाला पहाड जडिबुटी जंगल श्रम लुटिएको छ । कतै हस्ताक्षर गरेर, कतै स्वीच उद्घाटन गराएर कतै देखाएर, कतै लुकिछिपि अर्कालाई बेचिसकेका छौं भने अब हामीसँग बाँकी के रहेको छ र ?

जनता के चाहन्छन् ?
हो, त्यसैले हामी गरीब हुन, भइरहन चाहन्छौं, तर पराधिन हुन चाहदैनौ । हामी विकास बिना दुःख सहन तयार छौं, तर राष्ट्रियता, स्वाभिमान बेच्न चाहदैनौं । अपमानित हुन चाहदैनौ । हामीलाई हाम्रो देश चाहिएको छ । विकाससँग साटिएको राष्ट्रघात चाहिएको छैन । हामीलाई असल मित्र चाहिएका हुन्, गिद्घेदृष्टि राख्ने लोभीपापी मित्र चाहिएका छैनन् । देशभित्रको पानी नदी बेचेर विद्युत किन्ने बुद्धि कसले दियो नेतालाई ? त्यो बुद्धि राष्ट्रवादी हो कि राष्ट्रघाती हो ? छुट्याउनु पर्छ अब । मनभरी राष्ट्रघात र मुखमा राष्ट्रवाद देखाएर देशद्रोह गर्ने छद्मभेषिहरूलाई चिन्नुपरेको छ । हामीलाई देश बिनाको विकास चाहिएको छैन । राष्ट्रियता सहितको विकास चाहिएको हो । होस गर, जडिबुटी बेचेर घटिया औषधि र पानी बेचेर विद्युत किन्ने विकास किमार्थ चाहिएको हैन । किनकि राष्ट्रहीत बिनाको विकास बिनास र राष्ट्रघात हो ।

बाटो विकास
विकास बाटो हो, तर बाटो मात्र हैन । त्यो बाटो नजिकको विद्यालय र स्वास्थ्यचौकीका साथै सुरक्षा, विद्युत, सञ्चार, शिक्षा, स्वास्थ्य, कृषि, उद्योग रोजगारी, सौन्दर्य, सभ्यता, पर्यटन आदि सबै विकास हुन् । हामीलाई बाटो धेरै चाहिएको छैन, अब हाम्रो माटो चाहिएको छ । आज विकासका नाममा जमिन चिराचिरा बनाई खन्याउने, हिल्याउने र धुल्याउने काम बाहेक अन्य छैन । सदियौदेखि एउटा राम्रो घोडेटो बाटोसम्म नभएको चुरे तथा पहाडहरूमा ४÷५ वटा बाटाहरू एउटै गाउँपालिका एउटै वडामा एकैचोटी किन खनिदै खन्याएदै छन् ? यो गम्भीर प्रश्न हो । बाटो खन्न प्रयोग गरिने करोडौंका उपकरणहरू बुल्डोजर जेसीपी, क्रेन लगायत मसिनहरू कसको स्वामित्वमा आयात हुँदैछन् ? डाँडाकाँडा भत्काउने ठेकापट्टा कसले दियो ? ठेकेदार को हो ? नोक्सान भएको पहाड, ढुंगा माटो, बोट बिरुवाको जिम्मेवारी कसको हो ? चुरे पहाडलाई बाटो निर्माणको बहानामा किन र कसले भत्काउँदै छ ? लगायत प्रश्नहरू विकासका नाममा हाम्रा अगाडि तेर्सिएका छन् । यस्तै विकासका नाममा सिंगो देश फोडिदै चिरिदै काटिदै र फाडिदै छ । योजना र उद्देश्य बिना नै यस्तो विकासको योजनाकार को हो ? बुझ्न जरुरी छ । यो सत्ताभित्र र बाहिर रहेका दलालहरूले विकासको नाममा गरिरहेको सुनियोजित बिनास त हैन ? यसमा पनि विदेशी दातृराष्टहरूको ठूलो लगानी भएकोले मात्रात्मक हीत देखिए पनि अन्तत्वगत्वा यो विकासले तात्विक रूपमा देशलाई अहीत नै गर्ने निश्चित छ ।

अन्त्यमा,
विकास देशको आफ्नै नीति लगानी आवश्यकता पहिचान र जरुरतमा हुनुपर्ने थियो, त्यसो भएको देखिदैन । विकासका परिभाषक, निर्देशक, योजनाकार लगानीकर्ता र ठेकेदार समेत विदेशी वा विदेशको आशिर्वाद र जुठोपुरोमा गुजारा चलाउने भएकाले न हामीले चाहेको स्थानमा बाटाघाटा बनेका छन्, न उद्योगधन्दा, न कृषि चाहेजस्तो भएको छ, न शिक्षा विज्ञान, न त सुरक्षा ब्यबस्थित हुनसकेको छ । अहिलेसम्म नेपालमा हुनेगरेको विकास बहुराष्ट्रिय कम्पनी, दलाल लगानीकर्ता र राष्ट्रघातीहरूको हीतमा मात्र हुने गरेको छ । विकासको यो प्रवृत्तिमा सुधार नगरुञ्जेल नेपालको विकास राष्ट्र र गरीब जनताका लागि घातक छ । आकासको फल हेरी हेरी मर भने जस्तै हुने छ । त्यसैले विकल्पको खोजी आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार