१४ बैशाख २०८१, शुक्रबार

माघीमेला शुरु



बौनिया । कैलालीको बर्दगोरियामा शुक्रबारदेखि माघी मेला शुरु भएको छ । माघी मेला आगामी माघ १ गतेसम्म सञ्चालन हुने जनाइएको छ ।
बर्दगोरिया गाउँपालिकाको आर्थिक सहयोग तथा बर्दगोरिया धार्मिक संरक्षण मञ्च तथा क्षेत्र विकास समिति र बर्दगोरिया धार्मिक सांस्कृतिक तथा पर्यटन मेला समितिको आयोजनामा माघी मेला शुरु भएको हो ।

फाइल तस्बिर

मेलाको बर्दगोरिया गाउँपालिका अध्यक्ष बलिराम डंगौराथारूले उद्घाटन गरे 
उद्घाटन कार्यक्रम मेला समितिका अध्यक्ष हर्कबहादुर शाहको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडाध्यक्षहरू भेखुराम चौधरी, करने सुनार र श्यामकुमारी चौधरी, नेपाली काँग्रेसका गाउँ सभापति गणेश शाही, राष्ट्रिय जनमोर्चाका गाउँ कमिटी अध्यक्ष रूपा आलेमगर, बर्दगोरिया धार्मिक क्षेत्र विकास तथा संरक्षण मञ्चका अध्यक्ष खडक चौधरी, असहायका लागि सहयोगी हातहरू नेपालका अध्यक्ष बलबहादुर बिष्ट, बर्दगोरिया धाम पर्यटन विकास तथा क्षेत्र विकास मञ्चका अध्यक्ष रामबहादुर साउँद लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा मेला समितिका कोषाध्यक्ष करिश्मा चौधरीले स्वागत गरेकी थिइन् ।
मेलामा एक सय ७० स्टल रहेका छन् ।

माघ महोत्सव हुँदै
थारू कल्याणकारिणी सभा गोदावरीको आयोजनामा गोदावरी नगरपालिका वडा नम्बर ८, मजगाउँमा माघ महोत्सव २०७५ हुने भएको छ ।
संस्थाले शुक्रबार अत्तरियामा पत्रकार सम्मेलन आयोजना गरी माघ ५, ६ र ७ गते महोत्सव आयोजना हुने जानकारी दियो । महोत्सव आयोजक समितिका संयोजक माधव चौधरीले मेलामा थारू खानपानका परिकार, नाचगान, कलाकारहरूको प्रस्तुति रहने बताए ।
उनले महोत्सव आयोजनाका लागि विभिन्न समिति गठन समेत गरिएको बताए ।

माघी मिलन
‘थारू भाषा कला, संस्कृति के करि सम्मान, थारू भेषभुषा कला संस्कृति हमार पहिचान’ भन्ने नाराका साथ शुक्रबार बर्दगोरिया गाउँपालिका वडा नम्बर ६ पृथ्वीपुरमा माघी मिलन तथा सांस्कृतिक कार्यक्रम भएको भएको छ ।
कार्यक्रमको गाउँपालिका उपाध्यक्ष भगवती डंगौराथारूले उद्घाटन गरिन् । कार्यक्रम मंगल चौधरीको अध्यक्षतामा भएको थियो ।
सो अवसरमा जगत साउँद, आयाम साउँद, विष्णु चौधरी, गणेश शाही, वडाध्यक्षहरू जयरूप खतिवडा, भेखु चौधरी र रामकृष्ण डंगौराथारू, जोशीपुर गाउँपालिका वडा नम्बर ६ का अध्यक्ष नत्थुप्रसाद चौधरी, मोहन्याल माविका प्रधानाध्यापक चन्द्रिकापसाद जोशी लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा सात वटा टोलका चौकीदारहरूलाई साइकल प्रदान गरियो । भने सात वटा टोलका पूर्व कम्लहरीलाई एकएक थान सिलाई मेसिन प्रदान गरियो ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार