१५ बैशाख २०८१, शनिबार

वडाध्यक्ष जोशीको प्रयासपछि सविताको ज्यान जोगियो



धनगढी । ढाडमा जटिल समस्या भएपछि पाँच महिनासम्म थलापरेकी धनगढी उपमहानगरपालिका वडा नम्बर १३, झलारी गाउँकी १८ वर्षीया सविता रानाको बल्ल ज्यान जोगिएको छ । आर्थिक रूपमा निकै विपन्न परिवारकी सविताले ढाडभित्र घाउ भएर पाँच महिनासम्म ओच्छ्यानमा थला परे पनि उपचार पाउन सकेकी थिइनन् ।
सविताको परिवारमा बुवा, आमा र दिदी छन् । सविताको ढाड नै सड्न थालेपछि उनकी दिदी पुष्पाले बहिनीको उपचार खर्च जुटाइदिन सबैसँग हारगुहार गरिन् । तर, कसैले पनि उनको उपचारका लागि खासै चासो नदिएको उनले बताइन् ।
सविताको अवस्था निकै जटिल बनेको खबर पाएपछि धनगढी उपमहानगरपालिका वडा नम्बर १३ का वडाध्यक्ष विजयराज जोशीले उपचारका लागि पहल गरे । वडाध्यक्ष जोशीकै पहलमा गत असारको अन्त्यतिर सवितालाई उनकी दिदी पुष्पासहित उपचारका लागि काठमाडौंको ट्रमा सेन्टरमा पु¥याइयो । वडाध्यक्ष जोशीले त्यतिबेलाको क्षण सम्झिए– “सविताको ढाडको घाउ देखेर शुरुमा त डाक्टरले भर्ना नै गर्न मानेनन् । हामीले निकै कर गरेपछि बल्ल डाक्टरहरू उपचारका लागि राजी भए ।”
सविताको उपचारमा ट्रमा सेन्टरका डाक्टर कमलराज पाठक र सिनीयर न्युरो सर्जन डाक्टर पियुष दाहाल संलग्न रहेको वडाध्यक्ष जोशीले बताए । सविताको साढे पा“च महिनासम्म उपचार भएको थियो । उनको दुई पटक सल्यक्रिया भएको थियो ।
उनको उपचारमा दुई लाख ५० हजार रुपैयाँ खर्च भएकोमा वडाध्यक्ष जोशीले व्यक्तिगत रूपमा ८० हजार रुपैयाँ सहयोग गरेका थिए ।
पुष्पाले भनिन्– “बहिनीको उपचारमा वडाध्यक्ष ज्यूको ठूलो सहयोग रह्यो । उहाँले नै काठमाडौंमा मेरो खानेबस्ने व्यवस्था गरिदिनुभयो । बहिनीको स्वास्थ्य अवस्था बुझ्न उहा“ धेरै पटक काठमाडौं पनि आउनु भयो ।”
अहिले सविताको स्वास्थ्य अवस्था क्रमशः सुधार आएको छ ।
वडाध्यक्ष जोशीले यसअघि पनि आर्थिक अवस्था कमजोरभएका सात जना बिरामीको उपचारमा सहयोग गरेका थिए । उनी भन्छन्– “जनताको सेवा गर्नु मेरो कर्तव्य हो । मैले आफ्नो क्षमताले भ्याएसम्म भविष्यमा पनि दीनदुःखीको सेवा गरिरहने छु ।”

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार