१५ बैशाख २०८१, शनिबार

सुदूरपश्चिम गोल्डकप शुरु : प्रदेशमा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान– मुख्यमन्त्री भट्ट



धनगढी । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप मंगलबारदेखि धनगढीमा धुमधामका साथ शुरु भएको छ । सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवद्वारा आयोजित गोल्डकपको एक समारोहबीच सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टले उद्घाटन गरे ।
सो अवसरमा मुख्यमन्त्री भट्टले सुदूरपश्चिम प्रदेशमा अन्तर्राष्ट्रिय खेल मैदान निर्माणमा प्रतिवद्ध रहेको बताए । उनले भने– “सुदूरपश्चिम प्रदेशमा एउटा अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बन्नु पर्दछ भन्नेमा प्रदेश सरकार प्रतिवद्ध छ । सरकारले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउनका लागि बजेट समेत विनियोजन गरिसकेको छ ।” मुख्यमन्त्री भट्टले धनगढीको फाप्लालाई अन्तर्राष्ट्रिय स्तरको खेल मैदान बनाएर ठूला खेल प्रतियोगिातका माध्यमबाट खेल पर्यटक भित्र्याउने तथा आर्थिक विकासमा टेवा पु¥याउने लक्ष्य लिएको चर्चा गरे ।
उनले आगामी फागुन महिनामा प्रदेश सरकारले अन्तर प्रदेशस्तरीय मुख्यमन्त्री खेलकुद प्रतियोगिता आयोजना गर्ने बताए । उनले भने– “देशभरीका प्रतिभावान खेलाडीको सहभागितामा अन्तरप्रदेश स्तरीय खेलकुद प्रतियोगिता आयोजना गर्दैछौं ।”
उनले प्रदेश सरकारले प्रत्येक वडा र स्थानीय तहमा कम्तिमा एउटा खेल मैदान बनाउने लक्ष्य लिएको बताए । “हामीले प्रत्येक वडा, गाउँपालिका र नगरपालिकामा कम्तिमा एउटा खेल मैदान बन्नुपर्छ भन्ने सोच बनाएका छौं” उनले भने– “यसकै माध्यमबाट खेलकुदको तीब्र विकास मात्रै होइन, प्रदेशको आर्थिक समृद्धिमा पनि टेवा पु¥याउनु आवश्यक छ ।”उद्घाट समारोहमा सुदूरपश्चिम प्रदेश सभाका सभामुख अर्जुनबहादुर थापा र प्रदेशका आन्तरिक मामिला तथा कानून मन्त्री प्रकाशबहादुर शाहले पनि मन्तव्य व्यक्त गरेका थिए ।
उद्घाटन खेलमा आयोजक सुदूरपश्चिम–११ स्पोर्ट्स क्लवले मुख्यमन्त्री भट्टलाई २१ किलोको माला लगाएर सम्मान गरेको थियो । त्यस्तै, प्रतियोगिताको मुख्य प्रायोजक नेपाल आईसलाई पनि ११ किलोको मालाले सम्मान गरिएको थियो ।
उद्घाटन कार्यक्रम आयोजक क्लवका अध्यक्ष सुरेश हमालको अध्यक्षतामा भएको थियो ।
प्रतियोगिता माघ ५ गतेसम्म सञ्चालन हुने छ । तेस्रो नेपाल आइस सुदूरपश्चिम खप्तड गोल्डकप, २०७५ मा नेपालका ‘ए’ डिभिजन लिगका टोली र विदेशी टोलीसहित १२ वटा टोलीको सहभागिता रहेको जनाइएको छ । प्रतियोगिताका विजेताले २१ लाख र उपविजेताले १० लाख रुपैयाँ पुरस्कार पाउने छन् । उत्कृष्ट खेलाडीले यामाहाको १ सय ५० सीसी मोटरसाइकल दिइने छ भने विधागत उत्कृष्ट विजेताले जनही १५ हजार रुपैयाँ पाउने छन् । प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिने छ ।
प्रतियोगितामा दर्शकहरूले खेल अवलोकनका लागि टिकट दर तोकिएको छ । क्वाटर फाइनलसम्मका खेलका लागि एक सय र एक सय ५० रुपैयाँ तथा सेमिफाइनल र फाइनल खेल हेर्न एक सय ५० र दुई सय रुपैयाँ टिकट दर तोकिएको छ ।

सम्बन्धित समाचार

खप्तडगोल्ड कपको उद्घाटन मुख्यमन्त्रीले गर्ने

आजदेखि सुदूरपश्चिम गोल्डकप (खेलतालिका सहित)

खप्तड गोल्डकपको तयारी पुरा

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार