१४ बैशाख २०८१, शुक्रबार

घोडाघोडी विश्वकै सम्पत्ति– प्रदेश प्रमुख मल्ल



धनगढी । सुदूरपश्चिम प्रदेश प्रमुख मोहनराज मल्लले विश्व रामसार सूचीमा सूचीकृत घोडाघोडी क्षेत्र नेपालको मात्रै नभएर विश्वकै सम्पत्ति भएको बताएका छन् । प्रदेश प्रमुख मल्लले प्रदेश सरकारले घोडाघोडी क्षेत्रको दीगो विकासका लागि ठोस योजना बनाउनुपर्नें बताए ।
कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर १ मा रहेको घोडाघोडी मन्दिर परिसरमा सोमबार लवांगी पूजा तथा घोरीघोरा महोत्सवको उद्घाटन गर्दै प्रदेश प्रमुख मल्लले प्रदेश प्रमुख मल्लले घोडाघोडीले सुदूरपश्चिमलाई परिचित गराएको चर्चा गरे ।
थारू भाषामा सम्बोधन गर्दै प्रदेश प्रमुख मल्लले घोडाघोडी क्षेत्रको संरक्षण तथा संवद्र्धनमा व्यक्ति, समुदाय, सरकार सबैको अग्रसरता आवश्यक रहेको बताए ।
उनले घोडाघोडी क्षेत्रको संरक्षण तथा संवद्र्धनका लागि एक वर्षभित्रै गुरुयोजना तयार गर्नुपर्ने बताए ।
कार्यक्रममा घोडाघोडी नगर प्रमुख ममताप्रसाद चौधरीले घोडाघोडी नगरपालिका विभिन्न भाषाभाषी, जातजाति, कला संस्कृति तथा प्राकृतिक सम्पदाको धनी रहेको चर्चा गरे ।
सोमबारबाट सुरु भएको लवांगी पूजा तथा घोरीघोरा महोत्सव २६ गतेसम्म सञ्चालन हुने आयोजक घोडाघोडी सांस्कृतिक तथा संरक्षण समिति अध्यक्ष जगनारायण चौधरीले बताए ।
लवांगी पूजा तथा घोरीघोरा महोत्सवमा विशेषगरी थारू समुदायको पुरानो गुरुवाहरूद्वारा नाचिने बडका नाच, महिलाहरूद्वारा सामुहिक नाचिने सखिया नाच, लाठी नाच, झुम्रा नाच, दिन नचुवा नाच धमार, मांगर आदि प्रस्तुत गरिने आयोजकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार