१४ बैशाख २०८१, शुक्रबार

आन्तरिक पर्यटकको रोजाई बन्दै माघी होमस्टे



सुखड । कैलालीको घोडाघोडी नगरपालिका वडा नम्बर ४ मा रहेको माघी होमस्टे आन्तरिक पर्यटकको प्रमुख रोजाई बन्दै गएको छ । माघी होमस्टे चार वर्षअघि सञ्चालनमा आएको थियो ।
अहिले माघी गाउँका १४ घरमा होमस्टे सञ्चालन गरिएको छ । स्थानीय पथप्रदर्शक (गाइड) महेश चौधरीले भने– “मैले पनि एउटा घरमा होमस्टे सञ्चालन गरेको छु । २०७१ सालमा शुरुमा १४ वटा घरमा होमस्टे सञ्चालन गरेका थियौं ।” स्थानीय समुदायद्वारा सञ्चालित होमस्टे सञ्चालनका लागि ११ जनाको व्यवस्थापन समिति गठन गरेको छ । महेशका अनुसार व्यवस्थापन समितिले होमस्टे व्यवस्थित गर्ने जिम्मेवारी वहन गरिरहेको छ । होमस्टेमा आउने पर्यटकबाट प्राप्त आम्दानीको दश प्रतिशत रकम समितिमा जम्मा गर्नुपर्ने नियम बनाइएको छ ।
माघी होमस्टे सञ्चालनमा आएसँगै स्थानीयमा उद्यमशिलताको समेत विकास हुँदै गएको छ । स्थानीयको आर्थिक अवस्थामा पनि सुधार आइरहेको छ । माघी होमस्टे व्यवस्थापन समितिका सचिव मानबहादुर चौधरीका अनुसार होमस्टेमा वार्षिक पाँच लाख रुपैयाँ बढी आम्दानी हुने गरेको छ । उनले समितिमा जम्मा हुने आम्दानीको दश प्रतिशत रकमबाट होमस्टे व्यवस्थापन तथा पर्यटकको स्वागत, सत्कारमा खर्च गरिने व्यवस्था मिलाइएको बताए ।
माघी होमस्टेमा वार्षिक सरदर एक हजार बढी आन्तरिक पर्यटक आउने गरेका छन् । सचिव मानबहादुरका अनुसार होमस्टेमा वार्षिक सरदर एक सय बढी विदेशी पर्यटक पनि आउने गरेका छन् । होमस्टेमा थारू समुदायको परम्परागत खानाका परिकारका साथै मौलिक संस्कृति, नृत्य प्रस्तुत गर्ने गरिएको छ । नजिकै प्रशिद्ध सिमसार क्षेत्र घाडाघोडी ताल भएकाले पनि माघी होमस्टेमा आन्तरिक पर्यटकको बर्सेनि संख्या बढ्दै गएको छ । स्थानीय विष्णादेवी चौधरी भन्छिन्– “घोडाघोडी ताल तथा होमस्टे पर्यटन विकासका लागि राम्रो सम्भावना रहेकोले स्थानीय सरकारबाट समेत प्रचारप्रसारमा ध्यान दिनु आवश्यक छ ।”
विष्णा स्वयंले पनि एउटा घरमा होमस्टे सञ्चालन गरेकी छिन् । उनि भन्छिन्– “यसबाट मेरो छ जनाको परिवारको लालनपालनको खर्च कटाएर वार्षिक ६० हजार रुपैयाँ जति वचत हुने गरेको छ ।”
व्यवस्थापन समितिका अनुसार होमस्टेका लागि विकास निर्देशनालय काठमाडौंले २५ लाख रुपैयाँको लगानीमा घर निर्माण तथा सरसफाईको व्यवस्थापन गर्ने भएको छ ।
पर्यापर्यटनको लागि पंक्षी संरक्षण संघ, काठमाडौंले सहयोग गरेपछि सो थारू वस्तिमा माघी होमस्टे सञ्चालनमा आएको समितिले जनाएको छ । त्यस्तै, तारागाउँ विकास समिति, काठमाडौंले भवन निर्माण तथा माघी होमस्टे जाने मुख्यद्वारको निर्माणमा सहयोग गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार