१५ बैशाख २०८१, शनिबार

एचआइभी संक्रमितका समस्या : नियमित औषधि सेवन नगर्दा मृत्यु दरमा बृद्धि



धनगढी । एचआइभी संक्रमितहरूले नियमित रूपमा औषधि सेवन नगर्दा हरेक वर्ष मृत्युदरमा बृद्धि भइरहेको तथ्यांकहरूले देखाएका छन् । कैलाली स्वास्थ्य कार्यालयको पछिल्लो तथ्यांक अनुसार गत आर्थिक वर्ष २०७४/०७५ मा ३३ जना एचआइभी संक्रमितको मृत्यु भएको छ ।स्वास्थ्य कार्यालयका अनुसार सन् २००६ देखि सन् २०१८ को अक्टोबर महिनासम्म एचआइभी संक्रमित तीन सय जनाको मृत्यु भइसकेको छ । तीमध्ये दुई सय सात जना वयस्क पुरुष, ७६ जना महिला ७६ र ११ जना बालिका रहेका छन् ।
सेती अञ्चल अस्पतालका डाक्टर शेरबहादुर कमरका अनुसार एचआइभी संक्रमितले नियमित रूपमा औषधि सेवन नगर्नु तथा एचआइभी संक्रमितलाई अन्य रोगले संक्रमण गर्नु लगायतका कारण मृत्युदरमा बृद्धि भइरहेको छ ।
“नियमित रूपमा औषधि सेवन गर्ने हो भने एचआइभी संक्रमितलाई निको पार्न सकिन्छ” डाक्टर कमरले भने– “तर, धेरैजसो केसमा संक्रमितले नियमित रूपमा औषधि सेवन गरेको पाइदैन ।
कैलालीमा गत आर्थिक वर्षमा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जनामा एचआइभी पोजेटिभ देखिएको थियो । त्यस्तै, चालू आर्थिक वर्षको साउनदेखि कात्तिक महिनासम्म छ सय ९३ जनाको रगत परीक्षण गरिएकोमा पाँच जनामा एचआइभी पोजेटिभ देखिएको जनाइएको छ । कैलाली जिल्लामा हालसम्म एआरटी सेवा लिनेको दर्ता संख्या दुई हजार पाँच सय ६० रहेको कैलाली स्वास्थ्य कार्यालयले जनाइएको छ । तीमध्ये वयस्क पुरुषको संख्या एक हजार एक सय ५० रहेको छ भने एक हजार एक सय ८३ जना महिला रहेका छन् । कार्यालयले दिएको तथ्यांक अनुसार १५ जना युवा, एक सय १५ जना बालक र ९७ जना बालिकाले एआरटी सेवा लिइरहेका छन् ।
त्यस्तै, हालसम्म एआरटी सेवा अन्तर्गत औषधि सेवन गरिरहेकाहरूको संख्या एक हजार दुई सय ६१ रहेको छ । तीमध्ये चार सय ८४ जना पुरुष र छ सय ५४ जना महिला रहेका छन् ।
कैलाली स्वास्थ्य कार्यालयका अनुसार दोस्रो लाइन औषधि खाने एचआइभी विरामीको संख्या ७५ रहेको छ । तीमध्ये ५३ जना युवा र २२ जना बालक रहेका छन् ।
कैलालीसहित देशभरी एचआइभी संक्रमितको पहिचान गर्ने दरमा कमी आए पनि एआरटी सेवा लिनेको संख्यामा बृद्धि आएको छ । जनस्वास्थ्य निरिक्षक महेश चन्दका अनुसार एचआइभी संक्रमितको पहिचान गर्ने संख्या घट्दै गएको छ । जनस्वास्थ्य निरीक्षक चन्दका अनुसार आर्थिक वर्ष २०७२/७३ मा तीन हजार ६५ जनाको रगत परीक्षण गरिएकोमा एक सय चार जनामा पोजेटिभ देखिएको थियो ।
त्यस्तै, आर्थिक वर्ष २०७३/७४ मा छ हजार तीन सय ३० जनाको रगत परीक्षण भएकोमा एक सय १७ जनामा एचआइभी पोजेटिभ देखिएको थियो भने गत आर्थिक वर्ष २०७४/०७५ मा छ हजार चार सय ८१ जनाको रगत परीक्षण गरिएकोमा एक सय १५ जना संक्रमित भएको फेला परेको थियो । देशभरी एचआईभी संक्रमण दरलाई सरकारले विभिन्न कार्यक्रम गरिरहेको जनाइएको छ । रगत परीक्षण, एआरटी सेवा लगायतका विभिन्न कार्यक्रम गर्दै आएको कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले बताए । उनका अनुसार कैलालीमा सेती अञ्चल अस्पताल र टीकापुर अस्पतालमा एआरटी सेवा सञ्चालन भइरहेको छ ।
यस्तै, १ डिसेम्बर अर्थात् (१५ मंसिर) मा मनाइन लागेको विश्व एचआई एड्स दिवसलाई कैलालीमा भव्यताका साथ मनाइने भएको छ । दिवसको पूर्व सन्ध्यामा रगत परीक्षण, कण्डम वितरण, सरोकारवालाहरूसँग अन्तरक्रिया लगायतका क्रियाकलाप गरिने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार