२३ बैशाख २०८१, आईतवार

एन्टिबायोटिक सम्बन्धी अभिमुखीकरण



हसुलिया । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र कैलारी गाउँपालिकाको आयोजनामा मंगलबार हसुलियामा प्रतिजैविक (एन्टिवायोटिक) प्रतिरोध सम्बन्धी अभिमुखीकरण कार्यक्रम भएको छ । एन्टिवायोटिक औषधिको प्रतिरोधात्मक क्षमताले काम गर्न छोडेपछि आम नागरिकमा यसबारेमा चेतनामूलक कार्यक्रम गरिएको हो ।कैलारी गाउँपालिकाका जनप्रतिनिधि, स्वास्थ्यकर्मी, क्लिनिक सञ्चालक, स्थानीयहरूको सहभागिता रहेको कार्यक्रमको उद्घाटन कैलाली स्वास्थ्य कार्यालयका वरिष्ठ जनस्वास्थ्य प्रशासक टंकप्रसाद चापागाइले गरेका थिए । कार्यक्रमको उद्घाटन गर्दै वरिष्ठ जनस्वास्थ्य प्रशासक चापागाइले औषधि चिकित्सकको सल्लाह अनुसार सेवन गर्नुपर्ने बताए ।
राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका शिक्षा स्वास्थ्य प्रशासक डाक्टर भक्तबहादुर केसीले विश्वभर अहिले वर्षभरी सात लाख जनाले औषधिले काम नगरेका कारण मृत्यु भइरहेको तथ्यांक रहेको जानकारी दिए ।
उनका अनुसार तथ्यांकले सन् २०५० मा यस्तै अवस्था रहेमा विश्वभरी प्रति वर्ष एक करोडको औषधि काम नगरेका कारण मृत्यु हुने अनुमान रहेको बताए । सन् २०५० मा प्रति तीन सेकेण्डमा एक जनाको मृत्यु औषधिले काम नगरेकै कारण हुने अनुमान गरिएको बताए ।
आम मानिसले एन्टिवायोटिकको दुरुपयोग, अति प्रयोग गर्नु, चिकित्सकको सल्लाह विनानै औषधिको प्रयोग गर्नु लगायतका कारणले औषधिले कामनै गर्न छोडेको बताए । अहिलेको अवस्थामा क्षयरोग, छाला रोग, अल्सर, शल्यक्रिया, बालबालिकाकाका लागि बनाइएका एन्टिवायोटिक औषधिले प्रभावकारी रूपमा असर गर्न छोडेको देखिएको बताए ।उनले आम मानिसले एन्टिवायोटिकको बढी सिफारिस गर्ने, पुरै मात्रामा सेवन नगर्ने, पशु र पंक्षीमा एन्टिवायोटिक प्रयोग र ३० वर्ष यता एन्टिवायोटिकको नयाँ अविष्कार नहुनु लगायतका समस्या रहेको बताए । उनले सरकारले एन्टिवायोटिक औषधिबाट देखिएको समस्याको समाधान गर्न पञ्च वर्षिय कार्ययोजना तयार गरिरहेको बताए ।
कार्यक्रममा कैलारी गाउँपालिका अध्यक्ष लाजुराम चौधरीले स्थानीय जनतामा जनचेतना नभएकोले एन्टिवायोटिकको प्रयोज जथाभावी प्रयोग भइरहेको बताए । कार्यक्रममा स्टरलिङ क्लिनिक हसुलियाका सञ्चालक गंगाराम चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
गाउँपालिका स्वास्थ्य संयोजक भूपेन्द्रसिंह महराले सञ्चालन गरेको कार्यक्रममा स्वागत स्वास्थ्य सहसंयोजक कृष्णदत्त पन्तले गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार