१५ बैशाख २०८१, शनिबार

असहाय महिलाको चितामा महिलाद्वारा दागवत्ती (भिडियोसहित)



धनगढी । धनगढीको सेती अञ्चल अस्पतालमा उपचार गराउँदा गराउँदै मृत्यु भएकी एक असहाय महिलाको शवलाई महिलाहरूले नै दाहसंस्कार गरेका छन् ।दृष्टि फाण्डेशन धनगढीका पदाधिकारी महिलाहरूले उनको शव शनिबार काँधमा बोकेर मोहना नदी पु¥याई दाहसंस्कार गरेका हुन् । अस्पतालमा बेवारिसे अवस्थामा विरामी रहेकी आन्दाजी ६५ वर्षीया उनलाई फाउण्डेशनले अस्पताल र जिल्ला प्रहरी कार्यालयको अनुरोधमा सहारा घरमा लगी आश्रय दिएको थियो ।
उनी अझै विरामी भएपछि उपचारका लागि ल्याएको बेला शुक्रबार मृत्यु भएको दृष्टि फाउण्डेशनकी अध्यक्ष कल्पना भट्टले बताइन् । मृत्युपछि शनिबार नै पोष्टमार्टम गरी बृद्धाको शव दाहसंस्कारका लागि महिलाहरूले काँध लगाएर मोहना लगिएको थिए ।

चितामा फाण्डेशनकी अध्यक्ष भट्टले चितामा दागवत्ती दिएकी हुन् । उनले हिन्दूसंस्कार अनुसार बृद्धाको दाहसंस्कार पुरा गरेको बताइन् । असहाय अवस्थामा आफूले लगेर केही दिन पालेको हुनाले दाहसंस्कारको जिम्मेवारी पनि लिएको अध्यक्ष भट्टले बताइन् ।
शुरुदेखि नै बृद्धाको अवस्था गम्भीर रहेकाले उनको नाम र ठेगाना समेत खुल्न नसकेको अध्यक्ष भट्टले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार