१४ बैशाख २०८१, शुक्रबार

जेटी कप क्रिकेट शुरु



बौनिया । चौथो संस्करणमा संचालन भएको जेटी क्रिकेट कप प्रतियोगिता शनिबारबाट सुरु भएको छ ।
प्रतियोगिताको उद्घाटन खेलमा आयोजकलाई पराजित गर्दै आरएमई टीकापुर विजयी भएको छ । आयोजक जगततारालाई आरएमई टीकापुरले ८५ रनले पराजित गर्दै विजयी भएको हो । टस जितेर पहिले ब्याटिङ गरेको आरएमई टीकापुरले निर्धारित २० ओभरमा ९ बिकेटको क्षतिमा १४८ रन बनाएको थियो । १४९ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको आयोजक जगततारा १३.५ ओभरमा अल आउट हुँदै ६३ रनमा समेटिएको थियो ।
आरएमई टीकापुरका लागि जीवन ठकुल्लाले २७ बलमा ५ चौका र ३ छ्क्काको मदतले ४५ रन बनाएका थिए । यस्तै, कप्तान विवेक न्यौपानेले ४६ बलमा १ छ्क्का र ५ चौकाको मद्दतले ५० रन बनाउन सफल भएका थिए ।
जगत ताराका लागि अगस्तराज जोशीले ४ ओभरमा ३४ रन दिँदै ३ बिकेट लिएका थिए । यसैगरी, सौनक मल्लले ४ ओभरमा २५ रन खर्चिदै ३ विकेट लिन सफल भएका थिए । जगत तारालाई ६३ रनमा समेट्ने क्रममा आरएमई टीकापुरका विवेक न्यौपानेले ४ ओभरमा २४ रन खर्चिदै ३ बिकेट लिन सफल भएका थिए । प्रतियोगितामा ५० रन र ३ बिकेट लिएका आरएमई टीकापुरका विवेक न्यौपाने म्यान अफ द म्याच घोषित भएका थिए ।
जगततारा इङ्लिश बोर्डिङ स्कुलका सस्थापक एकेन्द्र मल्लको अध्यक्षतामा भएको प्रतियोगिताको उद्घाटन बर्दगोरिया गाउँपालिकाका अध्यक्ष बलिराम डंगौराथारूले गरेका थिए ।
कार्यक्रममा अध्यक्ष थारूले गाउँपलिकालाई खेलकुदको क्षेत्रका रूपमा चिनाउन सहयोग पुगेको बताए । त्यस्तै, उपाध्यक्ष भगवती डंगौराथारूले खेलकुद क्षेत्रले खेलाडीको चौतर्फि विकास गर्ने बताइन् ।
प्रतियोगिताको बिजेताले नगद ६१ हजार १ सय ११ र उपबिजेताले नगद ३१ हजार १ सय ११ मेडल, ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छ । प्रतियोगिता अन्तर्गत मंसिर २ गते बिहान नमुना लम्की र नव बालबाटिका बौनिया प्रतिस्पर्धा गर्ने भएका छन् ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार