१४ बैशाख २०८१, शुक्रबार

चिकित्सकहरूका लागि मिडवाईफरी तालिम शुरु (भिडियोसहित)



धनगढी । नवजात शिशु र मातृमृत्यु दर घटाउनका लागि सुत्ेकरी सेवासम्बन्धी चिकित्सकहरूका लागि मिडवाईफरी तालिम धनगढीमा शुरु भएको छ ।
सफा सुनौलो नेपाल र राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रको संयुक्त आयोजना तथा ल्याटर डे स्यान्ट च्यारिटिजको प्राविधिक सहयोगमा शनिबार तीन दिने तालिम शुरु भएको हो । तालिममा जन्मिने वित्तिकै स्वासप्रवास गर्न नसकेर मृत्यु हुन सक्ने शिशु र अत्यधिक रक्तश्राव भएर मृत्यु हुन सुत्केरीलाई बचाउने तरिका सिकाइने हेल्पिङ्ग बेबिज ब्रिथ\हेल्पिङ्ग मदर्स सरभाइभ (बेब) कार्यक्रमका संयोजक रञ्जन ढुंगानाले बताए ।

“तालिममा सहभागीले नवजात शिशुलाई श्वासप्रश्वास गर्न मद्दत गर्न र सुत्केरीको रक्तश्राव व्यवस्थापन गर्न सिक्ने छन्,” कार्यक्रम संयोजक ढुंगानाले भने, “उनीहरू आफ्नो कार्य स्थलमा गएर सहकर्मी तथा विद्यार्थीलाई सिकाउने छन् । यसले गर्दा नवजात शिशु र मातृमृत्यु दर घटाउनमा सहयोग पुग्ने छ ।”
तालिममा प्रदेशका विभिन्न स्वास्थ्य संस्था तथा अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी र नर्सिङ कलेजका मिडवाईफरी शिक्षकहरूको सहभागिता छ । कार्यक्रम संयोजक ढुंगानाले प्रदेश सरकारहरूसंग समन्वय गरी प्रदेश सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र प्रदेश नम्बर ५ मा तालिम सञ्चालन गरिरहेको बताए ।
धनगढीमा शुरु भएको तालिम उद्घाटन सुदूरपश्चिम प्रदेशका सामाजिक विकास मन्त्री दीर्घबहादुर सोडारीले नवजात शिशु तथा मातृ मृत्यु घटाउनका लागि स्वास्थ्यकर्मी नै भगावान रहेको बताए । उनले तालिम प्राप्त र सहयोगी स्वास्थ्यकर्मी भएमा जस्तो सुकै अवस्थामा पनि नवजात शिशु र नव सुत्केरीको ज्यान जोगाउन सक्ने दावी बताएका छन् । “हामी भगवान भन्छौं, तर भगवान भनेका तपाई हामी नै हौं । जसको सहयोगले विरामीको, नवजात शिशुको, व्यथा लागेको महिला, सुत्केरीको ज्यान जोगाउन सक्छ । तपाईहरूले यो काम गर्न सक्नु हुन्छ, भगवान तपाई स्वास्थ्यकर्मीहरू नै हो ।”
उनले सुदूरपश्चिममा नवजात शिशु र मातृ मृत्यु दर अझै धेरै रहेको बताए । उनले यो तालिम प्रत्यक्ष नवजात शिशु र सुत्केरीको स्वास्थ्यसँग सम्बन्ध राख्ने तालिम भएकोले यसले नवजात शिशु र मातृ मृत्यु दर घटाउन सहयोग पुग्ने बताए ।
संघीय सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले तीन कारणले आमा र बच्चाको मृत्यु हुने गरेको बताए । उनले स्वास्थ्य संस्थामा आइसकेपछि ब्याथा लागिरहको तर पालो आएको छैन भनेर स्वास्थ्यकर्मीले केयर नगर्दा, बच्लालाई जन्म दिन नसकेर र बच्चालाई जन्म दिने क्रममा अत्यधिक रक्तश्राव र बच्चाले एक मिनेटभित्रै श्वासप्रश्वास गर्न नसकेको कारण मृत्यु हुने गरेको बताए । “वर्षमा जति बच्चाको मृत्यु हुन्छ, त्यसको दुई तिहाई पहिलो महिनामै मृत्यु हुन्छ, जति बच्चाको पहिलो महिनामा मृत्यु हुन्छ, त्यको दुई तिहाई पहिलो हप्तामा मृत्यु हुन्छ, जति बच्चाको पहिलो हप्तामा मृत्यु हुन्छ, त्यसको दुई तिहाई पहिलो दिनमा मृत्यु हुन्छ, जति बच्चाको पहिलो दिनमा मृत्यु हुन्छ, त्यसको दुई तिहाई पहिलो घण्टामा मृत्यु भएको हुन्छ ।” सचिव प्याकुरेलले भने, “त्यही भएर यो तालीममा पहिलो मिनेट, पहिलो दिन, पहिलो हप्ता र पहिलो महिनामा गर्नुपर्ने केयरको बारेमा सिकाइने छ ।”
स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवका सल्लाहकार डा. केके राई, स्वास्थ्य सेवा विभागका निर्देशक गुणराज लोहनी, सामाजिक विकास मन्त्रालयका सचिव इञ्जिनियर गोगन हमाल लगायतले उद्घाटन कार्यक्रममा मन्तव्य व्यक्त गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार