१४ बैशाख २०८१, शुक्रबार

नयाँ बजेटबारे को के भन्छन् ?



धनगढी । संघीय सरकारका तर्फबाट अर्थमन्त्री डाक्टर युवराज खतिवडाले मंगलबार प्रस्तुत गरेको बजेटप्रति राजनीतिकर्मी र आर्थिक क्षेत्रका व्यक्तिहरूले मिश्रित प्रतिक्रिया दिएका छन् ।
प्रस्तुत छ, बजेटप्रतिको विभिन्न व्यक्तिको टिप्पणी

प्रदेशहरूलाई समेट्न खोजिएको छ

त्रिलोचन भट्ट
मुख्यमन्त्री, प्रदेश नम्बर ७

समग्रमा बजेट राम्रो जस्तो देखिएको छ । प्रदेशहरूलाई धेरै ठाउँमा समेट्न खोज्नु सकारात्मक कुरा हो । बजेटले प्रदेश सरकारले उठाएका कुरा समेट्न खोजेको छ । हामी चुनाव लड्दाको समयमा व्यक्त प्रतिवद्धता पुरा गर्न खोजेको जस्तो मैले ठानेको छु । तर पनि संघीयता नयाँ छ । मुख्य रुपमा संघीयता स्थापित गर्न बजेट कसरी आएको छ ? विस्तृतरुपमा अध्ययन गरेर मात्रै प्रतिक्रिया दिनु उपयुक्त हुने ठानेको छु ।

 

 

 

 

समाजवादको आधारस्तम्भ

झपटबहादुर बोहरा
आर्थिक मामिला तथा योजनामन्त्री, प्रदेश ७

संघीयता कार्यान्वयनका लागि नेपाल कम्यूनिष्ट पार्टीको सरकारले ल्याएको पहिलो बजेट समाजवाद उन्मुख छ । यो बजेट समाजवादको यात्रा लागि आधारस्तम्भ बन्ने छ । आठ प्रतिशतले आर्थिक वृद्धिदर गर्ने र महंगी पाँच प्रतिशतमा झार्ने लक्ष्य निक्कै उत्साहजनक छ । सात नम्बर प्रदेश अर्थात् साविकको सुदूरपश्चिमको सवालमा पनि यो बजेट समानुपातिक ढंगले आएको छ । खुटिया–विपीनगरमा सुरुङ मार्ग बनाउने, खक्रौला–चैनपुर–ताक्लाकोट सडक, पश्चिम सेती आन्तरिक रुपमा बनाउने, धनगढी विमानस्थललाई क्षेत्रीयरुपमा लैजाने र छिमेकी देशसंग हवाई यातायात जोड्ने योजना बजेटमा छ । कर्णाली नदीमा जलमार्ग बनाउने योजना पनि नयाँ छ । रानी जमरा कुलरियालाई निरन्तरता दिने योजना राम्रो छ । हो करका दायरा बढेका छन् । त्यो देशको विकास र संघीयता कार्यान्वयनका लागि जरुरी छ ।

यथर्थापरक र व्यवहारिक छैन

रणबहादुर रावल
संसदीय दलका नेता, नेपाली काँग्रेस

बजेटमा कतिपय कुरा सकारात्मक छन । तर पनि चार अर्ब रुपैयाको घाटा बजेट र आठ अर्ब राजश्व उठाउने अनुमानले आर्थिक बृद्धिदर आठ प्रतिशत पुर्‍याउन कठिन छ । अर्थविद अर्थमन्त्रीले मैले सोचे जस्तो बजेट ल्याउन सक्नु भएन । यो बजेटमा रोजगारीका कुरा गरिए पनि धेरै महत्वकांक्षी छ । यो बजेट विभिन्न कारणले त्यति धेरै यथार्थपरक र व्यवहारिक हुन सकेको छैन । प्रधानमन्त्री कोषमा धेरै रकम राखिएको छ । कर्मचारीलाई खुसी बनाउने प्रयत्न गर्न खोजिएको छ ।

 

 

 

समृद्धि उन्मुख छ

दिनेशराज भण्डारी
पूर्व अध्यक्ष कैलाली उद्योग वाणिज्य संघ

यो बजेट समृद्धि उन्मुख छ । युवा रोजगारी र लघु उद्यममा जोड दिनु सकारात्मक छ । यो बजेटले रोजगारी बढाउन खोजेको छ । विदेशबाट सीप सिकेर फर्किनेलाई न्यून व्याजदरमा १० लाख रुपैया ऋण दिने र युवाहरुलाई शैक्षिक प्रमाणपत्रको आधारमा सात लाख रुपैया ऋण दिने कुरा पनि राम्रो छ । एक सय पर्यटनका गन्तव्य थप्ने कुरा राम्रो छ । सात नम्बर प्रदेश पनि धेरै राम्रोसंग बजेटको प्राथमिकतामा परेको छ । प्रत्येक क्षेत्रमा एक अन्तर्राष्ट्रिय नाकाको अवधारणा पनि राम्रो लाग्यो । भ्रष्टाचारमा सून्य सहनशिलता ठिक छ, तर कडा कानून बनाएर अघि बढ्नु पर्छ ।

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार