१४ बैशाख २०८१, शुक्रबार

वित्तीय कर्मचारी संस्थाको महाधिवेशन आज



धनगढी । नेपाल वित्तीय संस्था कर्मचारी संघ, राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको नवौं केन्द्रीय महाधिवेशन आज (शनिबार) बाट धनगढीमा हुने भएको छ ।
शुक्रबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा संघका अध्यक्ष जीतेन्द्रसिंह थापाले महाधिवेशनको नेपाली काँग्रेसका केन्द्रीय सदस्य एनपी सावदले उद्घाटन गर्ने जानकारी दिए ।
महाधिवेशनको पुर्व सन्ध्यामा बिहान ७ बजे बैंकको प्रांगणदेखि ओमप्यालेससम्म सुदूरपश्चिमको संस्कृति झल्काउने सांस्कृतिक कार्यक्रमसहित प्रभातफेरीको आयोजना गरिने उनले बताए ।
‘१० वर्षे जनयुद्धको अवधिमा राष्ट्रिय वाणिज्य बैंकका धेरै शाखा विस्थापित भए’ अध्यक्ष थापाले भने– ‘समयकालखण्ड अनुसार आवश्यकता बोध भएका स्थानमा बैंकको शाखा विस्तार गर्नुपर्छ ।’ उनले असार मसान्तभित्र बैंकले १५ देखि २० वटा शाखा स्थापना गर्ने तयारी गरिरहेको बताए ।
अहिले बैंकका एक सय ३० वटा एटिएम सेवा रहेको र असार मसान्तभित्र एक सय २० वटा स्थानमा एटिएम सेवा विस्तार गरी दुई सय ५० वटा पुर्‍याउन तयारी भइरहेको बताए ।
अध्यक्ष थापाले बैंकमा ७/८ प्रतिशत जति कर्मचारी स्थापना कालदेखि भएकाले पूर्ण प्रविधिमैत्री बन्न नसकेको बताउँदै ‘अबको एक वर्षभित्र वाणिज्य बैंक प्रविधिमैत्री कर्मचारी र युवामैत्री बन्ने छ ।’ उनले विगतमा पुरा कागजी कामकारबाही हुने भए पनि अहिले बैंकको ४० प्रतिशत विद्युतीय मेसिनबाट हुने गरेको जानकारी दिए । बैंकले अब कागजरहित सेवा प्रवाह गर्ने सोच अघि बढाएको बताए ।
देश संघिय संरचनामा गइसकेकाले बैंकहरू पनि सबै स्थानीय तहमा पुग्नुपर्ने राष्ट्र बैंकको निर्णयअनुसार वाणिज्य बैंकले ५१ वटा शाखा विस्तार गर्नुपर्ने अवस्था रहेको उनले बताए ।
आजदेखि दुई दिनसम्म हुने महाधिवेशनले नयाँ कार्यसमिति चयन गर्ने छ । संघले सर्वसम्मत तरिकाले नयाँ कार्य समिति चयन गर्ने अपेक्षा लिएको छ । पुर्वको मेचीदेखि पश्चिमको महाकालीसम्मका तीन सय महाधिवेशन प्रनिधिनि, दुई सय पर्यवेक्षकहरू अन्य पाहुनाहरू समेत गरी करिब छ सय जनाको सहभागिता महाधिवेशनमा रहने आयोजकले जनाएको छ । विक्रमसंवत २०५२ सालमा संघको प्रथम केन्द्रीय परिषद धनगढीमै गरिएको भए पनि महाधिवेशन पहिलो पटक हुन लागेको हो ।
महाधिवेशनको मुल आयोजक केन्द्रीय समिति भए पनि धनगढी क्षेत्रका पुर्व क्षेत्रीय अध्यक्ष मानबहादुर मल्लको संयोजकत्वमा स्थानीय आयोजक समिति बनाइएको छ । महाधिवेशनको सम्पूर्ण तयारी पुरा भइसकेको आयोजक समितिले जानकारी दिएको छ ।

पुस ०१ गते (epaper)

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार