८ पुष २०८१, सोमबार

आयल निगमसंग पाँच दिनको मात्रै भण्डार क्षमता




धनगढी / धनगढीस्थित नेपाल आयल निगमसंग बढीमा पाँच दिनसम्ममात्रै पेट्रोलियम पदार्थ भण्डारणको क्षमता रहेको छ ।

धनगढीस्थित आयल निगमको प्रादेशिक कार्यालयसंग पेट्रोलियम भण्डारण गृहका लागि डेढ बिघा मात्रै जग्गा भएकोले बढी दिनसम्म भण्डारण गर्ने क्षमताको भण्डार गृह बनाउन नसकेको बताइएको छ ।

आयल निगमको धनगढी प्रादेशिक कार्यालय प्रमुख रामकुमार न्यौपानेले जग्गा पर्याप्त नभएकाले ९० दिनसम्म भण्डार गर्नसक्ने क्षमताको गृह बनाउन कठिनाई भएको बताए ।

उपभोक्ता हकहित संरक्षण मञ्चका केन्द्रीय उपाध्यक्ष धनपति ढुंगेलले नाकाबन्दी, प्राकृतिक विपत्ति लगायतका वेला तथा बढ्दो जनसंख्यालाई ध्यानमा राखेर पेट्रोलियम पदार्थको भण्डारण क्षमता बढाउनु पर्ने बताए ।

प्रादेशिक कार्यालय प्रमुख न्यौपानेका अनुसार कैलालीको गोदावरी नगरपालिका, खुटिया नदी नजिक एक सामुदायिक वनमा १२ बिघा जग्गामा आयल डिपो निर्माणको सोच भइरहेको छ । तर, सो जग्गा प्राप्तीमा समस्या रहेको छ । प्रमुख न्यौपानेले पर्याप्त जग्गाको प्रबन्ध भएमा तीन महिनासम्म भण्डारण क्षमताको गृह बनाउन सकिने बताए ।

उनका अनुसार संघीय उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रालय र वन तथा वातावरण मन्त्रालयबाट जग्गा प्राप्तीबारे काम हुनसकेको छैन ।

आयल निगमको धनगढी भण्डार गृहमा हाल ६३ हजार लिटर हवाइ इन्धन, १६ लाख ३५ हजार लिटर डिजल, आठ लाख ३० हजार लिटर पेट्रोल तथा ७७ हजार लिटर मट्टितेल भण्डारण गर्ने क्षमता रहेको छ । हाल सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा रहेका ८७ पेट्रोल पम्पबाट पेट्रोलियम पदार्थ बिक्री वितरण हुँदै आएको छ । तीमध्ये कैलालीमा ५३ वटा पेट्रोल पम्प रहेका छन् ।

धनगढीमा सँधै पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकर राख्ने ठाउँबारे सधैं विवाद हुँदै आएकोमा अहिले समाधान भएको छ ।
आयल निगमको प्रादेशिक कार्यालय अगाडि सडकमा ट्यांकरहरु राख्दा जोखिम हुने गरेको तथा अरु सवारी साधनलाई आवतजावत गर्न गाह्रो हुने गरेको थियो । अहिले नेपाल खाद्य व्यापार कम्पनी लिमिटेडको भन्सार रोडमा रहेको जमिनमा आयल निगमका ट्यांकर राख्ने व्यवस्था मिलाएको छ ।

सुदूरपश्चिम प्रदेशमा ८० वटा ट्यांकर सञ्चालनमा छन् । आयल निगमका प्रादेशिक कार्यालय प्रमुख न्यौपानेकाअनुसार ट्यांकरबाट आगलागी जस्ता जोखिम बढी हुने भएकोले ट्यांकरको अवस्थाबारे अनुगमन गर्ने र आवश्यक मर्मत सम्भारको व्यवस्था मिलाइएको छ । अहिले निगमको पेट्रोलियम पदार्थ भण्डारण गर्ने ठाउँमा आगलागी नियन्त्रण गर्ने उपकरण पनि राखिएको छ ।

उनले अझैं पनि फायर डिक्टेटर, स्मोक डिक्टेटरको पनि आवश्यक्ता रहेको बताए । उनले आगो निभाउन प्रभावकारी मानिने फम सहितको दमकलका लागि केन्द्रीय कार्यालयसँग माग गरिएको बताए । आयल निगमसंग अहिले सात जनाको फायर फाइटिङ टोली र फम सहितको वाटर हाइड्रेड रहेको छ ।

नेपाल आयल निगमको प्रादेशिक कार्यालय धनगढीका अनुसार गत वर्षको तुलनामा पेट्रोलियम पदार्थको विक्री घटेको छ । निगमका प्रादेशिक प्रमुख न्यौपानेले गत वर्षको तुलनामा पेट्रोलको विक्री १५ प्रतिशतले र डिजलको बिक्री ४३ प्रतिशतले घटेको जानकारी दिए ।

उनले आर्थिक मन्दीले भौतिक पूर्वाधार निर्माणमा कमी आएका कारण पेट्रोलियम पद्धार्थको विक्री कम भएको बताए ।
पेट्रोलियम पदार्थको विक्रेता डिलरहरुले भने विगतमा भारतमा पेट्रोलियम पदार्थको मूल्य कम रहेकोले खुला सिमानाको फाइदा उठाएर नेपालबाट पेट्रोलियम पदार्थ लुकिछिपी भारततर्फ लैजाने गरिएको बताए । पछिल्ला दिनहरुमा नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य अधिक रहेको छ ।

अघिल्लो वर्ष नेपालको तुलनामा भारतमा पेट्रोलियम पदार्थको मूल्य २५ रुपैयाँ बढी रहेको थियो । हाल नेपालमा भारतको तुलनामा प्रतिलिटर १५ रुपैयाँ बढी मूल्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार