धनगढीको स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको नीति तथा कार्यक्रमको विषयमा छलफल
धनगढी । धनगढी उपमहानगरपालिकाको स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको नीति तथा कार्यक्रमको विषयमा छलफल गरिएको छ ।
धनगढी उपमहानगरपालिकाले सो क्षेत्र सम्बन्धित बनाएका ऐन, नीति, नियम र कार्यक्रमको विषयमा शुक्रबार धनगढीमा छलफल गरिएको हो । गैरसरकारी संस्था महासंघ सुदूरपश्चिम र एफएमडिसिको सहकार्यमा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य, शिक्षा र कृषि शाखाका कर्मचारी र सरोकारवालाबीच छलफल गरिएको थियो ।
छलफलको क्रममा धनगढी उपमहानगरपालिकाका स्वास्थ्य शाखा प्रमुख कृष्ण बोहराले उपमहानगरपालिकाले कोरोनालाई नै फोकस गरेर यसवर्षको कार्यक्रम बनाएको बताए । उनले कोरोनाविरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न लागिपरेको बताए । उनले १९ वडा मध्ये १६ वडामा स्वास्थ्य केन्द्र स्थापना भइसकेको बताउँदै उनले १९ वटै वडामा पु¥याउने लक्ष्य रहेको बताए ।
शिक्षा शाखाका सुर्यबहादुर कार्कीले अनलाईन मार्फत कक्षा सञ्चालन गरिरहेको बताए । उनले सोका लागि सामुदायिक विद्यालयहरुलाई प्रति विद्यार्थी तीन सय रुपैयाँका दरले अनुदान समेत दिइएको बताए । उनले केही विद्यालयहरुमा २५ जनासम्म विद्यार्थी उपस्थित गराएर पनि कक्षा सञ्चालन गरिरहेको बताए ।
कृषि शाखाका सारसिंह धामीले कृषि क्षेत्रमा विभिन्न अनुदानहरु दिने, विउ वितरण गर्ने, साना सिचाई अनुदानमा दिने जस्ता कामहरु गरिरहेको बताए । उनले समूह बनाएर आएमा त्यसका लागि पनि छुट्टै अनुदानको व्यवस्था रहेको बताए ।
धनगढी उपमहानगरपालिकाका कार्यपालिका सदस्य प्रेम विकले बजार क्षेत्रका वडाहरुलाई शहरी क्षेत्र र ग्रामीण वडाहरुलाई कृषि क्षेत्रको रुपमा विकास गर्ने नीति लिएको बताए । छलफलमा सहभागी सरोकारवालाहरुले धनगढीको स्वास्थ्य, शिक्षा र कृषि क्षेत्रको विकासका लागि उपमहानगरपालिकाले बनाएको ऐन, नीति, नियमहरुको विषयमा प्यानलिष्टहरुलाई प्रश्न गरेका थिए ।





