७ पुष २०८१, आईतवार

कालापानी नजिक सशस्त्र प्रहरी पोष्ट स्थापना



धनगढी । दार्चुलाको व्यास गाउँपालिकाको कालापानी क्षेत्र नजिकै सशस्त्र प्रहरीको बोर्डर आउट पोष्ट (बीओपी) स्थापना भएको छ । पहिलो चरणमा दार्चुलाको खलंगाबाट २५ जना सशस्त्र प्रहरी र नौ जना नेपाल प्रहरीसहित बुधबार छाङरुमा विओपी स्थापना गरिएको छ ।

नेपाली सेनाको हेलिकोप्टरमार्फत छाङ्रु बीओपीमा जनशक्ति र बन्दोवस्ती सामान पुर्याइदै । तस्वीरः लोकेन्द्र जोशी/दार्चुला

गत मंसिरमा नेपाल सरकारले बिओपी राख्ने निर्णय गरेको थियो । भारतले नेपाली भूमि कालापानी र लिपुलेक हुँदै चीनसँग सीमा जोड्ने गरी सडक निर्माण गरेपछि सरकारले अहिले व्यासको छाङरुमा सशस्त्र प्रहरीको बीओपी राखेको छ । छाङरुमा सशस्त्र प्रहरी निरीक्षकको नेतृत्वमा २५ जनाको टोली खटाइएको छ । सीतापुरमा रहेको प्रहरी नायव निरीक्षक नेतृत्वको नेपाल प्रहरीको टोली पनि छाङरूमा लगिएको छ ।

छाङरू भारतले अतिक्रमण गरेको नेपाली भूमि लिपुलेकभन्दा करिब १३ किलोमिटर वर पर्दछ । बन्दोबस्ती, खाद्यान्न र हातहतियारसहित सशस्त्र प्रहरी तथा नेपाल प्रहरी टोलीलाई नेपाली सेनाको हेलिकोप्टरबाट छाङरू पु¥याइएको छ । बीओपी स्थापनाका लागि बुधबार बिहान गृहमन्त्रीका सुरक्षा सल्लाहकार इन्द्रजित राई, सशस्त्र प्रहरीका एआईजी नारायणबाबु थापा सहितको टोली नेपाली सेनाको हेलिकोप्टरबाट काठमाडौंबाट दार्चुला पुगेको थियो ।

छाङरूसम्म पुग्ने सडक मार्ग नभएकाले नेपाली सेनाको हेलिकोप्टरबाट सशस्त्र प्रहरीको टोली पु¥याइएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले जानकारी दिए । प्रजिअ पौडेलले सशस्त्र प्रहरीको टोली राख्न छाङरूमा एउटा घर भाडामा लिइएको बताए । उनले भने– छाङरूमा बीओपी राख्न जग्गा लगायतको निर्णय पहिले नै क्याबिनेटबाट भएको थियो, तर लकडाउनका कारण घर बनाउन सकिएन । घर नबनुन्जेलसम्मका लागि एउटा घर भाडामा लिएर काम चलाइएको छ ।

हाल सीतापुरमा रहेको प्रहरी टोलीलाई छाङरूमा स्थानान्तरण गर्न लागिएको छ । जाडोको बेला हिउँ परेर बस्न नसकिने भएकाले नेपाल प्रहरीको टोली छाङरूभन्दा तल सीतापुरमा बस्दै आएको छ । अहिले हिउँ पग्लिएर बस्न केही सहज भएकाले सो टोलीलाई फेरि छाङरूमा स्थानान्तरण गरिएको प्रजिअ पौडेलले बताए ।

ब्यास गाउँपालिका वडा नम्बर १ छाङरुमा बाह्रै महिना बस्नेगरी बीओपी स्थापना गरिएको छ । बीओपीमा सशस्त्र प्रहरी निरीक्षक मिलिबहादुर चन्दको नेतृत्वमा २५ जना सशस्त्र प्रहरी, छ महिनाका लागि पुग्ने खाद्यान्न, मेडिकल सामग्री, हातहतियार र बन्दोबस्तीका आवश्यक सामान दार्चुला सदरमुकाम खलंगाबाट हेलिकोप्टरमार्फत छाङरु पु¥याइएको छ ।

स्थानीयले छाङरुमा कित्ता नम्बर ३५ को ११५ रोपनी तीन आना जग्गामध्ये १५ रोपनी जमिन सशस्त्र प्रहरीको बीओपी स्थापनाका लागि एक वर्ष पहिले नै दिइसकेका छन् । नेपाल सरकारले बीओपी स्थापनाका लागि ११ करोड रुपैया बजेट विनियोजन गरेको जनाइएको छ । विओपीका लागि छाङरुमा आवश्यक भौतिक पुर्वाधार निर्माण भइनसकेकोले केहि समयका लागि छाङरुबाट एक किलोमिटर वर गागामा घर भाडामा लिएर विओपी राखिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए ।

जेठ पहिलो साताभित्रै विओपीका लागि पूर्वाधार निर्माण गर्न टेण्डर आह्वान गरिने सशस्त्र प्रहरी नम्बर ५० गुल्म हेडक्वार्टर दार्चुलाका डिएसपी डम्बरबहादुर बिष्टले बताए । भारतले नेपाली भूमि कालापानी, लिपुलेक हुदै चीनसंग जोड्ने गरी ९५ किलोमिटर सडक निर्माण गरेपछि तिकंरसम्म सडक र सीमामा बाह्रै महिना राज्यको सुरक्षा उपस्थिति गराउनुपर्ने स्थानीयको माग छ ।

अहिले सशस्त्र प्रहरी बसेको छाङरु गाउभन्दा कालापानी १३ किलोमिटर र लिपुलेकभन्दा १७ किलोमिटर टाढा रहेकोले सीमा क्षेत्रमा बाह्रैमास निगरानी गर्न कालापानी वा कौवामा नेपाली सेना राख्न स्थानीयले अनुरोध गरेका छन् । कालापानी समुद्री सतहबाट चार हजार दुई सय मिटर उचाईमा छ । भने लिपुलेक र लिम्पीयाधुरा पाँच हजार मिटरको रहेको छ । छाङरु समुद्र सतहबाट तीन हजार छ सय मिटर उचाईंमा रहेकोले त्यहा सुरक्षा पोष्ट राखेर सीमाको सुरक्षा गर्न कठिनाई हुने स्थानीय बताउछन् ।

सशस्त्रसंगै प्रहरी नायव निरीक्षक हर्कसिंह महताको नेतृत्वमा नौ जनाको प्रहरी टोली पनि छाङरु गएको छ । नेपाल प्रहरी वर्षको छ महिना छाङरुमा बस्दै आएको थियो । हिउदमा चिसो बढेपछि प्रहरी दुम्लीङ झरेसंगै बाकी छ महिना सीमा क्षेत्र सुरक्षाकर्मीबिहिन रहने गरेको थियो ।

बैशाख पहिलो साता नेपाल प्रहरी छाङरु–तिकंर जाने भए पनि लकडाउन र सीमा बन्दका कारण जान पाएका थिएनन् । नेपालतर्फ बाटो नहुदा तिकंर चौकीका प्रहरी र स्थानीय अहिलेसम्म फर्किन सकेका छैनन् । छाङरुमा एक सय १० व्यासी परिवारको बसोबास रहेको छ ।

गोरेटो बाटो निमार्ण हुने

व्यासबासीलाई गाउ आवतजावत गर्न समस्या भएपछि सरकारले नेपालतर्फ गोरेटो बाटो निर्माण गर्ने निर्णय गरेको छ । प्राविधिक टोलीले गरेको सर्भेका आधारमा दुम्लीङदेखि छाङरुसम्म बाटो निर्माण गर्न २३ करोड रुपैयाको डिपिआर तयार भएको दार्चुलाको प्रतिनिधिसभा सदस्य गणेशसिह ठगुन्नाले बताए ।

२०६५ सालदेखि निर्माणाधिन खलंगा–तिकंर जोड्ने रणनीतिक महत्वको सडकमा हालसम्म ४० किलोमिटर ट्रयाक मात्रै खुलाइएको छ । १३४ किलोमिटर लामो दार्चुला–तिकंर सडक निर्माण गर्न घाटिबगरभन्दा माथि ८७ किलोमिटर सडक नेपाली सेनामार्फत निर्माण गर्ने र बाकी सडक सडक विभागले निर्माण गर्ने सरकारले निर्णय गरे पनि कार्यान्वयन हुनसकेको छैन ।

प्रतिक्रिया दिनुहोस्
विशेष समाचार